+
+

ठूला फिल्म फेस्टिभलमा बोर्डको उपस्थिति नभएपछि निर्माताको प्रश्न : हाम्रो उद्देश्य नै फरक छ कि ? 

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते १४:५४
यस वर्षको भेनिस फिल्म फेस्टिभलको क्रममा 'द रेड सुटकेश'का निर्माता रामकृष्ण पोखरेल (बायाँ), छायाकार सुसन प्रजापति र निर्देशक फिडेल देवकोटा

काठमाडौं । केही दिनअघि विश्वका ठूला फिल्म फेस्टिभल सम्पन्न भए । भेनिसमा नेपाली फिल्म ‘द रेड सुटकेस’ प्रिमियर हुँदा टोरन्टोमा ‘गाउँ आएको बाटो’को विश्व प्रिमियर गरियो ।

दक्षिण कोरियामा हुन लागेको आसन्न बुसान फिल्म फेस्टिभलमा ‘गुराँस’को एसिया प्रिमियर हुँदैछ भने ‘गाउँ आएको बाटो’को स्क्रिनिङ । कान्समा छिमेकी मुलुक भारतले इण्डियन पेभेलियन नै खडा गर्‍यो, जहाँ भारतीय फिल्म निर्माताले अन्य विदेशी निर्मातासँग संयुक्त लगानीका लागि भेट गरे ।

सिक्किम फिल्म बोर्डले कान्समा दुईजना प्रतिनिधि नै पठायो । कान्समा पुगेकी सिक्किम फिल्म बोर्डकी अध्यक्ष पूजा शर्माले नेपालले संयुक्त लगानीका लागि प्रस्ताव गरे, आफूहरु सकारात्मक हुने बताएकी थिइन् । यसबारे नेपाली चलचित्र विकास बोर्डले कुनै प्रतिक्रिया दिएको छैन ।

यी सबथोक फिल्म गतिविधि हुँदा नेपालको उपस्थिति भने शून्य रह्यो । चलचित्र विकास बोर्डको अन्तर्राष्ट्रिय समिति बेखबरजस्तै बन्यो । बोर्ड अध्यक्ष भुवन केसीले त्यसयता अमेरिका भ्रमण गरे । न्युयोर्कमा उनले नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणको चर्चा गरे । केसी यतिबेला युरोप भ्रमणमा छन् ।

प्रस्तावित फिल्म विधेयकको मस्यौदामा समेत नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणबारे एक शब्द पनि उल्लेख छैन । यस्तोमा मस्यौदाको आलोचना भइरहेको छ । भनाइ एकातिर र गराइ अर्कोतिर भइरहेको भन्दै बोर्डको कार्यशैलीको विरोध भइरहँदा ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको फिल्म ‘हल्कारा’ र गत वर्ष ओस्कारमै पुगेको ‘ऐना झ्यालको पुतली’का निर्माता रामकृष्ण पोखरेलले बोर्ड नेतृत्वलाई प्रश्न तेर्स्याएका छन् ।

यस वर्षको भेनिस फिल्म फेस्टिभलको क्रममा ‘द रेड सुटकेश’का निर्माता रामकृष्ण पोखरेल (दायाँ) र निर्देशक फिडेल देवकोटा

फेसबुकमार्फत पोखरेलले अर्को महिना बुसानमा हुने फेस्टिभलमा विभिन्न देशले कार्यक्रममार्फत मुलुकको प्रवर्द्धन गर्ने तर नेपालबाट बोर्डका प्रतिनिधि उपस्थिति भएर पनि केही नगर्ने भन्दै बोर्ड नेतृत्वलाई प्रश्न सोधेका छन् ।

उनी लेख्छन्, ‘अर्को महिना दक्षिण कोरियाको बुसान सहरमा हुन गइरहेको प्रतिष्ठित चलचित्र महोत्सवमा विभिन्न देशले आफ्नो देशको नाममा थाइ नाइट, बंगलादेश नाइट, फिलिपिन्स नाइट, कोरियन नाइटजस्ता जमघट आयोजना गर्दैछन् । यी जमघटले आफ्नो देशका चलचित्रकर्मीलाई अन्य देशबाट आएका चलचित्रकर्मीहरुसँग परिचय गराई भविष्यमा विभिन्न खाले सहकार्य गर्न मद्दत पुर्‍याउनुका साथै आफ्नो देशको चलचित्र, विभिन्न ठाउँ, संस्कृति, छायांकन तथा पर्यटकीय स्थलबारे जानकारी दिन समेत मद्दत पुर्‍याउँछ ।’

‘हाम्रो नेपालको चलचित्र विकास बोर्डबाट हरेक वर्ष कोही न कोही बुसान गएकै छन् । तर आजसम्म किन यस्तो कार्यक्रम आयोजना गर्न सकेका छैनन् ? नसकेर हो या इच्छा नभएर हो ? दुबईमा केही समय अगाडि एउटा कार्यक्रम भएको थियो, त्यसैगरी दाङमा । अनि फेरि सुन्दैछु अब अष्ट्रेलियामा पनि । किन संसारका सबै देशहरुले कान्स, बुसान, बर्लिन, टोरन्टो फिल्म मार्केटमा गएर चलचित्र तथा देशको प्रवर्द्धन गर्छन् र हामी चाहिं अन्तै ? सायद हाम्रो उद्देश्य नै फरक छ कि ?’

चलचित्र विकास बोर्डले बर्सेनि बुसान फिल्म फेस्टिभलमा केही प्रतिनिधि पठाउने गरेको छ तर यो उपस्थिति कर्मचारीको विदेश सयरमा मात्र सीमित रहेको भन्दै आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?