+
+
एमाले गण्डकी अधिवेशन :

गण्डकीमै पृथ्वीसुब्बा गुरुङलाई एक्ल्याउन शंकर पोखरेल सक्रिय

अमृत सुवेदी अमृत सुवेदी
२०८० असोज १६ गते २०:३६
एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव पृथ्वी सुब्बा गुरुङ ।

१६ असोज, पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना लगभग सकिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको नेताहरुले बताए पनि तयारी भने प्यानलगत उम्मेदवारी दिने भइरहेको छ ।

अर्थात् अधिवेशन सकिएका अरु प्रदेशजस्तै गण्डकीमा पनि दुई प्यानलबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीबीच पुरानै प्रतिस्पर्धा रहेकाले पनि गण्डकीमा सर्वसम्मति सजिलो थिएन ।

अझ यी दुई नेताबीचको तकराबमा पार्टी नेतृत्वको स्वार्थ समेत जोडिएपछि सर्वसम्मतिको सम्भावना झनै न्यून भयो । नेताहरुका अनुसार, उपमहासचिव गुरुङले साथ दिने उम्मेदवारलाई रोक्न महासचिव शंकर पोखरेल आफैं सक्रिय भएपछि अधिवेशन रोचक बन्न पुगेको छ ।

गण्डकीकै नेता गुरुङ अहिलेका प्रदेश अध्यक्ष नवराज शर्मालाई एकपटक अवसर दिनुपर्ने पक्षमा उभिएपछि महासचिव पोखरेल फरक प्यानल निर्माणमा सक्रिय भएका छन् । स्रोतका अनुसार, अधिकारीकै उम्मेदवारलाई साथ दिएका महासचिव पोखरेल खुलेरै गुरुङलाई एक्ल्याउन लागिपरेका छन् ।

त्यसका लागि पोखरेलले गण्डकीका नेताहरु पद्‍मा अर्याल, किरण गुरुङ र खगराज अधिकारीलाई सोमबार राति एकैठाउँ राखेर छलफल गरे । ‘सकेसम्म सर्वसम्मत बनाऔं कमरेडहरु, नत्र हामी एक भएर एकताको सन्देश दिउँ’, पोखरेलको प्रस्ताव थियो ।

पार्टी सचिव पद्‍मा र स्थायी कमिटी सदस्य गुरुङले खगराज अधिकारीलाई साथ दिए पृथ्वीसुब्बाका उम्मेदवारले नजित्ने हिसाब महासचिव पोखरेलले सुनाएका थिए ।

महासचिव पोखरेलले पद्‍मा, किरण र खगराज मिल्दा चुनाव जितिने भएकाले पनि त्यसैअनुसार अगाडि बढ्न प्रस्ताव गरेका थिए । यो समूहबाट मायानाथ अधिकारीलाई सर्वसम्मत प्रदेश अध्यक्षको प्रस्ताव लैजाने र सहमति नजुटे चुनावबाट जित्नेबारे छलफल भएको ती स्रोत बताउँछन् ।

एमालेको गण्डकी प्रदेश कमिटीको अध्यक्षका आकांक्षी नवराज शर्मा (बाँया) र मायानाथ अधिकारी पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग ।

पृथ्वीसुब्बालाई एक्ल्याउन रश्मी आचार्यलाई सचिवको उम्मेदवार बनाउने रणनीति महासचिव पोखरेलले नै निकालेको एक नेता बताउँछन् । पृथ्वीसुब्बाले अहिलेकै प्रदेश सचिव धनञ्जय दवाडीलाई फेरि दोहोर्‍याउने तयारी गरेकाले आचार्य पनि प्यानल फेरेर उम्मेदवार बन्न तयार भएको उनी बताउँछन् । रश्मीलाई मनाउन ब्यवसायी पुष्पज्योति ढुंगानालाई अगाडि बढाइएको थियो ।

सचिव पद्‍मा अर्याल र स्थायी कमिटीका नेता किरण गुरुङले भने महासचिव पोखरेलको प्रस्तावबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । तर बिस्तारै पृथ्वीसुब्बासँगको दुरी भने केही समय अघिबाटै उनीहरुले बढाउँदै लगेका थिए ।

चुनाव हुँदा एउटालाई रोज्नुपर्ने परिस्थिति आएपनि कुनै गुटमा आफू नरहेको सचिव पद्‍मा बताउँछन् । ‘महासचिवले यसलाई बनाऔं भन्नुभएको छैन, व्यक्ति होइन पार्टी दह्रोसँग उभिनुपर्छ भन्ने मेरा मान्यता हो’, उनी भन्छिन् ।

यसअघि पद्‍माले पृथ्वीसुब्बालाई साथ दिदै आएकी थिइन् । २०७८ को दशौं राष्ट्रिय महाधिवेशनका बेला सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेल पक्षमा पृथ्वीसुब्बा गुरुङ उभिँदा पनि पद्‍माले साथ दिएकी थिइन् ।

जबकी त्यसबेला पनि पृथ्वीसुब्बासँग खगराजको चर्को टकराब थियो भने खगराजले ईश्वर पोखरेल र शंकर पोखरेल पक्षलाई साथ दिएका थिए । तर पद्‍मा र किरणको समेत साथ पाउँदा पृथ्वीसुब्बाको पालिका, जिल्लादेखि प्रदेशसम्म बलियो पडक बनेको थियो ।

पृथ्वीसुब्बाको त्यही पकड तोड्न खगराजलाई महासचिव पोखरेलले खुलेर साथ दिएको एक नेता बताउँछन् । त्यसका लागि खगराजकै पक्षमा किरण र पद्‍मालाई उभ्याउन पूर्व मालेको कार्ड फालिएको ती नेता बताउँछन् ।

पृथ्वीसुब्बा नजिक रहेका अरु नेतालाई पनि खगराजको कित्तामा उभ्याउने प्रयास भइरहेको उनी बताउँछन् । त्यही प्रयत्नकै कारण पृथ्वीसुब्बा मुख्यमन्त्री हुँदा उनको मन्त्रिपरिषदमा भौतिक पूर्वाधार मन्त्री एवं प्रवक्ता बनेका रामशरण बस्नेत र राजनीतिक सल्लाहकार बनेका गोविन्द नेपाली अहिले खगराजको कित्तामा उभिएका छन् ।

नेपालीलाई खगराजले प्रदेशसभामा संसदीय दलको प्रमुख सचेतक बनाएका छन् । कित्ता परिवर्तनकै क्रममा युवा संघ नेपालका पूर्वअध्यक्ष राजीव पहारीले पनि खगराजलाई साथ दिएका छन् । महासचिव पोखरेलले जिल्ला अध्यक्षहरुलाई पनि फकाइरहेका छन् । ‘सक्षम भन्नुको मतलब मैले रोजेको भन्ने महासचिवको कुरा रहेछ’, एक जिल्ला अध्यक्षले भने ।

तर महासचिव पृथ्वीसुब्बा गुरुङ पक्षका नेताहरु भने अझैपनि चुनाव जित्ने मनोविज्ञानमा छन् । ‘प्रतिनिधिहरुले बुझेका छन्, पृथ्वीसुब्बाले गलत कामको विरोध पनि गर्छन् र जायज उम्मेदवारालाई पनि साथ दिन्छन्’, यो समूहका एक नेता भन्छन् ।

सबै नेता उभिए पनि हराउन नसक्ने उनको दाबी छ । ‘सबै नेता अर्कोतिर हुँदा हारे पनि ठूलो असर नपर्ला, तर प्रतिनिधिको विश्वास र मतले जित्ने सम्भावना अधिक छ’, उनी भन्छन् । तर पार्टी महासचिवकै नेतृत्वमा भइरहेको प्रयासलाई हराउनु ऐतिहासिक सफलता समेत हुने ती नेता तर्क गर्छन् ।

तर महासचिव पोखरेलले पनि गण्डकीको अधिवेशनलाई महत्वका साथ हेरेको देखिन्छ । किनकि अहिलेसम्म सकिएका अधिवेशनहरु मध्ये दुई प्रदेशमा हार र दुई प्रदेशमा मात्रै पोखरेलले समर्थन गरेको उम्मेदवारले अध्यक्ष जितेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथ लिएर प्यानलगत उम्मेदवार बनाएर चुनाव लड्दा कोशी र बागमतीमा जितेपनि कर्णाली र लुम्बिनीमा पोखरेलका उम्मेदवार पराजित भएका छन् । अन्य प्रदेशको चुनावी लहरअनुसार गण्डकीमा पनि ओली–पोखरेलले चाहेको व्यक्तिमा सर्वसम्मत नहुने प्रस्ट छ ।

तर चुनावबाटै गण्डकीको नतिजा आफ्नो पक्षमा ल्याउन महासचिव पोखरेल लागिपरेका छन् । पोखरेल काठमाडौं फर्किएपनि उनका तर्फबाट अरु नेताहरुले सम्वाद गरिरहेका छन् । गण्डकीको नेतृत्व चयन गर्न ९०७ प्रतिनिधि सहभागी छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?