+
+

कर्फ्युपछि नेपालगञ्ज शान्त

मर्निङमा निस्किएकालाई घर फर्काउन र नाकामा अलपत्र परेकालाई नेपालगञ्ज कटाउन प्रहरी व्यस्त

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १०:०७

१७ असोज, काठमाडौं । कर्फ्युपछि बाँकेको नेपालगञ्ज आज बिहानसम्म शान्त छ ।

हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले हिजो दिउँसो एक बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो ।

कर्फ्युका कारण सीमा नाकामा रोकिएकाहरुलाई प्रहरीले उद्धार गरी नेपालगञ्ज कटाइदिने गरेको छ । नाकामा रोकिएकाहरुलाई प्रहरीले गाडीको व्यवस्था गरेर नेपालगञ्ज क्षेत्र कटाइदिने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी नारायण डाँगीले जानकारी दिए ।

प्रहरीका अनुसार आज बिहानसम्म कर्फ्यु उल्लंघनका घटना भएका छैनन् । यद्यपि केही व्यक्तिहरु मोर्निङ वाकमा निस्किएको देखिएको थियो । त्यस्ता व्यक्तिहरुलाई सम्झाइ बुझाइ घर पठाइएको प्रवक्ता डाँगीले बताए ।

स्थानीय प्रशासन ऐन २०२८ को ६ (क)मा कुनै ठाउँमा आन्दोलन वा हुलदंगा भई शान्ति भंग हुन सक्ने देखिएमा परिस्थितिको विचार गरी प्रमुख जिल्ला अधिकारीले त्यस्तो स्थानको सिमाना तोकी कर्फ्यु लगाउन सक्ने व्यवस्था छ ।

कर्फ्युको बेला आवत-जावत गर्न, भेला हुन र तोकेको अरु कुनै काम गर्न पाइँदैन । कर्फ्यु आदेश उल्लंघन गर्ने व्यक्तिलाई गिरफ्तार गर्नेदेखि गोली चलाउनेसम्मको अधिकार प्रहरीलाई हुन्छ । गिरफ्तार गरिएका व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले एक महिनासम्म कैद वा एक हजार रुपैयाँ जरिवाना वा दुवै सजायँ दिन सक्छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डाँगी भन्छन्, ‘कर्फ्यु उल्लंघन नगर्न भनेर हामीले माइकिङ पनि गरिरहेका छौं । तर केही व्यक्ति मोर्निङवाकमा निस्किएको पनि देखियो । बन्द र कर्फ्यु छुट्याउन नसकेको जस्तो बुझियो ।’ उनले कर्फ्युको बेला घरभित्र नबसेर बाहिर निस्किनेहरुलाई कानुनी व्यवस्थाको समेत जानकारी गराएर घरमै पठाउने गरिएको बताए ।

तस्वीर सौजन्य : आलम खानको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?