+
+

विवेक ओझाको ऐँठनलाई मदन पुरस्कार, टेकवीर मुखियालाई जगदम्बा श्री

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते ११:१९

१४ असोज, काठमाडौं । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।

यसैगरी जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय भएको छ ।

मदन पुरस्कार र जगदम्बा श्री दुवैको पुरस्कारको राशी चार-चार लाख रुपैयाँ छ ।

ऐँठनमा माओवादी सशस्त्र आन्दोलनको बेला नेपाली समाजले भोगेको विषयवस्तु छ । ऐँठन विवेकको दोस्रो कृति हो । यसअघि उनले ऐलानी उपन्यास बजारमा ल्याएका थिए ।

‘मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो । यो पुरस्कारका लागि अन्तिम सूचीमा परेका उत्कृष्ट पाँच पुस्तकहरुमध्येबाट ऐँठन छनोट भएको हो । उत्कृष्ट पाँच पुस्तकको सूचीमा ऐँठनसहित सुविन भट्टराईको इजोरिया, द्वारिकनाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर थिए ।

२०७८ को मदन पुरस्कार नवराज लम्सालको अग्नि र जगदम्बा श्री पुरस्कार दुर्गाप्रसाद श्रेष्ठले पाएका थिए ।

टेकवीर मुखिया

२०७९ सालको जगदम्बा श्री पुरस्कार पाएका टेकवीर मुखियाले नेपाली वाङ्गमय क्षेत्रमा योगदान दिएका छन् । उनले थुप्रै पेन्टिङ बनाउनुका साथै पुस्तकहरुको कभर र बालपुस्तकहरुमा चित्रकथा कोरेका छन् । उनी गोरखा दक्षिणबाहु, राष्ट्रिय प्रतिभा पुरस्कार लगायतबाट सम्मानित भएका छन् ।

संघीय संसदको लोगोको डिजाइन पनि उनैले गरेका थिए । तर आफूले दिएको दुईवटा डिजाइनमध्ये ‘रफ’ डिजाइनलाई स्वीकृत गरिएको भन्दै उनले असन्तुष्टि जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?