+

एसियाडको पाँचौं दिन क्रिकेटमा कीर्तिमानै कीर्तिमान, अरु सबैमा निराश

२०८० असोज  १० गते १८:३२ २०८० असोज १० गते १८:३२
एसियाडको पाँचौं दिन क्रिकेटमा कीर्तिमानै कीर्तिमान, अरु सबैमा निराश

१० असोज, हान्झाउ । १९औं एसियाडमा नेपालले बुधबार क्रिकेटमा कीर्तिमानै कीर्तिमान बनाए पनि अन्य खेलमा भने निराशाजनक प्रदर्शनलाई निरन्तरता दिएको छ ।

एसियाडमा ८ वर्षपछि पुनरागमन गरेको क्रिकेटमा नेपालको पुरुष टिमले पहिलो टी-२० अन्तर्राष्ट्रियमा खेलेको मंगोलिया विरुद्ध ७ कीर्तिमान बनायो ।

कुशल मल्लको कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीको कीर्तिमानी अर्धशतकमा टी-२० अन्तर्राष्ट्रियमै नेपालले कीर्तिमानी ३१४ रनको स्कोर बनाएको थियो ।

३१५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलियालाई ४१ रनमा अलआउट गर्दै नेपालले अर्को कीर्तिमानी २७३ रनको जित हात पारेको हो ।

यस्तै रन रेट, ऐरीको स्ट्राइक रेट र सर्वाधिक छक्काको कीर्तिमान पनि बनेको छ ।

कुशल मल्लले टी२० मा नेपालका लागि पहिलो शतक प्रहार गर्ने क्रममा ३४ बलमै शतक प्रहार गरे । उनले ५० बल खेल्दै अविजित १३७ रन बनाए ।

टी-२० मा नेपालको लागि यो व्यक्तिगत उच्च स्कोर समेत हो । यस्तै दीपेन्द्रले ९ बलम अर्धशतक प्रहार गर्दै अर्को विश्व कीर्तिमान बनाए ।

सुरुको ६ बलमा लगातार छक्का प्रहार गरेका उनले दुर्लभ जस्तै रहेको कीर्तिमान आफ्नो नाममा बनाए । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धशतक प्रहार गरेका थिए ।

समूह चरणमा कमजोर टिमसँग परेको नेपालले अब आउने आइतबार माल्दिभ्ससँग खेल्नेछ ।

क्रिकेट बाहेक अन्य सबै खेलमा नेपाल पराजित भए । समूह खेलतर्फ महिला थ्री बाई थ्री बास्केटबलमा नेपाल कजाखस्तानसँग १७-१० ले पराजित भयो । बास्केटबलमा यो नेपालको लगातार दोस्रो हार हो ।

महिला ह्यान्डबलमा नेपाल जापानसँग ६१-१० ले पराजित भयो ।

पदकको अपेक्षा गरिएको खेलमै निराश

नेपालले १९औं एसियाडमा सबैभन्दा बढी पदकको अपेक्षा गर्दै प्राथमिकतामा राखेको खेल बक्सिङ, तेक्वान्दो र कराते थियो । यस्तै नयाँ खेलहरु इस्पोर्ट्स, डान्स स्पोर्ट्स, गल्फबाट पनि नेपालले केही आशा राखेको छ ।

बक्सिङ र तेक्वान्दोमा नेपालको खेलहरु अन्तिम चरणमा पुग्दा निराशाजनक प्रदर्शन भएको छ ।

व्यक्तिगततर्फका खेलमा नेपाली खेलाडी अहिलेसम्म क्वाटरफाइनलबाट अघि बढ्न सकेका छैनन् ।सिधै क्वाटरफाइनल खेल्न पाएका खेलाडी पनि पराजित हुँदै बाहिरिएका छन् ।

बुधबार पदकको आशा गरिएका बक्सिङका सुष्मा तामाङ र तेक्वान्दोका वीरबहादुर महरा पनि पहिलो खेलमै पराजित भए ।

बुधबार तेक्वान्दोका तीन खेलाडी नै पहिलो खेलमै पराजित हुँदै बाहिरिए । वीरबहादुर महरा पुरुष ६८ केजी मुनि अन्तिम १६ को स्पर्धामा चाइनिज ताइपेईका यी जुई चिउसँग २-० ले नै पराजित भए भने अभिषेक बराल पुरुष ८० केजी अन्तर्गत अन्तिम ३२ मा अफगानिस्तानका ओमिद साहाकसँग २-० ले पराजित भए ।

इन्दिरा बस्नेत महिला ६७ केजी मुनी अन्तिम १६ मा इरानका मेलिका मिरहोसेनी भाकिलीसँग २-० ले हारिन् ।

तेक्वान्दोमा नेपालबाट ११ खेलाडी सहभागि भएकोमा अब एक खेलाडीको स्पर्धा बाँकी छ । पुरुष ८० केजीमा नेपालका ज्याकी यादवले बिहीबार जोर्डनी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

तेक्वान्दोमा पछिल्लो पटक सन् २००६ को दोहा एसियाडमा पदक जितेको नेपालले त्यसयता तेक्वान्दोबाट एसियाडमा पदक जित्न सकेको छैन ।

हान्झाउमा तेक्वान्दोबाट नेपालका ११ खेलाडी सहभागी भएकोमा बुधबारसम्म १० खेलाडीको चुनौती सकिसकेको छ । तर अहिलेसम्म कुनै पनि खेलाडी क्वाटरफाइनलबाट माथि जान सकेका छैनन् ।

वीरबहादुर महरा, इन्दिरा बस्नेत र अभिषेक बराल ।

बक्सिङमा महिला ५० केजी तौल समूहमा सुष्मा कजाखस्तानकी नाजम काइजाईबे ५-० ले पराजित भइन् ।

बाई पाएर सिधै क्वाटरफाइनल खेलेका भुपेन्द्र थापा पुरुष ६३.५ केजी अन्तिम १६ चाइनिज ताइपेईका एन चु लाईसँग ४-० ले पराजित भए ।

बक्सिङमा १३ खेलाडी सहभागी भएकोमा अहलेसम्म १० खेलाडीले खेल्दा रविन थापाले मात्र १ बाउट जितेका छन् भने ९ खेलाडी पहिलो खेल हार्दै बाहिरिएका छन् ।

जुडोको मिक्स टिम इभेन्टको क्वाटरफाइनलमा नेपाल जापानसँग ४-० ले पराजित भयो । मिक्स टिमको पराजित टिमहरुबीच हुने रिपिचे फाइनल कन्टेस्टमा पनि नेपाल कजाखस्तानसँग ४-० ले नै पराजित भयो ।

जुडोमा व्यक्तिगतर्फ ८ र मिक्स टिम गरी ९ वटै इभेन्टमा नेपाल पराजित हुँदै बाहिरिएपछि जुडोको चुनौती पनि समाप्त भएको छ ।

पौडीमा डुवाना लामा र नासिर याहा हुसैन हिट चरणबाटै बाहिरिएका छन् ।

महिला एक सय मिटर ब्रेस्टस्ट्रोकमा डुवानाले निर्धारित दुरी एक मिनेट २०.१५ सेकेन्डमा पार गरिन् ।

पुरुष दुई सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी दुई मिनेट ००.१४ सेकेन्डमा पार गरे ।

बुधबार भएको स्क्वास महिला टिममा नेपाल भारत र पाकिस्तानसँग तथा पुरुष टिम कतारसँग समान ३-० ले पराजित भयो ।

टेबल टेनिसतर्फ पुरुष डबल्समा नेपालका संयोग कपाली र रुबिन महर्जन पाकिस्तानका मुहम्मद शाह खान र फइजन जहुरको जोडीसँग ३-० ले पारजित भयो ।

मिक्स डबल्समा संयोग कपाली र नविता श्रेष्ठको जोडी दक्षिण कोरियाका जोन्गहुन लिम र युबिन शिनको जोडीसँग ३-० ले नै पारजित भए ।

उसुमा नेपालकी कविता थापा महिला जियान्सु-कुन्सु अलराउन्डमा समग्रमा बुधबार अन्तिम (११ औं) स्थानमा रहिन् । कविताले जियान्सुमा ९.६३३ तथा कुन्सुमा ९.२४३ गरी जम्मा १८.८७६ अंक जोडिन् ।

इस्पोर्ट्समा अर्को हार

इस्पोर्ट्सको ड्रिम थ्री किङडम्स २ (डीटीके) मा नेपाल बुधबार दुवै खेलमा पराजित भएको छ । समूह सी मा नेपाल कीर्गिस्तान र भियतनामसँग समान २-० ले पराजित भयो ।

इस्पोर्ट्समा नेपालले यसपटक ५ फरक इभेन्टसमा कुल २३ खेलाडी सहभागी गराएकोमा फिफा अनलाइनमा ४ मा समिर गुरुङ पराजित भइसकेका छन् भने एरिना अफ भेलोर (एओभी) एसियन गेम्स भर्सन मा पनि नेपाल पराजित भइसकेको छ ।

अब नेपालले पिस एलिट एसियन गेम्स भर्सन (पब्जी मोबाइल) र डोटा २ मा प्रतिस्पर्धा गर्न बाँकी छ । डोटो २ मा नेपालले सीधै क्वाटरफाइनल खेल्नेछ ।

एसियाली खेलकुद कुशल मल्ल दीपेन्द्र सिंह ऐरी नेपाली क्रिकेट
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय