+
+

सुन तस्करी छानबिन गर्न पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा आयोग गठन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते १६:१७

१४ असोज, काठमाडौं । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालत पोखराका पूर्व कामु मुख्य न्यायाधीश आचार्यको संयोजकत्वमा ४ सदस्यीय आयोग बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी सहकुल थापा, अर्थविज्ञका रुपमा अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजंग कार्की र गृह मन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी सदस्य रहेका छन् ।

आयोगले सुन पैठारी, तस्करी नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन दिनेछ ।

२ साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट ब्रेक सुमा लुकाएर ल्याएको सुन सिनामंगलबाट बरामद गरिएको थियो । ब्रेक सुबाट निकालेर गाल्दा उक्त सुनको तौल करिब ६२ किलो पाइएको थियो ।

उक्त घटनापछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद अवरोध गर्दै आएको थियो ।

६ भदौमा राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकले सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान सकेर अभियोजन भइसकेपछि ५ असोजमा जाँचबुझ आयोग गठन गर्ने सहमति गरेको थियो ।

तर दलहरुबीच आयोगको कार्यादेशको विषयमा विवाद हुँदा समयमा आयोग गठन हुन सकेको थिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीन भ्रमणबाट फर्केपछि आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको थियो ।

उक्त छलफलपछि बसेको मन्त्रिपरिषद बैठकले आयोग गठन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?