+
+

प्रचण्ड चीन पुग्दा भारतीय दूतावासले प्रचार गर्दै थियो दिल्ली भ्रमणका सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १५:१६

९ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक हप्ता लामो चीन भ्रमण मध्य विन्दुमा पुगेको छ ।

भ्रमणको तेस्रो दिन सोमबार प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा करिब एक दर्जन सम्झौता र समझदारी हस्ताक्षर तथा आदानप्रदान भए । तर प्रधानमन्त्रीको स्तरमा भएका उक्त समझदारी र सम्झौताको सार्वजनिक भने फरक ढंगले भयो ।

सोमबार बेइजिङस्थित ग्रेट अल हफ दि पिपुलमा दुई देशका प्रधानमन्त्रीबीच भएको भेटवार्तासँगै हस्ताक्षर सम्पन्न भएको थियो । त्यसपछि दुवै देशले संयुक्त वक्तव्य जारी गर्नुपर्ने थियो ।

तर बेइजिङस्थित नेपाली राजदूतावासले एउटा विज्ञप्तिमार्फत हस्ताक्षर र आदानप्रदान भएका एक दर्जन सम्झौता र समझदारीको सूची सार्वजनिक गर्‍यो । त्यसमा चीनको तर्फबाट कुनै धारणा सार्वजनिक भएन ।

स्रोतका अनुसार बीआरआईलगायत केही विषयमा दुई देशबीच सहमति जुट्न नसक्दा संयुक्त वक्तव्य जारी गर्न समय लागेको थियो ।

नभन्दै त्यसको भोलिपल्ट मंगलबार बिहानै बेइजिङ र काठमाडौँबाट दुवै देशका परराष्ट्र मन्त्रालयले संयुक्त वक्तव्य पनि जारी गरे । तर यसमा पनि रोचक के छ भने नेपाली दूतावासले जारी गरेको विज्ञप्ति र संयुक्त वक्तव्यमा आएका सम्झौता र समझदारीको सूची धैरै नै भिन्न छ ।

आखिर संयुक्त वक्तव्य जारी गर्नु नै थियो त बेइजिङमा रहेको नेपाली दूतावासले आधा अधुरा सम्झौताको सूची तयार पारेर किन विज्ञप्ति सार्वजनिक ग¥यो ? यसको जवाफ विस्तारै आउने नै छ ।

प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर सिधै चीनको औपचारिक भ्रमण गर्न पुगेका थिए । प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल चीन पुगेकै दिन अर्को छिमेकी मुलुक भारतले गत जेठमा सम्पन्न प्रधानमन्त्रीको भारत भ्रमणमा भएका सम्झौता स्मरण गराइरहेको थियो ।

संवेदनशील भूअवस्थितिमा रहेको नेपालले एउटा छिमेकी मुलुकको भ्रमण गरिरहँदा अर्को छिमेकी मुलुकले आफूसँगका सम्झौता स्मरण गराउनु र भ्रमण भइरहेको मुलुकबाट संयुक्त वक्तव्य जारी गर्न ढिलाइ हुनुले एकअर्को मुलुकसँगको सम्बन्धलाई पनि झल्काउँछ ।

यसै पनि प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको कार्यतालिका सार्वजनिक हुन समय लागेको थियो । प्रधानमन्त्री भएलगत्तै विदेश भ्रमणको तयारी थालेका प्रधानमन्त्री प्रचण्डले पहिले कुन देशको भ्रमण गर्ने भन्ने विषयमा स्पष्ट धारणा बनाइ सकेका थिए । उनी छिमेकी मुलुक भारतको भ्रमणमा जान चाहेकै कारण चीनले बोलाएको बोआओ फोरमको निम्तो समेत अस्वीकार गरेर बसेका थिए ।

त्यसको कारण थियो, उनी भ्रमणमा जान चाहेको भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको समय व्यस्तताको कारण देखाएर मिति घोषणा गर्न आनाकानी गरिरहेको थियो । तर प्रचण्ड पहिले भारत नगइकन चीन जाने मनस्थितिमा नै थिएनन् । जसका कारण गएको जेठमा पहिले भारत भ्रमण सम्पन्न गरेपछि मात्रै प्रचण्ड चीनको औपचारिक भ्रमणमा गएका छन् । त्यो पनि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेर उतैबाट बेइजिङ पुगेका छन् ।

नेपालले दुई मुलुकबीचको कूटनीतिक सम्बन्धलाई सन्तुलनमा राख्न कोशिष गरे पनि पटकपटक चिप्लिने गरेको छ ।

त्यसैले पनि होला प्रचण्ड चीनमा रहँदा नेपालमा रहेको भारतीय राजदूतावासले गत जेठमा भएको भारत भ्रमणमा भएका सम्झौतामा भइरहेको प्रगतीका सूचीहरू सार्वजनिक गरिरहेको थियो । प्रचण्डको बेइजिङ भ्रमणमा दिल्ली सम्झौताले कति फरक प¥यो भन्ने छुट्टे विश्लेषणको पाटो हुनसक्छ, तर आफूसँगका सम्झौता स्मरण गराइरहनुको भने अवश्य पनि महत्वपूर्ण अर्थ छ ।

यस्ता छन् प्रचण्ड चीन पुगेकै दिन भारतले स्मरण गराएका सम्झौताहरू :

–     विकास साझेदारीले लियो थप गति !

–      पारस्परिक लाभका लागि भारत–नेपाल उर्जा सहकार्य !

–      प्रधानमन्त्री प्रचण्डको गत जुनमा भएको भारत भ्रमणका क्रममा अबको दश वर्षमा भारततर्फको विद्युत निर्यात क्षमतालाई १०,००० मेगावाट पुर्याउन प्रयास गर्ने प्रतिबद्धतालाई यथार्थमा बदल्दै

–      भारततर्फ थप १८० मेगावाट विजुली निर्यात स्वीकृत । नेपालले अब भारततर्फ ६३१ मेगावाट उर्जा निर्यात गर्न सक्नेछ

–      उर्जा निर्यातका लागि डे अहेड बजार बाहेक मध्यावधि र रियल टाइम बजार उपलब्ध, उर्जा निर्यातका लागि १३२ केभी टनकपुर–महेन्द्रनगर प्रसारण लाइन थप

–      प्रधानमन्त्री प्रचण्डको गत जुनमा भएको भारत भ्रमणपछि भारत–नेपाल विकास साझेदारीले लियो थप गति

–      कुर्था–बिजलपुरा रेलमार्गको सञ्चालन; जनता–जनताबीचको सम्पर्कलाई सुदृढ बनाउदै

–      नेपाली दाजुभाई तथा दिदिबहिनीको हितका लागि भारत–नेपाल विकास सहकार्य अन्तर्गत भारतीय अनुदानमा निर्मित सामुदायिक विकास परियोजनाको उद्घाटन तथा हस्तान्तरण

–      संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पसका लागि निर्मित क्याम्पस भवन (२०८० भाद्र २० गते)

–      सुदूरपश्चिम प्रदेशमा तीन वटा परियोजनाको निर्माण– टिकापुर बहुमुखी क्याम्पस (कैलाली), श्री पशुपति शिक्षा मन्दिर र श्री सिद्धनाथ माध्यमिक विद्यालय (कञ्चनपुर जिल्ला) (२०८० भाद्र ३१ गते)

–      सन् २००३ यता स्थानीय जनताको हितका लागि नेपालको विभिन्न जिल्लामा ५४६ वटा परियोजना सञ्चालन

–      काठमाडौं जिल्लाको चन्द्रागिरीस्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको विद्यालय भवनको पुनर्निर्माण (२०८० श्रावण ३० गते)

–      दार्चुला, संखुवासभा र उदयपुर जिल्लामा शिक्षा, खानेपानी आपूर्ति तथा सरसफाईको क्षेत्रमा ४ वटा सामुदायिक विकास परियोजना निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर (२०८० श्रावण १९ गते)

–      नेपालका विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स तथा ५० वटा ५० स्कुलबस उपहारस्वरुप प्रदान (२०८० श्रावण ३१ गते) ।

–      हालसम्म ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुलबस उपहारस्वरुप प्रदान

–      हाम्रो साझा सांस्कृतिक सम्पदाको प्रवर्धनका लागि भारत–नेपाल  सहकार्य

–      ललितपुरस्थित नापीचन्द्र महाविहारको भूकम्पपछिको पुनर्निर्माण (२०८० भाद्र १८ गते)

–      बुढानीलकण्ठ नगरपालिकास्थित बुढानीलकण्ठ धर्मशालाको पुनर्निर्माण (२०८० आषाढ २०)

–      भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति तथा सम्पदा केन्द्र, लुम्बिनीको भूमिपूजन समारोह (२०८० श्रावण २१ गते)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?