+
+

अनमोल रिहा भएपछि सुदर्शनको टिप्पणी : मोटो पारिश्रमिक माग्नुअघि आफूलाई पूर्णरुपमा तयार पार्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते ११:४६

काठमाडौं । फिल्म ‘रावायण’ विवादमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई प्रहरीले हाजिरी जमानीमा आइतबार राति रिहा गरेको छ । त्यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिनको म्याद थप गरेको थियो ।

१० लाख पेश्की लिएर फिल्म नखेलेको भन्दै निर्देशक सुदर्शन थापाको फिल्म कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट निमात्री सुप्रिया कटुवालले केसीविरुद्ध आपराधिक विश्वासघातको जाहेरी दिएकी थिइन् ।

अनमोल रिहा भएलगत्तै सामाजिक सञ्जालमार्फत निर्देशक थापाले घुमाउरो ढंगले अनमोललाई जवाफ दिन खोजेको देखिन्छ । उनले मोटो पारिश्रमिक माग्नुअघि आफूलाई पूर्णरुपमा तयार पार्न र आफ्नो कारणले निर्मातालाई पर्न सक्ने क्षतिप्रति गम्भीर बन्न आग्रह गरेका छन् ।

पेशागत धर्म र मर्यादामा रहन उनले आग्रह गरेका छन् । उनी लेख्छन्, ‘नैतिकता र मानवताको धर्मलाई आत्मसात गर्दै आफ्नो पेशागत धर्म र मर्यादामा रहन कलाकार भाइबहिनीलाई मेरो व्यक्तिगत सुझाव दिन चाहन्छु । मोटो पारिश्रमिक माग गर्नु भन्दा पहिला आफूलाई पूर्णतया तयार गर्न र तोकिएको समयसीमाभित्र आफूलाई हरेक पक्षबाट तयार गरी निर्माण टिमलाई आफ्नो कारण पर्न सक्ने क्षतिबाट जोगाउन विनम्र अनुरोध गर्दछु ।’

आफ्नो डेढ दशक लामो करिअरलाई धमिल्याउन खोज्ने प्रयास भइरहेको भन्दै क्रुद्ध सुनिएका छन् । ‘डेढ दशक लामो संघर्षपछिको छविलाई सहजै धमिल्याउन खोज्ने कार्यको प्रतिकार गर्न चाहन्छु,’ उनले लेखेका छन् ।

पछिल्लो प्रोजेक्ट ‘रावायण’लाई भइरहेको विवादमा समेत उनले प्रष्टीकरण दिएका छन् । उनी लेख्छन्, ‘कुनै पनि स्क्रिप्टमा मेरो पूर्ण चित्त बुझाइ र यसको भविष्यबारे आत्मविश्वास नभई त्यसको निर्माण प्रक्रियामा जाने अन्धाधुन्धको निर्णय गर्ने गल्ती मबाट अहिलेसम्म भएको छैन र हुने पनि छैन । तसर्थ मेरो पछिल्लो निर्माणाधीन चलचित्रका लागि मैले लामो समय खर्चिएको छु र कलाकार तथा प्राविधिकको छनोटमा समेत विशेष ध्यान दिएको छु ।’

उनी अगाडि लेख्छन्, ‘मैले कुनै पनि प्रोजेक्ट गर्दा मेरो टिम र कलाकारलाई काम गर्नका लागि सहज वातावरण निर्माण गरिदिने गरेको छु र अभ्यासका लागि भरपुर समय पनि दिने गरेको छु । तर हरेक योजना सम्पन्न गर्नका लागि हामीसँग निश्चित समय रहन्छ र त्यो समयसीमाभित्र हामीले सम्पन्न गर्नुपर्ने हुन्छ । मेरो अहिलेसम्मको व्यावसायिक यात्रामा मैले नयाँ तथा पुराना धेरै कलाकारसँग सहकार्य गरिसकेको छु । कलाकारको व्यावसायिक प्रक्रिया र पाउनुपर्ने पारिश्रमिकको अधिकारका विषयमा म सधैं सचेत रहने गरेको छु तसर्थ कसैलाई दबाब र अभावमा काम गराउने मेरो मनसाय छैन र मेरो ईमानलाई सुहाउँदैन पनि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?