+
+

०८४ मा एकल बहुमतको सरकार बनाउँछौं : ओली

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते २०:४२

१० असोज, सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन–२०८४ सुरु भएको र एमालेलाई पहिलो शक्ति बनाएर एकल बहुमतको सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।

बुधबार एमाले कर्णालीको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाएर २०८४ को निर्वाचनमा सत्ता गठबन्धनलाई धोबीले लुगा धोएझैं धोइदिने दाबी गरे ।

‘हामीले मिसन ८४ भनेका छौं, यो भनेको साल फेरिने होइन, हामी एकताबद्ध भएर नेतृत्वमा जाने वर्ष हो’, अध्यक्ष ओलीले भने, ‘०८४ मा अहिलेको गठबन्धनलाई धोबीले लुगा धोएझैँ धोएर सुकाउँछौं ।’

एमालेले सरकारको नेतृत्वमा जान भन्दा मुलुकमा समृद्धि चाहेकाले पनि एमालेको अबको बाटो मिसन २०८४ रहेको ओलीले बताए । ‘मिसन २०८४ लाई अर्थपूर्ण बनाएर एमालेले एकलौटी सरकार बनाउनेछ’, उनले भने, ‘यो अधिवेशनबाट एमाले विचारमा संगठित छ, संगठनमा एकजुट छ र राष्ट्रियताका सवालमा एकताबद्ध छ भन्ने सन्देश दिन आवश्यक छ । त्यसरी लाग्नुहोस् ।’

उनले वर्तमान गठबन्धन सरकारले देशको स्वाधीनतालाई लम्पसार बनाएको ओलीको आरोप छ । अध्यक्ष ओलीले राष्ट्रिय एकता, स्वाधीनता, सार्वभौमसत्ताको रक्षा, सामाजिक न्यायसहितको समृद्धिका लागि एमालेलाई बलियो राष्ट्रिय शक्ति नबनाएसम्म देशले निकास नपाउने दाबी गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले वर्तमान सरकारले नै क्वीन्टलका दरमा सुन तस्करीमा लागेको आरोप समेत लगाए । ‘सत्ता स्वार्थका लागि गठबन्धन सरकार जेसुकै गर्न पनि तयार छ । विमानस्थलमा क्वीन्टल सुन आएको पनि देख्दैन । चेकजाँच मेसिन कराउँदै नजा भन्छ । त्यहाँ बस्नेले लैजा–लैजा भनेर क्वीन्टल सुन बाहिर पठाउँछ’ उनले भने, ‘यो सरकार आफूले काक्रा चोरेर बियाँ ल्याएर हाम्रो गाला टाँस्न आउँछ ।’

उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यूँताउन अब सम्भव नरहेको बताए । नेकपा सरकार ढालेर नेपाली कांग्रेसको शरणमा गएकाहरूले जनता झुक्याउन नेकपा ब्युँताउने कुरा गरेको ओलीको आरोप छ ।

‘नेकपा सरकार ढालेर कांग्रेसको शरणमा गएकाहरुले जनतालाई झुक्याउन नेकपा ब्युँताउने कुरा गर्दै हिँडिरहेको देख्छु । त्यो अब सम्भव छैन’, ओलीले भने, ‘कोही कम्युनिष्ट हुँ भन्नेहरू एमालेमा आउनुहोस् ।’

अधिवेशनको उद्घाटन सत्रमा बोल्दै महासचिव शंकर पोखरेलले पनि पार्टीको अवको मिसन ०८४ को रहेको बताए । उनले आगामी आम चुनावमा बहुमत ल्याउने गरी पार्टी अघि बढ्ने बताए । ‘एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न र एकल बहुमत सरकार बनाउने संकल्पसाथ हामी अघि बढेका छौं’, उनले भने ।

एमाले हरेक कुरामा एकताबद्ध रहेको र देशको नेतृत्व गर्न पनि सक्षम रहेको उनको भनाइ थियो । यो सन्देश अधिवेशनबाट पनि दिनुपर्ने उनले बताए । ‘एमालेलाई चौतर्फी घेराबन्दी गर्ने प्रयत्न भइरहेको छ । हामी एकताबद्ध भएर अघि बढ्नुपर्छ । कर्णालीबाट एकताको सन्देश दिनुपर्छ’, महासचिव पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?