
१५ असोज, काठमाडौं । चीनमा ठूलो मात्रामा घरजग्गा कारोबार गर्ने कम्पनी एभरग्रेनेडका मालिक ह्वे का यन कुनै बेला एशियाका धनाढ्य थिए । सो जियिनका नामले परिचित भद्र व्यापारीले घरजग्गा व्यवसायमा साम्राज्यनै खडा गरेका थिए । फोर्ब्स म्यागजिनले २०१७ मा प्रकाशित गरेको सूचिमा उनको सम्पत्ति ४२ अर्ब ५० करोड डलर उल्लेख थियो ।
यिनै धनाढ्यमाथि अहिले चीनमा वित्तीय अपराध सम्बन्धमा अनुसन्धान भइरहेको छ । यी धनाढ्यको कम्पनी एभरग्रेनेड हाल ३०० अर्ब डलर ऋणको बोझमा छ ।
को हुन् ह्वे का यन ?
सन् १९५८ मा गरिब परिवारमा जन्मिएका व्यक्ति हुन् ह्वे का यन । चीनको हेनन प्रान्तमा जन्मिएका उनलाई उनको हजुरआमाले हुर्काएकी थिइन् । सेप्सिस रोगका कारण आठ महिनामै आमाको निधन भएसँगै उनलाई हजुरआमाले हुर्काएकी हुन् । सन् १९८२ मा स्नातक सकेपछि उनले स्टिल उद्योगमा प्राविधिकका रुपमा काम गरे । त्यसको केही वर्ष उनले गोन्झाउमा घरजग्गा बिक्रेताका रुपमा काम गरे ।
सन् १९९६ मा उनले एभरग्रेनेड कम्पनी खोलेका थिए । उनको कम्पनीले निकै राम्रो कारोबार गरेपछि वित्तीय संस्थाले उनलाई ऋणका लागि पत्याउन थाले र एभरग्रेनेडमा लगानी बढाउन थाले ।
मिहिनेत र बुद्धिमताको संयोजनबाट धनी हुनसक्ने उदाहरण उनले पेस गरेको विज्ञहरु बताउँछन् । फ्रेन्च इनभेस्टमेन्ट बैंकका प्रमुख अर्थशास्त्री एलेसिया ग्रासिया हेरेर्रो भन्छन्, ‘मिहिनेत र बुद्धिमताको संयोजननै धनी हुने सूत्र रहेको स्थापित गर्न उनी सफल भए । यी दुई कुराको संयोजनबाट जो कोही पनि धनी हुनसक्ने उदाहरण उनले पेश गरे’, हेरेर्रोले भने ।
ह्वे तीन दशकदेखि चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य पनि थिए । सन् २००८ मा उनी राजनीतिक परामर्श समितिको सदस्यमा चयन भएका थिए । यस समितिमा सरकारी उच्चपदस्थ कर्मचारीका साथै व्यापारिक तथा अन्य विशिष्ट क्षेत्रका प्रतिनिधि रहने गर्छन् ।
त्यस बैठकमा उनले लगाएको पेटीमा सुनको खिप थियो । हर्मिज ब्रान्डको उक्त पेटी लगाएको फोटो सन् २०१२ मा सामाजिक सञ्जालमा भाइरल भएको थियो । ‘बेल्ट ब्रदर’ उपनाममा उनको नाममा धेरै व्यंग्य पोस्ट भएका थिए ।
विस्फोटक वृद्धि
सन् २००९ मा हङ्कङ्को शेयरबजारबाट एभरग्रेनेडले ९ अर्ब डलर उठाएको थियो । यो रकम एभरग्रेनेडको लागि अधिकतम लाभ रहेको वित्तीय मामिला जानकार ज्याक्सन चानको भनाइ छ । हङकङका घरजग्गा कारोबारीसँगको सरसंगतपछि नै एभरग्रेनेडमा लगानीको वर्षा भएको ज्याकसनको अवलोकन छ ।
‘हङकङका धनाढ्यहरुसँग जोडिएपछि एभरग्रेनेडमा लगानीको वर्षा भयो । हङकङको शेयर बजारमा सूचिकृत भएर उसले त्यहाँबाट अधिकतम लाभ उठायो’, उनले भने ।
ह्वेलाई साथ दिनका लागि हङकङका धेरै धनाढ्यहरुले त्यसको शेयर खरिद गरेका थिए । शेयरबजारबाट लगानी उठाएपछि एभरग्रेनेडले बनाउँदै नबनाएको अपार्टमेन्ट पनि अग्रिम रुपमा बेच्न थाल्यो । यथास्थितिको कुरा गर्ने हो भने चीनको २८० सहरमा एभरग्रेनेडको १३ सय परियोजना छन् । ह्वेले आफ्नो कारोबार घरजग्गामा मात्रै सीमित गरेका छैनन् । सम्पत्ति व्यवस्थापन, विद्युतीय कार उत्पादन र खाद्यान्न तथा पेय पदार्थ उद्योगमा पनि उनले हात हालेका छन् । चीनको फुटबल क्लब ग्वान्झाओ एफसीमा पनि उनको लगानी छ ।
कसरी पतन हुन पुगे ?
सन् २०२० मा सरकारले घरजग्गा कारोबारीका लागि ऋणको सीमाबारे नयाँ नियम ल्यायो । यो नियमका कारण एभरग्रेनेडले ऋण चुक्ताका लागि छुटमा घरजग्गा बेच्नुपर्यो । यसको प्रभाव शेयर बजारमा पनि देखियो ।
उसको शेयरको मूल्य ९९ प्रतिशत सम्म घट्न पुग्यो र एभरग्रेनेड ३ अर्ब २० करोड डलर ऋणको बोझमा पर्यो । हङकङको शेयर बजारमा उसले कारोबार गर्न छोड्यो । अहिले ह्वेलाई चीनमा सरकारी निकायले वित्तीय अपराधमा अनुसन्धान गरिरहेको छ ।
उनले वित्तीय संस्थाबाट ऋण लिएर परियोजनामा नभई व्यक्तिगत ऋण तिरेको आरोप लगेको छ । उनीमाथिको अनुसन्धानलाई कतिपयले प्रशंसा गरेका छन् । राष्ट्रपति सी जिनपिङको साझा समृद्धिको नीतिले आर्जनको खाडल घटाउने नीति लिएकाले विशाल सम्पत्ति आर्जन गरेकामाथि अनुसन्धान अघि बढिरहेको कतिपयको मत छ ।
ह्वेकाको जीवनशैली निकै भव्य रहेको जानकारहरु बताउँछन् । ‘आकर्षक र भव्य जीवनशैली बाँचिरहेका ह्वे निजी विमानमा विश्व घुम्थे । चरम धनीको प्रतीक उनलाई मान्न सकिन्थ्यो’, उनीबारे जानकार डेक्स्टर रोबर्ट भन्छन् ।
एभरग्रेनेडको पतनमा सीको कठोर टिप्पणी
एभरग्रेनडको पतनमा राष्ट्रपति सीले कठोर टिप्पणी गरेका छन् । यस कम्पनीको पतनबारे आफूलाई कुनै वास्ता नरहेको उनले प्रतिक्रिया दिएका छन् । ‘एभरग्रेनेडको पतनबारे मलाई कुनै वास्ता छैन । यस विषयमा मैले किन ख्याल राख्नुपर्यो’, व्यवसायीहरुसँगको छलफलमा उनले भन्ने गरेका छन् ।
अकूत सम्पत्ति आर्जन गरेकै कारण इभरग्रेनेड सी प्रशासनको निगरानीमा रहको रोबर्ट बताउँछन् । ‘अकूत सम्पत्ति आर्जन गरेका ह्वे अर्थतन्त्र र समाजका लागि राम्रो नरहेको बुझाइ सीको थियो । यसैपनि उनले अकूत सम्पत्ति आर्जन गरेकामाथि अनुसन्धान अघि बढाइरहेका थिए । ह्वे निशानामा पर्नु अस्वभाविक थिएन’, उनले भने ।
ह्वेमाथिको अनुसन्धानबारे कुनै पनि आधिकारिक जानकारी आएको छैन । तर ग्लोबल टाइम्सले सीले साझा समृद्धिको नीति र आम मानिसको चासोलाई उच्च प्राथामिकतामा राखेको लेखेको छ ।
‘एभरग्रेनेडसँग घरजग्गा खरिद गरेकाहरुको नोक्सान कम गर्नुनै अहिलेको प्राथामिकता हुने र कानुन अनुसार कारबाही अघि बढाएर जनतालाई उनीहरुको सम्पत्तिको सुरक्षाबारे निरन्तर जानकारी दिनुनै अहिलेको प्राथामिकता हुने कुरा त्यसका पूर्व सम्पादकले उल्लेख गरेका छन् ।
प्रतिक्रिया 4