
काठमाडौं । दशैं सुरु हुन दुई साताभन्दा कम समय बाँकी छ । दशैंलाई लक्षित गरी स्वदेशी र ठूला विदेशी फिल्म नेपाली हलमा रिलिज हुनेछन् । ‘फेस्टिभ मुड’मा फिल्म ल्याउन निर्माताबीच मरिहत्ते पनि हुन्छ । यस्तोमा केही प्रतीक्षित फिल्मले दशैंको बक्स अफिसलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।
दशैंको फूलपातीमा नेपाली फिल्म ‘भष्मे डन’ रिलिज हुँदैछ । ‘पशुपति प्रसाद’को दोस्रो श्रृंखला भएकाले पनि दर्शकमाझ यो फिल्म प्रतीक्षित छ । एकातिर हिट फिल्मको सिक्वेल र अर्कोतिर टिजरले सिर्जना गरेको हाइप हेर्दा ‘भष्मे डन’को कमाइ आक्रामक हुन सक्छ । विदेशमा समेत फिल्मले बुकिङ थालेको छ ।
सोही मितिमा टाइगर श्राफ स्टारर हिन्दी फिल्म ‘गणपत’ र दक्षिण भारतीय अभिनेता थलापति विजय स्टारर ‘लियो’ पनि प्रदर्शन हुँदैछन् । यी तीनै फिल्म आ–आफ्नो ठाउँमा प्रतीक्षित हुन् । एकसाथ फिल्म आउँदा यसले शो र ‘फुटफल’लाई असर पार्ने भए पनि अन्ततः दर्शकीय वर्ड अफ माउथ प्रमुख हुन आउँछ ।
दशैंको रिलिज सुरुवात चाहिं असोज २६ गते नारायण रायमाझी निर्देशित ‘परदेशी २’ र ‘बासेन्जी’बाट हुनेछ । यसअघि परदेशी र गोर्खापल्टनजस्ता हिट फिल्म पस्किएका रायमाझीसामु ‘परदेशी’को दोस्रो श्रृंखलामार्फत ह्याट्रिक गर्ने अवसर छ । भिन्नता के छ भने ‘परदेशी’ र ‘गोर्खापल्टन’ त्यतिबेला सिंगल थिएटरमा हिट भएका हुन् । अहिले सिंगल थिएटरको जमाना छैन । मल्टिप्लेक्स हलको दबदबाबीच दर्शकले कसरी ‘परदेशी २’ लाई ग्रहण गर्नेछन् भन्ने कुराले यसको व्यावसायिक भविष्य निर्भर हुनेछ ।
‘छड्के २’बाट अभिनयमा डेब्यु गरेका अमेरिकी निर्देशक तथा फिल्मका विद्यार्थी इयान क्लेमेन्टको फिचर ‘बासेन्जी’को लक्ष्य व्यावसायिकभन्दा समीक्षा राम्रो आइदेओस् भन्ने हो ।
दशैंपछि तिहार फिल्म प्रदर्शनको अर्को आकर्षक समय हो । तिहार छेकोमा कात्तिक २४ गते निश्चल बस्नेतले ‘दिमाग खराब’ रिलिज गर्दैछन् । सोही मितिमा सलमान खान स्टारर बलिउड स्पाइ थ्रिलर ‘टाइगर ३’ प्रदर्शन हुँदैछ । एक किसिमले यसलाई निर्देशक बस्नेतले जोखिम उठाएको पनि भन्न सकिन्छ । तर वर्ड अफ माउथ सकारात्मक आएको खण्डमा यो अवसर समेत हो । किनभने यी दुवै फिल्म दर्शकमाझ प्रतीक्षित छन् ।
अवसर र चुनौतीको यो बीचमा नेपाली फिल्मको दशैं-तिहार गुज्रिनेछ । अवसर यो अर्थमा कि दर्शकको समीक्षा सकारात्मक आएको खण्डमा नेपाली फिल्मको व्यापारमा उछाल आउन सक्छ । चुनौती यस अर्थमा कि ठूला विदेशी फिल्म पनि एकसाथ आउने भएकाले दर्शकलाई हलसम्म तान्न सक्नु सजिलो छैन ।
प्रतिक्रिया 4