+
+

ओलीले ढुंगेललाई साथ दिएपछि बागमती अधिवेशन मतदान उन्मुख

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १६:२७

१० असोज, काठमाडौं । दुई दिनमा सक्नेगरी ९ असोजमा सुरु भएको नेकपा एमालेको बागमती प्रदेश अधिवेशन लम्बिदै गएको छ । अधिवेशनको तेस्रो दिन पनि निर्धारित तालिका अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्न सकेको छैन ।

पहिलो दिन उद्घाटन र दोस्रो दिन राजनीतिक तथा सांगठानिक प्रतिवेदनमाथि छलफल भएको अधिवेशनको तेस्रो दिन बिहानैबाट नेतृत्व चयन प्रक्रिया सुरु गर्ने संशोधित तालिका तय भएको थियो । संशोधित तालिका अनुसार, बिहान साढे ९ बजे मनोनयन दर्ता हुनुपर्ने थियो ।

तर सर्वसम्मत नेतृत्व चयन गर्न भनेर निर्वाचन समितिले निर्धारित तालिका अनुसार अधिवेशनको प्रक्रिया अगाडि बढाएको छैन । ‘नेतृत्वमा सकेसम्म सर्वसम्मत गर्ने प्रयास गरिरहेका छौं, यदि हुँदै भएन भने लोकतान्त्रिक प्रक्रिया अगाडि बढ्छ’, अध्यक्ष मण्डलका सदस्य अरुण नेपाल भन्छन् ।

सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष मण्डलका अध्यक्ष रहेका गुरु बराल आफैं लागेका छन् । उनले बुधबार बिहान अध्यक्षका आकांक्षीहरुसँग छलफल गरेका थिए । उक्त छलफलमा प्रदेश अध्यक्षका आकांक्षीहरु कृष्णप्रसाद दाहाल, कैलाश ढुंगेल, केशवराज पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकी सहभागी थिए । तर छलफलमा कसैले पनि अडान छाडेनन् ।

आकांक्षी नेताहरु अडानमै रहेपछि मतदानको प्रक्रिया अगाडि बढाइएको छ । तर मतदानकै प्रक्रियामा पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास हुने नेताहरुले बताएका छन् । सर्वसम्मत गर्नकै लागि मतदानको समय भोलि, बिहीबार दिउँसो ११ बजे तोकिएको छ ।

‘मतदानको प्रक्रिया अगाडि बढिरहन्छ, तर सर्वसम्मत नेतृत्व चयन गर्न अनौपचारिक सम्वाद पनि सँगसँगै अगाडि बढाउँछौं’, अध्यक्ष मण्डलमा रहेका एक नेताले भने । उनका अनुसार, अध्यक्षका आकांक्षीहरुबीच एकपटक छलफल भएपनि अनौपचारिक सम्वाद निरन्तर भइरहेको छ ।

तर निरन्तरको छलफलले पनि सर्वसम्मत नेतृत्व टुंगिने सम्भावना नदेखिएको ती नेता बताउँछन् ।

ओलीको समर्थन ढुंगेललाई

अधिवेशनको तेस्रो दिनसम्म आइपुग्दा अध्यक्षका आकांक्षी संख्या पाँच जनामा झरेपनि मुख्य प्रतिस्पर्धा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच हुने देखिएको छ । यी दुईमध्ये अध्यक्ष केपी शर्मा ओलीले ढुंगेलको नाममा सर्वसम्मत गर्न संकेत दिएको नेताहरु बताउँछन् ।

ओलीको संकेत अनुसार प्रदेश इन्चार्ज बरालले नेताहरुसँग छलफल गरिरहेका छन् । तर त्यही संकेत पाएपछि सर्वसम्मतिको छलफल सार्थक हुन नसकेको दाहाल पक्षका एक नेता भन्छन् ।

‘सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने भनेपछि आकांक्षीहरु मध्ये जसले जसलाई पनि छोड्न सक्ने अवस्था बन्नुपर्छ । तर पहिले नै कैलाश ढुंगेलको नाममा सर्वसम्मति गरौं भनेर बोलाइएको छलफलले निष्कर्ष निकाल्ने कुरै हुँदैन नि’, ती नेता भन्छन् ।

ओलीको उम्मेदवार ढुंगेल भन्ने सन्देश भने अधिवेशन हुनु अगाडिबाटै नेताहरुसम्म पुगिसकेको थियो । अधिवेशनको बन्दसत्रका क्रममा पनि त्यस्तै संकेतसहित छलफल बोलाइएपछि परिस्थिति मतदानतर्फ गएको उनी बताउँछन् ।

प्रदेश इन्चार्ज बरालले बोलाएको छलफलमा पनि कृष्ण दाहालले नेतृत्व चयनको अधिकार कार्यकर्तामा रहेको तर्क गरेका थिए । ‘यहाँसम्म आइसक्यौ, अब प्रतिनिधिहरुको निर्णयमा विश्वास गर्नुको विकल्प छैन’, दाहाल निकट ती नेता भन्छन् ।

ढुंगेलतर्फका एक नेता पनि अध्यक्ष ओलीको साथ आफूहरुलाई रहेको स्वीर्काछन् । ‘पार्टी नेतृत्वको विवेक र कार्यकर्ताको भावनाबाट पार्टी बलियो बनाउनु अहिलेको आवश्यकता हो । त्यसैअनुसार जानुपर्छ’, ती नेता भन्छन् । उनी पनि अधिवेशन मतदानतर्फ जाने सम्भावना बढी रहेको बताउँछन् ।

दुवैतर्फले चुनावबाट नेतृत्वमा पुग्ने तयारी अगाडि बढाइसकेका छन् । अध्यक्ष ओलीले प्यानल बनाएर खारेज गर्ने चेतावनी दिएपनि दुवै पक्षबाट प्यानल बनिसकेको छ ।

ढुंगेल अध्यक्ष रहने प्यानलबाट उपाध्यक्षमा दावा तामाङ, सचिवमा हस्त पण्डित र उपसचिवमा रमेश आचार्यलाई उम्मेदवार बनाउने तयारी भएको छ । अर्का महिला उपसचिव टुंगिन बाँकी रहेको बताइएको छ ।

दाहालको प्यानलबाट पनि पदाधिकारी लगभग टुंगिएको छ । यो प्यानलबाट उपाध्यक्षमा भूमि त्रिपाठी र सचिवमा सुवास कर्माचार्य वा नवराज सिलवालले उम्मेदवारी दिने तयारी छ । उपसचिव भने टुंगिन बाँकी छ । दुवै समूहबाट व्यक्तिगत रुपमा उम्मेदवारी दर्ता गर्ने र समूहगत समर्थनको तयारी छ ।

पाँच पदाधिकारीसहित २४० सदस्यीय प्रदेश कमिटी चयन हुने यो अधिवेशनमा एक हजार १७४ मतदाता (प्रतिनिधि) सहभागी हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?