
खोज्दैछ मनले तस्वीर एउटा मुटुमा सजाउन
छातीमा टाँस्न, कोठामा राख्न, ढोकामा झुण्ड्याउन
चोक र बजार कक्षा र कक्ष, पुस्तकका पानामा
पुजियोस् उसको कर्म र कृति देश र विदेशमा
खोई तर पाइनँ त्यो सिद्ध व्यक्ति आजका दिनसम्म
देशको माया, जनतालाई प्रेम, वुद्धि र विवेकमा
उत्कृष्ट काम, उज्यालो नाम, निर्विध्न पथमा
राजनीति गरोस् राष्ट्रका लागि पुर्याउन लक्ष्यमा
लम्कियोस् सधैं जोशले राखी देशलाई काँधमा
स्वार्थ र लोभ, आफन्त मोह शून्य होस् मनमा
संकल्प दृढ लिएर हिंडोस् त्यो अग्रपथमा
सूचना गर्छु, विज्ञापन गर्छु, यो मेरो देशमा
कुना र काप्चा गाउँ र सहर आउनु है नजरमा
तेरो र मेरो नगर्नु कहिले प्रेमले रिझाउनु
मनमा बस्नु ढुकढुकी बन्नु यसैमा रमाउनु
टुक्र्याउने होइन, फुटाउने होइन, सबैलाई जुटाउनु
भविष्य देशको सिंगार्न खातिर मन माया मिलाउनु
विवेक बसो्स मनमा बास ज्ञानले सजियोस्
झण्डाले होइन, दण्डले होइन, कर्मले पुजियोस्
मर्दा र बाँच्दा जोसुकै बेला मुटुमै धड्कियोस्
अगाडि होस् वा पछाडि जे होस् श्रद्धाले सम्झियोस्
नेतृत्व उसको सबैले मानुन्, देशकै साझा होस्
अस्मिता बचोस् आमाको यहाँ, शत्रुको नास होस्
गरिब र दु:खी नहोउन् कोही सीपको पूजा होस्
अँध्यारो सबै हटेर जाओस्, उज्यालो देश होस्
त्यो मान्छे देखे खबर मलाई गरिदिनु, भन्दिनु
नपाए त्यस्तो हजुर आफैं त्यही गुणको बन्दिनु
कर्मशील बन्नु, लगनशील हुनु, नेतृत्व लिई हिंड्नु
सबैको तस्वीर राख्नेछु मैले त्यही खबर गर्दिनु
यी भाव बस्छ मुटुमा मेरो त्यही कुरा लेख्दिनु
आजको खबर यसैको बनोस, यही कुरा भन्दिनु ।।
प्रतिक्रिया 4