
१० असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले स्थानीय सरकार प्रतिपक्ष विहीन हुँदा समस्या भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्थानीय सरकारलाई नियन्त्रण गर्ने सम्बन्धमा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने सांसद गैतमको प्रस्ताव छ ।
‘हामीले कल्पना गरेको भन्दा बाहिरको परिस्थिति मैले स्थानीयस्तरमा देखेको छु । स्थानीय सरकारलाई जवाफदेही बनाउन आवश्यक छ’ सांसद गौतमले बुधबार सार्वजनिक लेखा समितिको बैठकमा भने ।
सार्वजनिक लेखा समितिको बैठकमा आगामी दिनका छलफल के कस्ता विषयमा हुन सक्छन् भन्ने विषयमा गरेको छलफलमा भाग लिँदै सांसद गौतमले स्थानीय सरकारका सम्बन्धमा छलफल गर्नुपर्ने बताएका हुन् ।
‘त्यो स्थानीय सरकार लगाम नभएको घोडा जस्तो भयो । कसले त्यसको नियन्त्रण गर्ने हो ? प्रदेशले गर्ने हो कि, संघले गर्ने हो कि ! उसको जवाफदेहिता कहाँ हुने ?’ सांसद गौतमको प्रश्न छ ।
स्थानीय सरकारमा प्रतिपक्ष नहुँदा पनि समस्या भएको उनलाई लाग्छ ।
‘एकातिर त्यसलाई हामीले सरकार भन्यौं त्यो सरकारमा प्रतिपक्ष छैन, ऊ स्वेच्छाचारी छ । अर्कोतिर हामीले तीन तहको सरकार भन्यौं, त्यसकारण नियन्त्रण छैन । यो कुरालाई लेखा समितिले गम्भीरतापूर्वक उठाएर अगाडि बढ्नुपर्छ’, सांसद गौतमले समितिमा छलफलका लागि प्रस्ताव गरे ।
कांग्रेस सांसद गौतमले उठाएको विषयलाई गम्भीरतापूर्वक लिइएको समिति सभापति ऋषिकेश पोखरेलले बताए ।
‘यसलाई हामीले गम्भीरतापूर्वक एजेण्डाकै रुपमा छलफल गर्नेछौं’ सभापति पोखरेलले समितिको बैठकमा भनेका छन्, ‘यति मात्रै हो माननीयज्यूहरु छलफलका निम्ति, समयका निम्ति तयार हुनुपर्छ ।’
प्रतिक्रिया 4