
१० असोज, काठमाडौं । नेपालमा आर्थिक वर्ष २०७८/७९ मा प्रत्यक्ष वैदेशिक लगानी १६ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले गरेको नेपालमा प्रत्यक्ष वैदेशिक लगानी सर्वेक्षण प्रतिवेदले उक्त तथ्यांक देखाएको हो ।
आर्थिक वर्ष २०७८/७९ सम्म नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी २ खर्ब ६४ अर्ब ३३ करोड पुगेको छ ।
कुल प्रत्यक्ष वैदेशिक लगानीमा चुक्ता पूँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत रहेको छ ।
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी रहेका ६९४ कम्पनीमध्ये २३१ वटा कम्पनीको नमुना छनोट गरी सर्वोक्षण भएको हो ।
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भएको ठुला ४८, मझौला ३० र साना ६१२ कम्पनी छन् । सन् २०२०/२१ सम्म जसको कुल पूँजीको आकार करिब २ खर्ब २७ अर्ब ५९ करोड रहेको छ ।
नेपालमा कुल ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । ‘२०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड रहेको देखिन्छ,’ सर्वेक्षणमा भनिएको छ, ‘चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्याण्डबाट २० अर्ब ९० करोड, सिङ्गापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।’
सन् २०२२ मा विश्वभरी कुल १२ खर्ब ९५ अर्ब अमेरीकी डलर प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये विकशित अर्थतन्त्र भएको मुलुकमा ३ खर्ब ७८ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी हुँदा विकासशलि राष्ट्रहरुमा ९ खर्ब १६ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।
विश्वभरको कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये करिब ६ खर्ब ६२ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी एशियामा मात्रै रहेको छ ।
एशियामा पनि सबैभन्दा धेरै चीनमा १ खर्ब ८९ अर्ब डलर, सिंगापुरमा १ खर्ब ४१ डलर र हङकङमा १ खर्ब १८ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी आएको छ ।
दक्षिण एशियाली देशमा करिब ५६ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी आउँदा नेपालले भने त्यसबाट लाभ लिन सकेको छैन ।
नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता र लगानी आउँदा ठूलो अन्तर हुने गरेको विगत देखिकै तथ्यांकले देखाउँछ ।
सन् १९९५/९६ देखि सन् २०२१/२२ सम्म नेपालमा स्वीकृत भएको ३६.२ प्रतिशत मात्रै प्रत्यक्ष वैदेशिक लगानी आएको राष्ट्र बैंकको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।
दक्षिण एशियामा सन् २०२२ मा करिब ५६ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी आउँदा भारतमा मात्रै ४९ अर्ब ४० करोड डलर रहेको छ ।
यस्तै बंगलादेशमा ३ अर्ब ५० करोड डलर प्रत्यक्ष वैदेशिक लगानी आउँदा पाकिस्तानमा १ अर्ब ३० करोड डलर, श्रीलंकमा ९० करोड डलर, माल्दिभ्समा ७० करोड डलर र नेपालमा १० करोड डलर मात्रै प्रत्यक्ष वैदेशिक लगानी आएको छ ।
यस्तै भुटानमा १ करोड डलर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
प्रत्यक्ष वैदेशिक लगानीको ठूलो हिस्सा उद्योगमा
नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा रहेको सर्वेक्षणमा उल्लेख छ ।
औद्योगिक क्षेत्रअन्र्तगत जलविद्युत्, क्षेत्रमा ३२.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको छ ।
यस्तै गरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको छ ।
भारतको कुल प्रत्यक्ष वैदेशिक लगानीमा जलविद्युत्, ग्याँस लगायत वातानुकूलित क्षेत्रको हिस्सा ४२.९ प्रतिशत रहेको छ । यस्तै उत्पादनमुलक उद्योगको हिस्सा ३५ .९ प्रतिशत र बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा १८.१ प्रतिशत छ ।
नेपालमा वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको पाइएको छ । समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर करिब १४.३ प्रतिशत रहेको छ ।
सन् २०२१/२२ मा प्रत्यक्ष वैदेशिक लगानीको लाभांशको लागि १५.७ अर्ब स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ । उक्त वर्षमा उत्पादनमूलक क्षेत्र पछि सूचना तथा सञ्चारको क्षेत्रमा उच्च लाभाँश स्वीकृत भएको थियो ।
प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल २३१ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८/७९’ तयार पारिएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले जनाएको छ ।
प्रतिक्रिया 4