+
+

प्रधानमन्त्रीलाई ओलीको अल्टिमेटम : आगामी मन्त्रिपरिषद्‍बाट फागुन १ को बिदा फिर्ता लिनुस्

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १४:३४

१६ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जनयुद्ध दिवस’ भनेर फागुन १ मा दिइएको सार्वजनिक बिदा फिर्ता लिन सरकारलाई अल्टिमेटम दिएका छन् । आगामी मन्त्रिपरिषद्को बैठकले यो फिर्ता नलिए माओवादीले युद्ध त्यागेको छैन भन्ने प्रष्ट हुने उनको तर्क छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको बेला शान्ति प्रक्रिया टुंग्याउन खोज्दा प्रचण्डको साथ नपाएको पनि बताए ।

प्रचण्डले शान्ति प्रक्रियालाई सत्ता प्राप्तिको भ¥याङ बनाएको भन्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्री, युद्धका घाउ–खाटा सदाका लागि निको पारौं भन्ने हाम्रो प्रयासलाई असफल पारेर परिस्थितिलाई भड्काउने दाउमा हुनुहुन्छ । शान्ति प्रक्रियाको टुंगो होइन, युद्धको प्रक्रियाको सुरुवात गर्न खोज्दै हुनुहुन्छ ।’

हिजोको कुरा बिर्सिएर मेलमिलापका साथ अगाडि बढ्नुपर्ने बेला प्रधानमन्त्री प्रचण्डले हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय उत्सवका रूपमा घोषणा गरेको उनले बताए । ‘भोज खाऊ, बाजा बजाऊ, नाच भनेर राष्ट्रिय बिदा घोषणा गर्नुभयो’ उनले भने, ‘एक वर्षका लागि होइन, सधैं–सधंैका लागि । यो बिदा मान्य छैन !’

माघ मसान्तमा आफूहरूको विरोधका बाबजुद सरकारले यस्तो निर्णय गरेको उनले बताए । त्यो बेला आफू स्वयंले प्रधानमन्त्रीलाई घाउको खाटा उप्काएर नुनचुक लगाउने काम किन गर्ने भन्दै रोक्न खोजेको भन्दै उनले अघि भने, शहीदका बच्चाबच्ची पढाउने जिम्मा नलिने, तिनका अगाडि उत्सव मनाउने ? घाइतेको उपचार नगर्ने, तपाईंले उत्सव मनाउनुपर्ने ?’

तर प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सल्लाह गरिसकें, निर्णय गर्छु भनेको उनले स्मरण गरे । ‘उहाँले बलजफ्ती बिदा घोषणा गर्नुभयो, र हामी शान्तिका प्रयास गर्नेहरूलाई मुहतोड जवाफ दिनुभयो’, ओलीले भने ।

यसपटक पनि फागुन १ मा सार्वजनिक बिदा राखिएको भन्दै एमाले अध्यक्ष ओलीले हिंसा सुरु भएको दिनलाई राष्ट्रिय उत्सव मनाउन आफूहरू तयार नरहेको बताएका छन् । ‘यो आउने मन्त्रिपरिषद्‍बाट त्यो निर्णय फिर्ता गर्नुस्’ जेसुकै कारणले होस्, द्वन्द्व उचित नभएको भन्दै उनले चेतावनीपूर्ण भाषामा भने, ‘बिदा रद्द गर्नुहुन्न भने हामीले यसका विरुद्ध कदम चाल्नुपर्ने हुन्छ ।’

पीडितहरूलाई रुवाएर, उनीहरूको घाउमा नुनचुक लगाउने क्रममा शान्ति प्रक्रिया अगाडि जान नसक्ने उनले बताए । ‘आगामी मन्त्रिपरिषद् बैठकले यसलाई फिर्ता गरोस् । बट इफ छैन, क्लियर भाषामा भन्छु’ उनले भने, ‘यदि फिर्ता लिंदैन भने यसले उहाँले युद्ध त्याग्नुभएको छैन भन्ने स्पष्ट हुन्छ । शान्ति र संविधानलाई ट्याक्टिकल युज मात्र गर्नुभएको हो भन्ने देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?