+
+

बुटवल उवासंघको अधिवेशन : कांग्रेस निकट व्यवसायीका दुई प्यानल

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १३ गते ७:४६
अर्यालको प्यानल ।

१३ असोज, बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको नयाँ नेतृत्वका लागि ब्यापारीहरु फरकफरक प्यानलमा विभाजित भएका छन् ।

कांग्रेस निकट व्यवसायीको बाहुल्यता रहेको संघको अधिवेशन असोज १९ गतेदेखि २२ गतेसम्म हुँदैछ ।

२५औं अधिवेशनका लागि कांग्रेस समर्थित हरिप्रसाद अर्याल र दिनेशप्रसाद श्रेष्ठले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्षसमेत रहेका अर्याल संघका पूर्वउपाध्यक्ष हुन् भने कांग्रेस निकट श्रेष्ठ हालका वरिष्ठ उपाध्यक्ष हुन् ।

अर्यालको प्यानलमा कांग्रेस, नेकपा एमाले, राप्रपा लगायत दल निकट उद्योगी व्यवसायीहरु समेटिएका छन् भने श्रेष्ठ प्यानलमा कांग्रेस निकट मात्रै छन् ।

अर्यालको प्यानलमा वरिष्ठ उपाध्यक्षमा टंकप्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिवमा मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्षमा वसन्त ढकाल, सचिवमा भेषराज गैरे र सहकोषाध्यक्षमा धनाकुमारी खनालको उम्मेदवारी घोषणा भएको छ । त्यस्तै श्रेष्ठ प्यानलबाट वरिष्ठ उपाध्यक्षमा टंक गैरे, उद्योग उपाध्यक्षमा नवीन श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिवमा बाबुराम विक, कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सचिवमा प्रतीक पोखरेललाई उम्मेदवार बनाइएको छ ।

श्रेष्ठको प्यानल

श्रेष्ठ प्यानलले बिहीबार र अर्याल प्यानलले शुक्रबार उम्मेदवारी सार्वजनिक गरेका हुन् । गैरे र भट्टराई दुवै प्यानलमा परेका छन् ।

अर्यालले प्यानलको प्रतिवद्धता जनाउँदै बुटवलको ब्यापार-व्यवसायलाई पहिलेकै अवस्थामा फर्काएर आर्थिक शहरको रुपमा विकास गर्ने, संघलाई सबै आस्था र विचारका व्यवसायीको साझा संस्था बनाउने बताए ।

व्यवसाय करको दर घटाउन, करको दायरामा नआएकालाई करको दायरामा ल्याउन, एकीकृत सम्पत्ति कर र बहाल करको मूल्याङ्कन र दरको मापदण्ड बनाई पुनमुल्याङकन गराएर समय सापेक्ष बनाउन प्रयत्न गर्ने, सामान ढुवानीमा लगाइएको भीसीटीएसप्रणाली परिमार्जनका लागि पहल गर्ने, मोतीपुर औद्योगिक क्षेत्र निर्माणलाई तीबब्रता दिन पहल गर्ने, एक सयरुपैयां भन्दा बढीको मालवस्तुको आयातमा लाग्दै आएको भन्सार महशुललाई निरन्तरताको लागि निरन्तर खवरदारी गर्ने प्रतिवद्धता अर्यालले जनाए ।

उता अर्को प्यानलका अध्यक्ष उम्मेदवार श्रेष्ठले बुटवल शहरलाई मुलुककै अन्य शहर एवं बजारहरुसंग प्रतिष्पर्धी बनाउन पहल गर्ने, ब्यवस्थित पार्किङको पहल गर्ने, ब्यवसायीमैत्री वातावरण गराउने, उपभोक्तालाई सिमावर्ती भारतीय बजार किनमेलमा जान रोक्ने गरी जागरण ल्याउने, बैंक र वित्तीय संस्थालाई वर्तमान आर्थिक मन्दीको अवस्थाबारे सरोकारवाला संस्थाहरुसंग समाधानको उपायबारे पैरवी गर्नेबताए ।संघमा एक हजार ७ सय ७८ व्यवसायी मतदाता छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?