
१८ असोज, काठमाडौं । सरकारले स्वास्थ्यकर्मीको सुरक्षाका विषयमा नेपाल चिकित्सक संघ र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिसँग भएका सहमति कार्यान्वयन सुरु गरेको छ ।
देशका विभिन्न ठाउँमा चिकित्सकमाथि कुटपिट भएपछि सुरु भएको चिकित्सकहरुको आन्दोलन सरकारसँग सहमतिमा फिर्ता भएका थिए । त्यस क्रममा ३१ भदौमा नेपाल चिकित्सक संघ र १३ असोजमा संघर्ष समितिसँग सहमति भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (पहिलो संसोधन २०७९) लाई संशोधन गर्न मन्त्रालयको कानुन शाखालाई जिम्मा दिई यथासीघ्र प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको बताए ।
उनका अनुसार चिकित्सक, आवासीय चिकित्सक, मेडिकल अधिकृत, इन्टर्न डाक्टर तथा स्वास्थ्यकर्मीहरुको सेवा, सुविधा न्यूनतम सरकारी सरह कायम गर्ने लगायत तत्काल सुधार गर्नुपर्ने विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रालयका अतिरिक्त सचिवको संयोजकत्वमा रहेको समितिलाई भनिएको छ ।
यस्तै, मन्त्रालयले स्वास्थ्यकर्मीहरुमाथि बारम्बार भइरहेको कुटपिट र दुव्र्यहारका घटनाको कारक तत्व पहिचान एवं निराकरण गर्न आवश्यक नीतिगत र कानुनी सुधारका विषय समेटी प्रतिवेदन पेश गर्न, स्वास्थ्य क्षेत्रको प्रवुद्ध व्यक्तिहरु छनौट गरी उच्चस्तरीय कार्यदल गठन गर्न, नीति योजना तथा अनुगमन महाशाखालाई पहल गर्न निर्देशन दिएको डा. बुढाथोकीले बताए ।
हेर्नुहोस् मन्त्रालयको विज्ञप्ति
प्रतिक्रिया 4