+

अत्यासलाग्दो खेलाडी पलायन, कुर्सीकै खेलमा व्यस्त एन्फा पदाधिकारी

२०८० असोज  १२ गते २०:१६ २०८० असोज १२ गते २०:१६
अत्यासलाग्दो खेलाडी पलायन, कुर्सीकै खेलमा व्यस्त एन्फा पदाधिकारी

१२ असोज, काठमाडौं । राष्ट्रिय टिममा स्ट्राइकर विमल घर्ती मगर शुक्रबार अष्ट्रेलिया उडे । दुई वर्षदेखि राष्ट्रिय टिमका नियमित सदस्य रहेका एन्फा एकेडेमीका उत्पादन विमल अष्ट्रेलियामै बस्ने गरी गएका हुन् ।

२०१२ मा वंगलादेशविरुद्ध मैत्रिपूर्ण खेलमा १५ वर्षकै उमेरमा डेब्यू गरेका विमलले आफ्नो कप्तानीमा २०१५ मा यू–१९ साफ च्याम्पियनसिपको उपाधि दिलाएका थिए । त्यसयता राष्ट्रिय टिममा उनको यात्रा उचारचढावपूर्ण भएपछि पछिल्लो समय नियमित थिए ।

एकपछि अर्को फुटबलर सुखःद भविष्यको खोजीमा अष्ट्रेलिया गएका कारण राष्ट्रिय टिममा आएको संकटमा उनी भरपर्दा विकल्प थिए । तर उनी पनि अष्ट्रेलिया नै लागे ।

पछिल्लो दुई वर्षमा राष्ट्रिय टिमका धेरै फुटबलर अष्ट्रेलिया पुगेका छन् । दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ, अभिशेक रिजाल, दिपकराज सिंह ठकुरी, विमल राना, रेजिन सुब्बा, पुजन उपरकोटी, निशान खड्का, रवि पासवान लगायतका खेलाडीहरू विदेशिएका छन् । सिनियर टिममा खेलिरहेका र टिमको ब्याकअप मानिएका एउटा पुस्ताकै खेलाडीको पलायनले राष्ट्रिय टिमको सन्तुलनमा नै असर परिरहेको छ ।

खेलाडी विदेश जानुमा धेरै कारण छन् । कोही व्यक्तिगत कारणले त कोही पढाइका कारणले विदेश गएका छन् । धेरै भने देशका लागि भनेर खेले पनि घरपरिवार र आफ्नो आर्थिक संकट नटरेकाले खेलाडी विदेश गएका हुन् । वर्षभरी खेल्ने र खेलेरै जीविकोपार्जन गर्ने स्थिति नरहेको भन्दै खेलाडी संघका अध्यक्ष विक्रम लामा भन्छन्, ‘केही खेलाडी व्यक्तिगत कारणले विदेश गएको भएपनि धेरै जसो खेलाडी वर्षभरि फुटबलमा लाग्ने वातावरण नभएर बाहिरिनु भएको छ ।’

राष्ट्रिय टिमको मेरुदण्ड मानिएको लिग पनि हरेक वर्ष हुन्छ भन्ने ग्यारेन्टी छैन । भएको बेला पनि अखिल नेपाल फुटबल संघ एन्फाले ३ महिनामा सक्ने गरी सञ्चालन गर्छ । क्लबहरुले खेलाडीलाई त्यही लिग चलुञ्जेलका लागि अर्थात ३ महिनाको मात्र तलब उपलब्ध गराउँछन् । बाँकी ९ महिना अरु नै काम गरेर जीविका चलाउनु पर्ने बाध्यता छ ।

‘समस्यै समस्यामा भएपछि केही खेलाडी मानसिक रुपमा थाकेर पनि विदेशीनु भएको हो’ फुटबलर समेत रहेका लामा भन्छन्, ‘१२ महिनामा ३ महिना तलब पाएर हुँदैन, कम्तिमा पनि ९ देखि ११ महिना खेल्ने वातावरण चाहियो । त्यहि किसिमको तलब र पारिश्रमिक पाउनुपर्छ ।’

तर नेपाली फुटबलको जिम्मेवार निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरु भने पद जोगाउने र हत्याउने राजनीतिमा व्यस्त छन् ।

चेन्ज एन्फाको नारा दिएर नेतृत्वमा पुगेका कर्मछिरिङ शेर्पाको चार वर्षे कार्यकाल र पंकजविक्रम नेम्बाङ नेतृत्वको एक वर्षे अवधिमा नेपाली फुटबलमा कुनै उत्साह भर्न सकेको छैन । पछिल्लो समय गुट उपगुटको दाउपेचका कारण एन्फाले काम नै गर्न नसक्ने अवस्था छ ।

निर्वाचन एक वर्षमै बहुमत सदस्य (४९ जनाले) अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्नु पर्ने माग राखेर विशेष साधारण सभा गर्न माग गरेका छन् । उनीहरुले एक महिनाभित्र विशेष साधारण सभा गर्न भन्दै भदौ २५ मा एन्फामा पत्र बुझाएका थिए, जसलाई अध्यक्ष र महासचिवले अनुशासन समितिमा पठाएका छन् ।

एन्फामा खेलाडी पलायन रोक्नेबारे छलफल समेत हुन सकेको छैन । एन्फाका महासचिव किरण राई भने खेलाडीको समस्या र उनीहरुको पलायनबारेमा आफूहरु जानकार रहेको र रोक्न पहल भइरहेको दाबी गर्छन् ।

तर एन्फा भित्रै काम गर्न नसक्ने स्थिति रहेको भन्दै उनले भने, ‘ एन्फाभित्रको विवाद सुल्झाउनमा व्यस्त हँुदा बाहिर फुटबल अस्तव्यस्त भयो । सायद एन्फा भित्रकै विवादले पनि खेलाडीमा नैराश्यता आएको हुन सक्छ ।’

एन्फाको विवाद मिलाएर फुटबलको विकासमा लाग्ने उनको दाबी छ । उनी भन्छन्, ‘हामी फुटबलका स्टेक होल्डर सबैले मिलेर फुटबल विकासमा ध्यान दिई खेल्ने र जीविकोपार्जन गर्ने वातावरण बनाउनेमा हामी सजक छौं ।’

खेलाडी संघका अध्यक्ष विक्रम लामा भने घरेलु फुटबलमा खेलाडीलाई आर्थिक सवलतासहित इज्जत पनि चाहिने बताउँछन् । ‘घरेलु फुटबलको संरचना बलियो बनाइ जबसम्म खेलाडीहरुले खेलेर आर्थिक स्वाबलम्बी र आत्मसम्मान पाउने वातावरण आउँदैन, तबसम्म खेलाडी पलायन रोकिने छाँटकाँट म देख्दिनँ ।’

एन्फा विवाद किरण राई खेलाडी पलायन विमल घर्ती मगर
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय