१० असोज, काठमाडौं । सांसदहरुले नेपालमा प्रयोगमा रहेको चिनीको गुणस्तरमाथि प्रश्न उठाएका छन् ।
बिहीबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा समितिमा आगामी एजेण्डाबारे छलफल थियो जसमा भाग लिने अधिकांश सांसदले नेपालमा गुणस्तरहीन चिनी आयात र उपभोग भइराखेको बताए ।
बैठकको सुरुमै बोलेका नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले नेपालमा निर्वाध रुपमा अखाद्य चिनी बिक्री वितरण भइरहेको दाबी गरे ।
सांसद बास्कोटाले बैठकमा आउँदा चिनी नै लिएर आएका थिए । सामान्य तरिकाले समेत परीक्षण गर्न सक्ने भन्दै उनले थोरै चिनी तातो पानीमा मिसाए । चिनी मिसिएको पानी अर्कोमा खन्याउँदा गिलासको पिँधमा सेतो चिनी देखिए ।
सँगै रहेका सांसद राप्रपाका सांसद राजेन्द्र लिङ्देनले गिलासमा सेतो चिनी देखिएको बताएपछि सांसद बास्कोटाले भने, ‘देखियो हैन ? यो मैले परीक्षण गरेको होइन र प्रयोगशाला पनि होइन । तर इन प्राक्टिसेस यो छ ।’
ब्राउन सुगर (खैरो चिनी) र सेतो चिनीको मूल्य फरक रहेको उल्लेख गर्दै सांसद बास्कोटाले दुवै थरीका चिनीका उत्पादक को हो हेर्न सकिने बताए । अहिले बजारमा बिक्री भइरहेको चिनीले मानव स्वास्थ्यमा असर गरिरहेको उनको भनाइ छ । यस्तो चिनी विदेशबाट आयात भइराखेको भन्दै उनले समितिले छलफलको विषय बनाउनुपर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले विदेशमा उत्पादित चिनी नेपालमा आएर नेपाली ब्रान्डमा बिक्री वितरण भइराखेको सुनिएको बताए । विदेशमा उत्पादित चिनीमा नेपाली ब्रान्ड र नेपाली गुणस्तर रहेको दाबी गरेर बजारमा चिनी लैजाने विषयलाई लेखा समितिले छलफलको विषय बनाउनुपर्ने उनको माग छ ।
नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सनाले चाडपर्वका बेला मात्र बजार अनुगमन गर्ने प्रवृत्तिका कारण अखाद्य वस्तुले बजार पाइराखेको बताउँछन् । साथै नेपालमा वस्तुले भन्दा विदेशमा उत्पादित वस्तुले प्राथमिकता पाउने प्रवृतिका कारण नेपाली उत्पादक, किसान र उपभोक्ता सबै मारमा परिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4