+

क्रिकेट किन बन्न सकिरहेको छैन विश्वव्यापी खेल ?

२०८० असोज  १८ गते १७:३५ २०८० असोज १८ गते १७:३५
क्रिकेट किन बन्न सकिरहेको छैन विश्वव्यापी खेल ?

१८ असोज, काठमाडौं । भरिभराउ रंगशाला, खचाखच भीड र चर्को हुटिङ सहित क्रिकेटको महाकुम्भ सुरु भइसकेको छ । बिहीबारबाट थालनी भएको क्रिकेटको विश्वकपमा ट्रफी उचाल्नका लागि १० राष्ट्रबीच करिब ६ हप्तासम्म प्रतिस्पर्धा हुनेछ ।

यस खेलका फ्यानको संख्या करिब १ अर्ब छ । यो खेल विश्वको लोकप्रिय खेल हो। सतहमा हेर्दा क्रिकेट विश्व्यापी खेलझैं लाग्छ।  यथार्थमा हेर्ने हो भने खेलको सुरुवात भएको पाँच शताब्दीसम्म पनि विश्वव्यापी हुन सकेको छैन । यसको बजार मुठ्ठीभरका राष्ट्रबीच छ र त्यस बजारको नेतृत्व भारतले गरिरहेछ ।

बेलायती साम्राज्य फैलिएसँग यो खेल विश्वका विभिन्न कुनामा फैलिएको हो । १९ औं शताब्दीको मध्यतिर क्रिकेटको पहिलो अन्तर्राष्ट्रिय म्याच  पनि भएको  थियो । हालसम्म आइपुग्दा क्रिकेट खेलको प्रकार र प्रविधिमा वृहत सुदृढिकरण भए पनि यसको विस्तार कमनवेल्थ राष्ट्रबाहिर पुर्‍याउन अझै कठिनाइ भइरहेछ ।

क्रिकेटको मैदानमा दबाब जमाउने भारत, अष्ट्रेलिया र इंगल्याण्डले यस खेललाई शासित गर्ने संरचनामा पनि दबदबा राखेका छन् । उनीहरु ‘बीग थ्री’ का उपनामले परिचित छन् । ती बाहेक मुख्य क्रिकेटिङ राष्ट्रको सूचीमा पाकिस्तान, न्युजिल्याण्ड, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश र क्यारेबियन राष्ट्रबाट वेस्ट इन्डिज छन् ।

फुटबललाई नियमन गर्ने निकाय फिफाको सदस्यमा २ सय सदस्य राष्ट्र रहँदा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीमा आवद्ध पूर्ण सदस्य राष्ट्रको संख्या १२ छ भने केही दर्जन अन्य राष्ट्र एशसोसियट सदस्य छन् ।

५० ओभरको भीडन्तमा सबैभन्दा धेरै १६ राष्ट्र मात्रै समावेश भएको इतिहास छ । सन् २००७ को संस्करणमा १६ राष्ट्र सहभागी थिए । हालसम्मको स्थिति हेर्दा सन् २०२७ मा १४ वटा टोली सहभागी हुने देखिन्छ । १९९८ यता हेर्ने हो भने फुटबलमा ३२ राष्ट्र सहभागी भएका छन् । सन् २०२६ को संस्करणमा ४८ राष्ट्र सहभागी हुनेछन् ।

के क्रिकेटले खेलकुदलाई माया गर्ने अन्य राष्ट्रमा आफ्नो दायरा विस्तार गर्न सक्ला? क्रिकेटको विश्वव्यापी भविष्य छ त? यो खेलले यस्ता प्रश्नको सामना गर्नपरिरहेको छ ।

समान्य उत्तर के हो भने क्रिकेटको दायरा वृद्धिको अवसर नभएको होइन । तर यो खेल विश्वव्यापी हुने सुनिश्चिता छैन । विज्ञहरु के भन्छन् भने ५० ओभरको खेल नभएर टी-२० ले भने आफ्नो दायरा छिट्टै फैलाउने छ । विभिन्न देशमा भइरहेका फ्रेन्चाइज लिग, महिला क्रिकेट र ओलम्पिक खेलमा टी-२० समावेश रहेकाले यसले आफ्नो दायरलाई वृहत बनाउने संभावना रहेको विज्ञहरु बताउँछन् ।

सुरुवातको पाँच शताब्दीसम्म पनि क्रिकेट किन बन्न सकेन विश्वव्यापी खेल ?

फुटबलको तुलनामा क्रिकेट निकै महँगो छ । यसमा चाहिने सामग्रीदेखि रंगशाला र त्यसको मर्मत संहार नकै खर्चिलो छ । ईएसपीएन क्रिकइन्फोका सहायक सम्पादक म्याट रोल भन्छन्, ‘खेल सामग्री, पूर्वाधार तथा मर्मत संहारको दृष्टिकोणबाट हेर्दा अन्य खेलको तुलनामा यो खेलमा धेरैनै लगानी पर्छ । सानो ठाउँ र एउटा बल भए फुटबललाई पर्याप्त हुन्छ त्यसैले धेरैले क्रिकेटलाई वेवास्ता गर्छन् ।’

पूर्वाधारका अलावा परम्परागत बजारमा मात्रै केन्द्रित हुँदा क्रिकेट विश्वव्यापी भन्न नसकेको केही विज्ञहरुको मत छ । क्रिकेट विश्लेषेक जेमी अल्टर भन्छन्, ‘औपनिवेशिकताको समयमा आएको यो खेल सिमित देशको संस्कृतिझैं भएको छ । आइसीसीले यसको दायरा विस्तार गर्न खोजे पनि धेरै कम मुलुकमा निर्भर रहेकाले यसको यो खेल वृहत्तर रुपमा फस्टाउन कठिन छ ।’

क्रिकेटलाई माया गर्ने राष्ट्र भारत, पाकिस्तान र बंगलादेश पनि क्रिकेटका परम्परागत बजारमै गणना हुन्छन् । भारत, अष्ट्रेलिया तथा बेलायत जस्ता आर्थिक रुपमा सम्पन्न राष्ट्रका कारण पनि यसको बजारको दायरा विस्तारमा कठिनाइ भएको अल्टर बताउँछन् । ‘यसको आर्थिक पाटोबाट सिमित राष्ट्रले मात्रै अधिकतम लाभ लिएकाले यसको दायरा विस्तार हुन कठिन छ,’ उनले भने ।

तथापि यस खेल पूरै अस्तव्यस्त भने छैन । यसको क्रेज बढ्दो नै छ । १९ औं शताब्दीमा ब्रिटिसले अफगानिस्तानसँग क्रिकेट खेलेको रेकर्ड छ । युद्धले ग्रसित भए पनि शरणार्थी शिविरमा अफगानीहरुले क्रिकेट खेले । सन् २०१५ को विश्वकपमा अफगानीहरुले पहिलोपटक ५० ओभरको खेल खेलेका थिए । त्यस खेलमा उनीहरुले स्कटल्याण्डलाई स्तब्ध बनाए ।

सन् २०१९ मा अफगानिस्तानले टेस्ट राष्ट्रको मान्यता पायो । त्यसपछि उसले बंगलादेशविरुद्ध बाजी मार्‍यो । अनि आयइरल्याण्डविरुद्धको खेलमा पनि सफलता प्राप्त गर्‍यो । विश्वभरका टी-२० फ्रेन्चाइज लिगमा अहिले अफगानी खेलाडीहरु छाएका छन् ।

विश्वकपमा अफगानिस्तान जस्ता राष्ट्रले व्यापारिक दृष्टिकोणमा ठूला बजार भएका मुलुकलाई खतरामा पार्नसक्ने देखिएकोमा क्रिकेट प्रशासकहरु चिन्तित रहेको कतिपय विज्ञको अवलोकन छ । त्यसैले पनि क्रिकेट प्रशासकहरुले खेलको वृहत्तर विस्तारमा ध्यान नदिएको कतिपय विज्ञहरु आरोप लगाउँछन् ।

धिमा वृद्धि

निकै कम टोली सहभागी हुने भन्दै क्रिकेटको विश्वकपको आलोचना हुने गरेको छ । १० वटा टोली भएको विश्वकप क्रिकेट ४६ दिनसम्म चल्नेछ तर ३२ टोली रहेको विश्वकप फुटबल एक महिनाभन्दा कम अवधिमा समाप्त भएको थियो । यो दृष्टान्त पेश गर्दै खेल पत्रकार तथा क्रिकनोमिक्स पुस्तकका लेखक टिम विगमोर भन्छन्, ‘संकीर्ण मानसिकताका कारण विश्वकपमा ठूलो टोली सहभागी गराइएको छैन ।’

सन् २००७ मा विश्वकपमा १६ टोली थिए । त्यस खेलमा आइरल्याण्डले पाकिस्तान, बंगलादेश र भारतलाई स्तब्ध पार्दै ग्रुप स्टेजबाट दक्षिण एशियाली राष्ट्रलाईनै पाखा लगायो ।

ठूला बजार भएका मुलुकलाई धेरै खेलको अवसरका लागि पनि टोली विस्तारका लागि नियामक निकाय पछि हटेको उनको भनाइ छ ।

‘टोलीहरुको संख्या घटाउनुको कारणनै ठूला बजार भएका मुलुकलाई खेलमा धेरै अवसर दिनका लागि हो,’ उनले भने ।

क्रिकेटको पुरुष टोलीझैँ महिला टोली पनि निकै कम छ । सन् १९७३ मा पहिलोपटक महिला टोलीको क्रिकेट प्रतियोगिता भएको थियो । जसमा ७ राष्ट्र सहभागी थिए । सन् १९९७ मा यसको संख्या ११ पुग्यो भने सन् २०२२ मा आइपुग्दा त्यहाँ ८ टोली मात्रै छन् । सन् २०२५ मा पनि यो संख्या कायमै हुने देखिन्छ । ‘लामै समयदेखि टोलीको विस्तार पुरुष तथा महिला दुबैतर्फ हुन सकेको छैन,’ उनले भने ।

क्रिकेट कमेन्टेटर जर्ज हेथका अनुसार नयाँ फ्यानलाई आकर्षित गर्नका लागि क्रिकेटको बजारीकरणको शैली फेर्न जरुरी छ । ‘विज्ञापन हेर्दा यस्तो लाग्छ की ती विज्ञापन हरतरिकाले खेल हेर्न जाने दर्शकका लागि मात्रै छन् । नयाँ दर्शकलाई लक्षित गरेर विज्ञापनै बनेका छैनन् ।’

टेलिभिजनमा खेल हेर्नका लागि पैसा तिर्नुपर्ने र रंगशालामा छिर्नका लागि महँगो शुल्क तिर्नुपर्ने भएकाले पनि फ्यानहरु निराश भएको उनी बताउँछन् । क्रिकेटको विश्वकप हेर्नका लागि ४९९ भारु देखि ४० हजार भारु सम्मको दर तोकिएको छ । भारत र पाकिस्तानको खेलमा सबैभन्दा महँगो दरमा टिकट बिक्री हुने गर्छ ।

दर्शकहरुमा बढ्दो निराशा र खेल विस्तार नहुँदा ५० ओभरको भविष्य के होला भनेर पनि प्रश्न उब्जिने गरेको छ ।

कसको छ भविष्य २० की ५० ओभरको ?

गत जुलाईमा क्रिकेट खेलका नियमको संरक्षक संस्था मेरलिबोन क्रिकेट क्लबले सन् २०२७ पछि एक दिवसीय अन्तर्राष्ट्रिय खेलको संख्यालाई सीमित बनाउन सुझाव दिएको थियो । परम्परागत फ्यानहरुको टेस्ट प्रतिको लगाव र टी-२० प्रतिको क्रेजका कारण ५० ओभरको सान्दर्भिकता सकिँदै गएको मुल्यांकन हुन थालेको छ । क्रिकेटरहरु भने ओडीआईलाई बिदा गर्नुपर्ने तर्कमा सहमत छैनन् । सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेटर महासंघले ५४ प्रतिशत क्रिकेटरले ५० ओभरको विश्वकप सबैभन्दा कठिन खेल रहेको भन्दै यसको सान्दर्भिकता नसकिएको तर्क गरेको थियो ।

तर सन् २०१८-१९ मा सर्वेक्षण गर्दा त्यो संख्या ८६ प्रतिशत थियो । ‘निजी क्षेत्र ५० ओभरको लिगमा भन्दा २० ओभरको लिगमा आकर्षित छ । त्यसैले पनि ५० ओभरमा आकर्षण घट्दै गएको हो,’ विगमोरले भने ।

अबको भविष्य टी-ट्वान्टीकै रहेको विज्ञहरु बताउँछन् । तर यसको विश्वकपको प्रसारणबाट थोरै आय वितरण हुने भएकाले पनि क्रेजका बाबजुद पनि यसको विस्तार ढिलाइ भइरहेको रोलरको तर्क छ । ‘क्रिकेटको बजारमा सुनको अण्डा दिने राष्ट्रहरु उपाधिको खडेरीमा छन् । त्यसैले उनीहरु ५० ओभरलाई तत्कालै त्याग्ने पक्षमा छैनन्, न त टी-२० लाईनै अझै वृहत्तर बनाउने पक्षमा छन्,’ उनले भने ।

सफल व्यवसायको निर्माण

सन् २०१८ मा आईसीसीका पूर्व प्रमुख कार्यकारी अधिकृतले टी-२० बाटै क्रिकेटको विश्वव्यापीकरण संभव रहेको बताएका थिए । सन् २०२३ मा आइपुग्दा २० ओभरको खेल निकै फस्टायो । अफ्रिका, अमेरिका, आसियाना, एशिया तथा युरोपमा पनि यसको लोकप्रियता ह्वात्तै बढ्यो ।

भारतमा हुने लिग आईपीएलले आफ्नो मुल्यांकन ८ अर्ब ४० करोड डलर बराबरको बनाइसको छ । आईपीलको व्यावसायिक सफलतापछि अष्ट्रेलिया, यूएई, इंग्ल्याण्ड, पाकिस्तान, अमेरिका र क्यारेबियन राष्ट्रमा पनि लिगको आयोजना बढेको छ ।

गत जुलाईमा क्रिकेट सबैभन्दा धनाढ्य बजारमा प्रवेश गरेको छ। अमेरिकाले ६ टोलीबीचको लिग गराएको थियो । त्यस लिगमा आकर्षक लगानी आएको थियो । अमेरिकासँगै वेस्ट इन्डिजले पनि आगामी वर्ष टी-२० विश्वकपको आयोजना गर्दैछ ।

क्रिकेटमा महिला टोलीको सहभागिता बढिरहेकाले पनि यसको छवी विश्वव्यापी रुपमा फैलाउन सहज हुने देखिएको छ । यस वर्षको सुरुवातमा ५ टोली समावेश गरी वुमन प्रिमियर लिगको आयोजना गरिएको थियो । त्यसमा महिला खेलाडीहरुलाई निकै मोटो रकममा अनुबन्धित पनि गरिएको थियो ।

खेलकुदमा खासै अघि नरहेको थाइल्याण्डको महिला क्रिकेट टोलीले पनि उत्कृष्ट प्रदर्शन गरेको छ । फ्रेन्चाइज लिगमा थाइ खेलाडीहरुले पनि राम्रै अवसर पाएका छन् ।

ओलम्पिक मेडल

ओलम्पिकमा पनि टी-२० क्रिकेट समावेश हुने भएको छ । लस एन्जल्समा २०२८ मा हुने ओलम्पिक खेलमा पनि यसलाई राखिने भएको छ ।

महिला तथा पुरुष दुबैतर्फ पाँच पाँच टोली समावेश गरेर खेल खेलाउने तयारी छ ।

तर के ओलम्पिकमा समावेश हुँदैमा क्रिकेट विश्वव्यापी होला त ?

यो प्रश्नको जवाफ कसैलै पनि निर्धक्क रुपमा दिन सकेका छैनन् । ‘त्यस ओलम्पिकमा कति राष्ट्र सहभागी हुनेछन् र त्यसको लागि बनाएका योग्यतालेनै क्रिकेट विश्व्यापी हुने नहुने निश्चित गर्छ । तर ओलम्पिकमा पुरानै राष्ट्र र पुरानै अनुहार देखिएमा यसले कुनै योगदान गर्नेछैन,’ हेथ भन्छन् ।

विश्वकप क्रिकेट
लेखक
अलजजिराबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय