
१७ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार रहिरहे सबै रुपमा राष्ट्र कमजोर हुने बताएका छन् ।
नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको वर्तमान सरकार रहिरहे मुलुक थप बर्बादीतर्फ जाने उनले बताएका छन् । कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य रहेको बताए ।
कपिलवस्तुको तौलिहवामा आयोजित नेपाली कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलन बोल्दै कोइरालाले भने, ‘अब अति भयो, जति दिन यो सरकार राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुदै जान्छ ।’ वर्तमान सरकार तत्काल सच्चिनुपर्ने नत्र सत्ता छोड्न उनले चेतावनी दिए ।
चर्को महँगीले जनताको चुलो नबल्ने अवस्थामा पुगेको उनले बताए । जनतालाई सहुलियत दिनुपर्नेमा चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुहरुको भाउ बढ्नु राम्रो संकेत नभएको कोइरालाले बताए ।
पार्टीभित्रको आन्तरिक विषयमा बोल्दै नेता कोइरालाले सभापति शेरबहादुर देउवाले विधि सम्मत पार्टी सञ्चालन नगर्दा कांग्रेस अप्ठ्यारोमा परेको बताए ।
सभापति देउवासँग व्यक्तिगत रुपमा आफ्नो कुनै रिसराग नभएको बताएका कोइरालाले भने,‘पार्टी भित्र दुर–दराजका इमानदार, निष्ठावान र सक्रिय साथीहरूको मूल्यांकन हुनसकेको छैन, त्यसैले कांग्रेसको जग नै कमजोर हुन थालेको छ ।’
प्रतिक्रिया 4