
१८ असोज, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता प्रदीप यादवले मधेशमा धार्मिक तनाव फैलाउने षड्यन्त्र भइरहेको भन्दै विरोध जनाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले मधेशमा हिन्दु र मुस्लिम समुदाय सदियौंदेखि मिलेर बसेकामा अहिले उनीहरुबीच तनाव फैलाउने षड्यन्त्र भइरहेको बताएका हुन् ।
‘मधेशको राजनीतिक तागत भनेको हिन्दु र मुस्लिमको साझा एकता हो । मधेश आन्देलनमा दुबै समुदाय मिलेर सँगसँगै रगत बगाएका छन् । तर धार्मिक द्वन्द्व फैलाएर मधेशी जनताको एकतालाई तोड्ने काम तिब्र गतिमा भइरहेको छ । यसले मुलुकलाई फाइदा गर्दैन’ उनले भने ।
मधेशमा मात्र नभई नेपाली समाजमा नै विभाजन र ध्रवीकरण ल्याउने प्रयासका कारण राष्ट्रिय सुरक्षामा जटिलता देखिएको पनि सांसद यादवले बताए ।
उनले द्वन्द्व चर्काउने र हिंसा भड्काउने अभिव्यक्ति दिने जोसुकैलाई कारबाही गर्न माग गरे । पुराना भिडियो काँटछाँट गरेर नयाँ घटनाको रुपमा प्रस्तुत गर्ने र सामाजिक सञ्जालमार्फत हिंसात्मक अभिव्यक्ति दिनेलाई पनि कारबाही गर्नुपर्ने यादवले बताए ।
‘सामाजिक सद्भाव भड्काउने खालका सामग्री राख्ने सामाजिक सञ्जाल फेसबुक ट्विटर टिकटक बन्द गर्नुपर्छ’ उनले भने ।
सञ्चार माध्यम र नागरिक समाज पनि सचेत हुनुपर्ने भन्दै सांसद यादवले भने, ‘समाज जोगाउने दायित्व हामी सबैको हो । फुट गराई शासनमा फर्किने चाहना कसैको पूरा हुँदैन ।’
उनले सबै राजनीतिक दलका सांसदहरु एकजुट भएर मधेशका जिल्लाहरुमा जानुपर्ने पनि बताए ।
सांसद यादवले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिको निगरानी गर्न पनि सरकारलाई आग्रह गरे ।
प्रतिक्रिया 4