
११ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दसैं, तिहार, नेपाल संवत्, छठ जस्ता चाडपर्वको समयमा बजार थप अनियन्त्रित बन्दै गएको भनी सरकारको ध्यानाकर्षण गरेको छ ।
बुधबार बसेको पार्टीको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले महंगीको भार निरन्तर बढिरहेकोले सबैपक्ष सर्तक बन्नुपर्ने निष्कर्ष निकालेको छ ।
‘बजार कब्जा गरेका सीमित व्यापारीले कृत्रिम अभाव सिर्जना गरेर मूल्यमा एकाधिकार लादिरहेका छन् । उनीहरुकै योजनामा कालोबजारी फस्टाउँदा र पसैले पिच्छे मूल्य फरक हुँदा उपभोक्ता पाइला-पाइलामा ठगिएका छन्’ रास्वपाले विज्ञप्तिमाफत भनेको छ, ‘तर, बजारमा तीनै तहका सरकारी निकायको उपस्थिति प्रभावकारी छैन । भएको बजार अनुगमन पनि देखावटीमा सीमित छ ।’
सधैं उपभोक्ता मैत्री हुनुपर्ने बजार पर्व विशेषमा थप सहुलियतपूर्ण हुनु पर्नेमा सरकारले त्यससम्बन्धि स्पष्ट नीति, योजना र कार्यक्रम नल्याउादा समस्या भएको रास्वपाको बुझाइ छ ।
‘देशभरका उपभोक्तलाई राहत दिनुपर्ने सरकार यसपटक पनि केही सीमित ठाउँमा ‘सहुलियत पसल’ सञ्चालन गरेर झारा टार्ने प्रयासमा छ,’ विज्ञप्तिमा भनिएको छ ।
रास्वपाले बजारमा व्याप्त मनपरी नियन्त्रण गर्न, कृत्रिम अभाव सिर्जना गर्नेलाई कानून मातहत ल्याउन र उपभोक्ता अधिकार सुनिश्चित गर्न तीनै तहका सरकारसँग जोडदार माग गरेको छ ।
प्रतिक्रिया 4