+
+

‘बाख्रा–पाठा सकिए, लिंदै नलिएको ऋणको पासो लाग्यो !’

‘बचत गर्न पनि पाइने, आपत् पर्दा ऋण पनि पाइने’ भएपछि आफूसँग भएका बाख्रा–पाठा नै बेचेर सहकारीमा शेयर हाल्ने गाउँका सोझासाझा किसान उल्टै सहकारीका प्रबन्धकको बदमासीका कारण लिंदै नलिएको ऋणको पासोमा समेत बाँधिन पुगेका छन् ।

अमृत सुवेदी अमृत सुवेदी
२०८० असोज १२ गते २०:५५

१२ असोज, पोखरा । तनहुँको भिमाद नगरपालिका–९ कटनछापकी बिनाकुमारी मोक्तानले ‘बचत गर्न पनि पाइने, आपत् पर्दा ऋण पनि पाइने’ भएपछि बाख्रापाठा बेचेरै भए पनि ५० हजार रुपैयाँ जोरजाम गरेर सहकारीमा शेयर हालिन् । त्यसपछि पनि सुरुमा १०० र पछि २०० का दरले मासिक बचत गरेको ३० हजार रुपैयाँ जम्मा गरिन् ।

अरुलाई पनि सहकारीमा बचन गर्न प्रोत्साहित गर्दै आएकी बिनाकुमारी त्यतिबेला छाँगाबाट खसे जस्तो भइन्, जतिबेला उनले लिँंदै नलिएको २ लाख ३३ हजार रुपैयाँ ऋण सहकारीमा देखियो ।

तनहुँ–९ भानुमतीमा, २०६८ सालमा भानुमती साना किसान सहकारी संस्था खुलेको थियो । गाउँमा पढे–लेखेका र टाढाबाठामा गनिने कटनछापकै ५२ वर्षीय चुत्रबहादुर थापा २०६९ असोज १४ गते सहकारीको प्रबन्धक नियुक्त भएका थिए । बचत पनि गर्ने र स–सानो कृषिमा ऋण प्रवाह पनि गर्ने हेतुले आबद्ध भएकी बिनाकुमारीले अरूलाई पनि सहकारीमा आबद्ध हुन प्रोत्साहन गरेकी थिइन् ।

कटनछापकै प्रदीप रानाले सहकारीमा ५ हजार रुपैयाँ शेयर राखेका थिए । अहिले उनको नाममा पनि लिंदै नलिएको ७५ हजार रुपैयाँ ऋण देखिएको छ । गंगाकुमारी रानाको बेथा पनि उस्तै छ ।

चन्द्रबहादुर थापाको थाप्लोमा पनि अहिले सहकारीमा लिंदै नलिएको ७५ हजार ऋण देखिएपछि रन्थनिएका छन् । सोही ठाउँका कोल आले सहकारीका सदस्य पनि छैनन् र ऋण पनि लिएका छैनन् । तर, सहकारीको खातापाता हेर्दा उनको नाममा पनि १ लाख ८३ हजार रुपैयाँ ऋण गएको देखिएको छ ।

यी त केही उदाहरण मात्रै हुन्, गाउँका स–साना किसान र उद्यमी जोडिएको भानुमती साना किसान सहकारीमा यस्ता १३० जनामाथि लिंदै नलिएको ऋणको भार परेको छ ।

सहकारीका प्रबन्धक थापाले अर्कैको नाममा ऋण देखाएर जम्मा गरेको बचत हिनामिना गर्ने र अन्तबाट लिएको ऋण समेत लगानी नगर्ने गरी बदमासी गर्दाको परिणाम अहिले देखिएको हो ।

भिमाद नगरपालिका–९ का अध्यक्ष रनबहादुर रानाका अनुसार यो सहकारीलाई लघुवित्त साना किसान सहकारी इलाका कार्यालय पोखराले कृषि तथा पशु उद्यमका लागि लगानी गर्न १ करोड ५४ लाख रुपैयाँ ऋण प्रवाह गरेको थियो ।

पैसा ठिक ठाउँमा लगानी भए–नभएको अनुगमन गर्न जब लघुउद्यम साना किसान सहकारी इलाका कार्यालय पोखराका प्रतिनिधि पुगे तब ११ मध्ये ८ जनाले ऋण नै नलिएको तर सहकारीबाट प्रवाह भएको देखिएपछि घटना बाहिरिएको हो । उनीहरूले सहकारीबाट ऋण लिने ११ जनाको तथ्य जाँच गरे ।

गाउँका साना किसानले जम्मा गरेको रकम नै हिनामिना भएको र ऋण नै नलिएको व्यक्तिलाई ऋणी देखाएर आर्थिक अपचलन गरेको देखिएसँगै उपाध्यक्ष लेखनाथ तिवारीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिको छानबिनले २ करोड ३९ लाख रुपैयाँ हिनामिना भएकोे देखिएपछि प्रबन्धक चुत्रबहादुरलाई कात्तिक २५ गते निलम्बन गरिएको थियो ।

सहकारीले गत ९ गते मंगलबार जिल्ला प्रहरी कार्यालय तनहुँमा प्रबन्धक थापाले विभिन्न मितिमा संस्थाको सेयर, बचत र १३० जना सेयर सदस्यको नाममा काल्पनिक ऋण (कर्जा) जनाई २ करोड ६९ लाख ७१ हजार ९०० रुपैयाँ हिनामिना गरेको भन्दै जाहेरी दिएको थियो ।

सहकारीको जाहेरीका आधारमा चुत्रबहादुरलाई पक्राउ गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी मोहनबहादुर खाँणले जानकारी दिए । थापा एमाले निकट लोकतान्त्रिक मगर संघको प्रदेश सदस्य समेत हुन् ।

सहकारीले उपभोक्ता पसल पनि चलाएको थियो । पसलको पैसाको समेत हिसाब गोलमाल बनेको र अहिले उपभोक्ता पसल पनि डुबेर बन्द भएको छ । पसल र सहकारी समेत डुबेपछि थोरै थोरै गरेर बचत गर्ने, सेयर हाल्ने र लिंदै नलिएको ऋण देखिएका सबै जना अत्तालिएको बिनाकुमारीले बताइन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?