
९ असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिकाले अनुमति नलिई सञ्चालन भएको भन्दै ९ वटा कलेज बन्द गराएको छ । ती प्रत्येक कलेजलाई १ लाख रुपैयाँका दरले जरिवाना पनि गरेको छ ।
महानगरले संस्थागत विद्यालय नियमन समिति बनाएर गत भदौ १३ गते अनुगमन गर्दा ९ वटा कलेजले आफैं अनुमति नलिएको तर अन्य विद्यालयको अनुमति पत्रका आधारमा कक्षा ११ र १२ को पठनपाठन गराउँदै आएको फेला पारेको थियो ।
त्यतिबेला यस्ता कलेज शिलबन्दी गरेको समितिले महानगरपालिकाको शिक्षा समितिमा कारबाहीको लागि सिफारिस गरेको थियो । महानगर शिक्षा समितिको सोमबार बसेको बैठकले ९ कलेजलाई सञ्चालनमा रोक र जरिवानाको निर्णय गरेको महानगर शिक्षा महाशाखाका अधिकृत आनन्द लामिछानेले जानकारी दिए ।
बन्द गराएका कलेजहरुमा वीरगञ्ज स्कुल अफ ल, युनिभर्सल कलेज, इम्पेरियल कलेज, अन्नपूर्ण पब्लिक कलेज, प्रिन्सटन कलेज, सत्यम पब्लिक कलेज, पर्सा म्यानेजमेन्ट कलेज, नेशनल कलेज रहेका छन् ।
यस्तै ती कलेजलाई अनुमति पत्र दिने ९ वटा विद्यालयलाई पनि महानगरपालिकाले ५० हजार रुपैयाँका दरले जरिवाना तिराएको छ ।
पिस जोन एकेडेमी, ओसिस मावि, ग्रिनल्याण्ड मावि, गोल्डेन बाटिका स्कुल, ज्ञान निकेतन मावि, न्यू वेभ एकेडेमी, एन्जल इन्टरनेशनल बोर्डिङ स्कुल, मुनलाइट इङ्लिस बोर्डिङ स्कुल र वीरगञ्ज सेन्ट्रल स्कुलले कक्षा ११ र १२ को सञ्चालनको पनि अनुमति पत्र लिएका थिए । तर आफूले कक्षा १० सम्म मात्र सञ्चालन गरेर ११ र १२ सञ्चालनको अनुमति अन्य कलेजलाई दिएका थिए ।
महानगरपालिकाले कलेज सञ्चालनका लागि पुनः अनुमति प्रक्रिया पूरा गरेर आउन भनेको छ । बन्द गराएका कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई कक्षा ११ र १२ को अनुमति लिने विद्यालयले नै पठनपाठनको व्यवस्थापन गर्नुपर्ने महानगरपालिकाको शिक्षा समितिले जनाएको छ ।
महानगरले युनिभर्सल कलेजलाई अनुमति लिएको भन्दा फरक ठाउँबाट सञ्चालन गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना गरेको छ । यस्तै बैठकले अनुमति नलिएका शैक्षिक संस्थालाई भवन/कोठा भाडामा दिने घर धनीलाई घर बहाल कर तिर्न लगाउने र अबदेखि अनुमति नलिएका शैक्षिक संस्थालाई घरभाडामा नदिन सचेत गराउने निर्णय गरेको छ ।
प्रतिक्रिया 4