
१७ असोज, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश अधिवेशनको निर्वाचनको निष्पक्षतामा प्रश्न उठाएका छन् । बुधबार निर्वाचित पदाधिकारी तथा सदस्यको सपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचन निष्पक्ष नभएको सूचना पाएको बताएका हुन् ।
‘यहाँ निर्वाचन आयोगले गरेका काम कारवाहीहरु टिप्पणी योग्य र आलोच्य भए, जस्तो हुनुपथ्र्याे त्यस्तो हुन सकेन, आगामी दिनमा त्यस्ता कुराहरु सच्याइनुपर्छ’, ओलीले भने, ‘न्यायिक मन नभएका साथीहरु, निष्पक्ष ढंगले न्यायमा अडिएर न्यापूर्ण व्यवहार गर्न नसक्नेहरु निर्वाचन आयोगमा बस्न हुन्न ।’
निर्वाचन समितिले कुनै पनि अवस्थामा संयम धैर्यता गुमाउन नहुने र निष्पक्षताको बाटो छोड्न नहुने ओलीले बताए । ‘जुन कामको जिम्मा हामी लिन्छौं, न्यायाधीशको कुर्सीमा बसेपछि यो मेरो आफ्नो यो अर्काको भन्न मिल्दैन’, उनले भने, ‘यद्यपि केही कमजोरीहरु भएका छन् ।’
प्रदेश अधिवेशनमा निर्वाचन प्रमुख चुणामणि आचार्य थिए । ओलीले उनको भूमिकामा असन्तुष्टि जनाएका हुन् । आइतबार राति साढे १० बजे सुरु भएको निर्वाचन विहान ५ बजे सकिएको थियो । अध्यक्षका उम्मेदवार घनश्याम खतिवडा पक्षले सोमबार विहान मतदान सार्न खोजेका थिए । तर अध्यक्षका अर्का उम्मेदवार विनोद ढकालले मानेनन् ।
आचार्य पनि राति नै निर्वाचन गराउन सहमत भए । त्यसमा ओली असन्तुष्ट भएको हुनसक्ने एमाले स्रोत बताउँछ । मतदान सुरु भएपछि मतदातालाई मतपत्रमा भएको गल्ती सच्याउन सूचना जारी गरिएको थियो । एमाले स्रोतका अनुसार ११ पृष्ठको मतपत्रमा जिल्लाबाट निर्वाचित हुने सदस्यको संख्याको विषयमा केही स्थानमा गल्ती भएको थियो ।
‘मतपत्र छाप्दा केही ठाउँमा मिस्टेक थियो, त्यसको रिपोर्ट अध्यक्ष ओलीलाई पनि भयो’, एमाले स्रोतले भन्यो, ‘अध्यक्ष ओलीलाई निर्वाचन प्रमुखले ढकाललाई समर्थन गरेको गुनासो पुगेको हुनसक्छ ।’
निर्वाचनमा अध्यक्षमा घनश्याम खतिवडासहित उनको प्यानल नै पदाधिकारीमा विजयी भएको थियो ।
प्रतिक्रिया 4