+
+

बाबुल गिरीको संगीतमा ‘दिमाग खराब’को नयाँ गीत : निश्चलदेखि स्वस्तिमासम्म फिचर्ड

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते २१:४२

काठमाडौं । निर्देशक निश्चल बस्नेत आगामी फिल्म ‘दिमाग खराब’लाई लिएर सोमबार आयोजित एक प्रेसमिटमा आशावादी सुनिए । ‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता हिट फिल्म निर्देशन गरेका उनले आगामी फिल्मलाई करिअरको एक महत्वपूर्ण प्रोजेक्टको रुपमा ब्याख्या गरे ।

उनले यो फिल्म राजनीतिक कथावस्तुमा आधारित नभएर सोसल-ड्रामा भएको बताए । ‘यसमा राजनीतिक तत्व पक्कै छन् । तर, यो राजनीतिक फिल्म होइन । यो सोसल ड्रामा हो’ उनले भने, ‘यसमा आममान्छेको संघर्ष र आक्रोशको कथा छ । राजनीतिक एलिमेन्ट मात्र समावेश गरेका हौं ।’

उनले परिवार पाल्न संघर्ष गरिरहेको पात्रले परिस्थितीअनुसार कसरी संघर्ष गर्न बाध्य हुन्छ भन्ने कथावस्तुलाई चित्रण गरेको बताए । ‘मभित्र धेरै समयदेखि राजनीति र समाज अनेकथरि कुरा खेलिरहेका थिए । त्यही कुरालाई फिल्मको रुप दिएको हुँ । फिल्मलाई लिएर म आशावादी पक्कै छु’ संचारकर्मीको प्रश्नमा उनले भने ।

अभिनेता खगेन्द्र लामिछानेले निर्देशक निश्चल र आफू असल साथी भएको बताए । ‘हामी एउटा एक्टर र डिरेक्टरभन्दा माथि एक असल साथी हौं’ खगेन्द्रले भने, ‘उसको निर्देशनलाई मैले अक्षरशः सक्नेजति काम गरेको छु ।’ आफूले एक आममान्छेको भूमिका यसमा चित्रण गरेको उनले बताए ।

अभिनेत्री स्वस्तिमा खड्काले निर्देशकको रुपमा बस्नेतसँग पहिलोपटक सहकार्य गर्दाको अनुभव सुनाइन् । उनले श्रीमानको मातहतमा रहेर काम गर्दाको अनुभव सेयर गर्दै निश्चल आफूले अहिलेसम्म संगत गरेका निर्देशकभन्दा धेरै सजिलो, कुल र चील मान्छे भएको भन्दै प्रशंसा गरिन् ।

अभिनेत्री सुपुष्पा भट्टले निश्चलसँग आगामी प्रोजेक्टहरुमा सहकार्य गर्न मन लागेको बताइन् । निर्माता रौनकविक्रम कँडेलले पत्नी समेत रहेकी सुपुष्पालाई किन हिरोइनको भूमिकामा नलिएको भन्नेबारेका जिज्ञासाको उत्तर दिएका दिए । कास्टिङमा आफूले निर्देशकलाई हस्तक्षेप नगरेको जवाफ उनको थियो ।

बाबुल गिरीको संगीतमा ‘झम्के झमा झम्’

सोमबारको पत्रकार सम्मेलन फिल्मको नयाँ गीत सार्वजनिक गर्ने उद्देश्यले आयोजना गरिएको थियो । ‘झम्के झमा झम्’ नामक यो प्रमोसन गीतलाई पछिल्लो छिमलका चर्चित संगीतकार बाबुल गिरीले कम्पोज गरेका हुन् ।

यो डान्सिङ ट्रयाकमा प्रशस्तै देशभक्ति गीतमा स्वर दिएका सुमित खड्का र नम्रता काफ्लेले आवाज दिएका छन् । गीतमा निर्देशक बस्नेतसहित स्वस्तिमा, दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल लगायत फिचर्ड छन् । निर्देशक बस्नेतले यो गीतलाई फिल्ममा पनि समेट्नेबारे आफूहरुले विचार गरिरहेको बताएका थिए ।

सिनेमा आर्ट र ब्ल्याकहर्स पिक्चर्सको ब्यानरमा निर्माण गरिएको यो फिल्म तिहार छेकोमा कात्तिक २४ गतेदेखि प्रदर्शन हुँदैछ ।

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?