
१७ असोज, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले प्रदेशमा सरकार गठन र विघटन म्यूजिकल चेयर खेलजस्तो भएको टिप्पणी गरेका छन् ।
गत वर्ष फागुन १५ मा प्रदेशको नामकरणपछि दलहरु म्युजिकल चेयर खेलमा व्यस्त भएको धारणा राखेका हुन् । ‘कोशी प्रदेशमा अहिले हामी म्युजिकल चेयर खेल्नमात्रै व्यस्त भयौं’, बुधबार प्रदेशसभा बैठकमा थापाले भने, ‘जम्माजम्मी हामीले प्रदेशको नाम राख्यौं, बाँकी समय म्युजिकल चेयर खेल्नमा ब्यस्त भयौं ।’
प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्षको कुर्सी बदल्ने काममात्र भएको पूर्वमुख्यमन्त्री थापाले बताए । प्रदेश अहिलेको अवस्थाबाट मुक्त हुन मिलेर अघि बढ्नुको विकल्प नभएको उनको धारणा छ । ४ मंसिरमा भएको प्रदेशसभा निर्वाचनपछि कोशीमा एमाले नेतृत्वमा सरकार बनेको थियो । एमाले सरकारलाई माओवादी केन्द्र र जनता समाजवादी पार्टट्ठीले साथ दिएको थियो ।
तर माओवादी र जनता समाजवादी पार्टीले एमाले नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएपछि एमाले नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए । त्यसपछि माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्गनमा कांग्रेसका उद्धव थापा मुख्यमन्त्री भएका थिए ।
उनले प्रदेशसभाको अध्यक्षता गरेको व्यक्तिको समेत समर्थनमा विश्वासको मत पाउनु असंवैधानिक भनी सर्वोच्चले फैसला गरेपछि पदमुक्त भएका थिए । त्यसपछि प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुन एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका छन् ।
कांग्रेस नेता थापाले कार्कीले विश्वासको मत नपाउने र पुन: अर्को सरकार गठन गर्नुपर्ने अवस्था आउने पनि बताए । उनले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन गर्दा दलहरूले मिलेर जानुपर्ने बताएका हुन् ।
थापाले भने, ´सरकार बन्न सकेन भने मध्यवधि रोकेर रोक्न सकिन्न, अहिले मध्यावधिमा जान सक्ने अवस्था छैन, दलहरु पनि तयार छैनन् ।’
प्रतिक्रिया 4