
१६ असोज, नेपालगञ्ज । धार्मिक तथा सामाजिक सद्भाव भड्कन सक्ने संभावित संकेत देखिएपछि स्थानीय प्रशासनले नेपालगञ्जमा अनिश्चित कालीन कर्फ्यू जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले वक्तव्य जारी गरी आज मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेका हुन् ।
हिन्दू र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएकाले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकासम्म कर्फ्यु लगाइएको छ । कर्फ्यूसँगै नेपाली सेना परिचालन गरिएको छ । ‘प्रशासनलाई सहयोगका लागि सेना खटिएको हो’ जंगीअड्डाका सूचना तथा जनसम्पर्क निर्देशनालय प्रमुख सहायक रथी कृष्णप्रसाद भण्डारी भन्छन् ।
प्रशासनको निर्णय बमोजिम सेनाको टोलीले पट्रोलिङ गरिरहेको छ । अनिश्चितकालका लागि कर्फ्यू लगाउनुपर्ने परिस्थिति भने केही दिन यता नेपालगञ्जमा हिन्दू र मुस्लिम समुदायले गरिरहेको प्रदर्शन हो । एकअर्कालाई देखाउने गरी निस्कने प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति तोडफेड, ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायत हुन थालेपछि सम्भावित संकट रोक्न कफ्र्यू लगाउनुपरेको प्रशासनले जनाएको छ ।
स्टाटसबाट सुरु भएको तनाव
सेना परिचालनसहित कर्फ्यू लगाउनुपर्ने परिस्थितिको थालनि भने अमूक व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस कारण थियो ।
बाँके नरैनापुरका युवक जार्बुद यादवले फेसबुकमा इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदको नाम जोडेर स्टाटस लेखेका थिए । धेरै फलोअर्स नभएका र सार्वजनिक परिचय सामान्य रहेका ती युवकको स्टाटस मुस्लिम समुदायमा विस्तारै फैलियो । मुस्लिम डे (११ असोजमा) कै दिन उक्त स्टाटस लेखिएकाले मुस्लिम समुदायले आपत्ति जनाए ।
आफ्नो धर्मका प्रतीक पैगम्बर मोहम्मदप्रति गरिएको टिप्पणीलाई लिएर मुस्लिम युवाहरुले आक्रोशित बने । ती युवाहरुको आक्रोशलाई नेपालगञ्ज महानगरपालिका–५ का वडाध्यक्ष सराफत खानले साथ दिए । उनले आफ्नै नेतृत्वमा १४ असोजमा मुस्लिम युवाहरुको प्रदर्शन उतारे । बीपी चोक क्षेत्रमा टायर बाल्ने, उग्रनाराबाजी गर्नेदेखि जिल्ला प्रशासन कार्यालयभित्र पुगेर झण्डा गाडे ।
तर यति भइसक्दासम्म प्रशासनले कुनै पहलकदमी लिएन । त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्रका प्राध्यापक डा.जर्नादन आचार्य, प्रशासनले समयमै पहलकदमी लिएका थिए भने अहिलेको परिस्थिति नआउन सक्ने देख्छन् ।
यसको भोलिपल्टै, १५ असोजमा बल्ल प्रशासनले सर्वपक्षीय बैठक बोलायो । बैठकले तनाव बढेको विश्लेषण गरी सद्भाव र्याली निकाल्ने निर्णय गर्यो । यो बेलासम्म हिन्दूवादी धार्मिक संस्था ओमकार परिवारले बन्द आह्वान गरिसकेको थियो । सद्भाव र्याली निकाले पनि हिन्दूहरुको बन्द आह्वान र प्रदर्शन रोकिएन ।
ओमकार परिवारले ठूलो संख्यामा र्याली निकाल्यो । प्रशासनका अनुसार, यो प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायत भयो । हिन्दू राज्य र गौ हत्या बन्द गरिनुपर्ने मागसहित बागेश्वरी मन्दिरको पूर्वी गेटबाट निस्किएको प्रदर्शन सेतु बिक चोक, धम्बोझी चोक हुदै बीपीचोक पुगेर शान्त भएको थियो ।
बीपी चोकबाट त्रिभुवन चोकतर्फ जाने क्रममा दुई पक्षबीच झडप नै भयो । बीपी चोक र इदगाह रोड क्षेत्रमा दुई पक्ष आमनेसामने भएर ढुंगा हानाहान भयो । अवस्था नियन्त्रण लिन प्रहरीले हवाई फायर गर्यो, भागदौड र ढुंगा हानाहानमा करीब एक दर्जन घाइते भए ।
धार्मिक आस्थाको प्रतीकप्रति फेसबुकमा तथानाम लेख्नेलाई प्रशासनले नियन्त्रणमा नलिनु नै यो तहको तनावको कारण बनेको प्रा.डा. जनार्दन आर्चायको बुझाइ छ । ‘तराईका संदेशनशील जिल्लाहरुमा सीडीओ र एसपी खटाउँदा अनुभवी र सक्षम खटाउनुपर्ने हो, तर त्यस्तो नहुँदा परिस्थिति बिग्रिन पुग्यो’, उनी भन्छन् ।
भारतको मणिपुर मात्रै नभएर पूर्वी नेपालकै धरान र सर्लाहीको घटनाबारे स्थानीय प्रशासन सचेत नहुँदा पनि नेपालगञ्ज तनावपूर्ण बन्न पुगेको आचार्य बताउँछन् ।
प्रतिक्रिया 4