
९ असोज, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर धितो कर्जाको १२ करोडको सीमा हटाउनुपर्ने बताएका छन् ।
मंगलबार नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले १२ करोडको सीमा हटाउँदै जोखिम भार पनि १०० प्रतिशत कायम गर्नुपर्ने बताए ।
उनले अहिलेको सेयर बजारमा सेयर धितो कर्जामा जोखिम नभएको भन्दै जोखिम भार पनि घटाउनुपर्ने बताए । उनले कुल कर्जाको १० प्रतिशतसम्म सेयर बजारमा लगानी गर्न पाउनुपर्ने बताए ।
‘सरकारका सबै निकायहरुले ‘आउट अफ द बक्स’ भनेर सोच्नुपर्छ,’ उनले भने, ‘अरु देशले के गरेका थिए भनेर नेपालमा त्यही लागु नहुन पनि सक्छ । भारतमा लगानी भएको कर्जाले रोजगारी बढेको छ । तर, नेपालमा हरेक वर्ष भारतको भन्दा बढी कर्जा लगानी भएको हुँदा पनि रोजगारी बढेको छ ? त्यो लगानी कहाँ गएको छ ?’
उनले अर्थतन्त्रमा इन्डिकेटर हेरर मात्रै समस्या समाधान हुने अवस्थामा नरहेको बताए ।
‘नेपालको समस्या कागजी तथ्यांक हेरेर मात्रै समाधान हुँदैनन् । नेपालमा नै अनुसन्धान गरेर समाधान गर्नुपर्छ,’ पाण्डेले भने, ‘हाम्रो अर्थमन्त्रीले गभर्नरले माने मैले सुधार गरिदिन्छु भनिरहनुभएको छ । समग्र अर्थतन्त्रको जिम्मेवारी लिने अर्थमन्त्री र प्रधानमन्त्रीले होइन ? गभर्नरले मानिदिए म गर्छु भन्ने कुनै तरिका हो ?’
अर्थमन्त्रीलाई लक्षित गर्दै यसरी जाउँ भनेपछि कसले आपत्ति गर्ला ? भन्दै उनले प्रश्न गरे ।
‘आज गभर्नरले गरे सबैकुरा सुधार होला ? मत त्यस्तो देख्दिन,’ उनले भने, ‘निर्माण क्षेत्रको पैसा तिर्ने गभर्नरले हो कि सरकारले, पूँजीगत खर्च बढाउने कसले, सरकारले होइन ? १०/१५ प्रतिशत काम गभर्नरको होला बाँकी ८०/८५ प्रतिशतमा सरकारको रोल हुन्छ । सबै कुरा लगेर गभर्नरमा मात्र समस्या छ भनेर हुन्छ ?’
प्रतिक्रिया 4