+
+

कोशीमा सरकारको संकट टार्न कांग्रेस लचिलो

लिलु डुम्रे लिलु डुम्रे
२०८० असोज १८ गते २०:०७

१८ असोज, काठमाडौं । कोशी प्रदेशमा सरकार निर्माणको संकट टार्न सबै विकल्पमा खुला हुनुपर्ने मत नेपाली कांग्रेसभित्र देखिएको छ । नेकपा एमालेसँग सहकार्यदेखि राप्रपालाई मनाएर गठबन्धन बनाउनेसम्मका विकल्पमाथि नेताहरुले छलफल गरिरहेका छन् ।

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, संघीय गठबन्धनलाई असर नगर्ने गरी कोशीमा सहमतीय सरकार आवश्यकता देखिएको बताउँछन् । ‘कोशीमा सहमतीय सरकार बन्यो भने गठबन्धन पनि नभत्कने र विपक्षी दलहरुसँग सहमति बन्ने वातावरण बन्छ’, उनी भन्छन् । पार्टी नेतृत्वलाई पनि सहमतीय सरकार बनाउनुपर्ने राय दिएको विश्वकर्मा बताउँछन् ।

महामन्त्री गगन थापाले ८ असोजमा केन्द्रीय समिति बैठकमा बोल्दा कोशी प्रदेशबारे फरक ढंगले सोच्नुपर्ने बताएका थिए । ‘कोशीको अहिलेको संवेदनशीलता हेरेर नेकपा एमाले समेतको सरकार बनाएर जान उपयुक्त हुन्छ । यो मेरो राय हो’, थापाले भनेका थिए ।

महामनत्री थापाकै जस्तै राय केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले पनि राखेका थिए । तर राप्रपासँगको सम्वाद पनि कांग्रेस नेताहरुले रोकेका छैनन् । प्रदेशसभामा ६ सिट रहेको राप्रपाले साथ दिए एमाले बाहेकको गठबन्धन सरकार बन्ने भएकाले लेनदेनकै हिसाबसहित छलफल भइरहेको नेताहरु बताउँछन् ।

एक नेताका अनुसार, राप्रपालाई सभामुख र दुईवटा संसदीय समितिको सभापति दिएर भएपनि सत्तारुढ गठबन्धनकै सरकार बनाउनेबारे छलफल भइरहेको छ । ‘राप्रपासँग शीर्ष तहमा छलफल भइरहेको छ । उहाँहरुले मुख्यमन्त्रीमा पनि दाबी गर्नुभएको छ । तर सभामुख र समितिको दुई सभापति दिन सकिने प्रस्ताव छ’, ती नेता भन्छन् ।

राप्रपा प्रदेश सांसद अम्बरबहादुर विष्ट, सरकार बन्न नसकेकै कारण मध्यावधिमा जाने अवस्था रोक्न आफ्नो पार्टी पनि छलफलमै रहेको बताउँछन् । ‘मध्यावधिमा जान कोही खोजेको छैन । सरकार बनाउन नेताहरु छलफल गरिरहनुभएको छ’, उनी भन्छन् ।

तर राप्रपा सहमत नभए एमालेसँग सहकार्यको वातावरण बनाउने छलफललाई कांग्रेस नेताहरुले प्राथमिकतामा राखेको देखिन्छ । सरकार बन्ने र ढल्ने क्रम रोक्न तथा प्रदेशको नाम विवाद मिलाउन पनि सर्वपक्षीय सरकार बन्नुपर्ने कांग्रेस नेता विश्वकर्मा बताउँछन् । मुख्यमन्त्रीमा आलोपालो गर्दा समाधान सम्भव पनि रहेको उनी बताउँछन् ।

एमाले नेताहरुले समेत कांग्रेससँग सहकार्यमा खुला रहेको बताइरहेका छन् । सत्ता सहकार्यबारे अनौपचारिक छलफल भइरहेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी बताउँछन् । ‘यो बारेमा विश्वासको मत लिनुअघि या पछि अरु छलफल पनि हुनसक्छ । सम्भावना त अनेक छन्’, भण्डारी भन्छन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले २० असोजमा विश्वासको मत लिँदैछन् । बुधबारको प्रदेशसभा बैठकमा पनि कांग्रेस, एमाले सहित सबैजसो दलका नेताहरुले प्रदेशमा मध्यावधि चुनाव गर्न नहुने धारणा राखेका थिए ।

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की

सर्वोच्च अदालतको परमादेश बमोजिम गत २२ भदौमा मुख्यमन्त्री नियुक्त भएलगत्तै कार्कीले कांग्रेससहितको सरकारमा सकारात्मक रहेको सन्देश दिएका थिए ।

कार्कीले यसबेला भनेका थिए, ‘शीर्ष नेतृत्वबाट यस्तो निर्णय हुनसकेको छैन, तर कांग्रेस–एमाले सरकार बन्न सम्भव छ ।’

४ मंसिरको प्रदेशसभा चुनावबाट ९३ सदस्यीय कोशी प्रदेशसभामा कुनै दलको पनि बहुमत आएन । त्यसपछि मिलिजुली सरकार बनाउने विकल्प भए पनि दलहरु फरक कित्तामा उभिँदा आवश्यक बहुमत पुर्‍याउन नसकेर दुईवटा सरकार विघटन भइसकेको छ ।

संविधानको धारा १६८ (२) बमोजिम संयुक्त सरकार बन्न नसकेपछि सर्वोच्चले सवैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा एमालेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । तर प्रदेशसभाभित्र दलहरुको समीकरण हेर्दा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउन सजिलो देखिदैन ।

४० सिटको एमालेलाई राप्रपाले साथ दिदा सांसद संख्या ४६ मात्रै पुग्छ । अझ उपसभामुख सिर्जना दनुवार पनि एमालेबाटै निर्वाचित भएकाले प्रदेशसभामा मुख्यमन्त्री कार्कीले पाउने एक मत कम हुनेछ । विश्वासको मत पाउन ४७ मत आवश्यक पर्छ ।

प्रदेशसभामा सत्तारुढ गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टीको १ सिट छ । कुल ४७ सिट रहेकाले मुश्किलले बहुमत पुग्ने भए पनि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने बेलामा उपसभामुख बिदामा बसेका कारण अध्यक्ष मण्डलका सदस्य कांग्रेसका इस्राइल मन्सुरीले बैठक चलाएका थिए ।

सभाको अध्यक्षता गरेका व्यक्तिले मत दिएकै कारण यसअघि कांग्रेस नेता उद्धव थापाले दुईपटक मुख्यमन्त्री नियुक्त भएर पनि पद गुमाएका थिए ।

कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राई भने मुख्यमन्त्री कार्कीले पनि विश्वासको मत पाउने अवस्था नरहेकाले अर्को धारा बमोजिम सरकार गठनको गृहकार्यमै जोड दिइरहेको बताउँछन् ।

‘एमालेले विश्वासको मत पाउने स्थिति छैन । गठबन्धन दलले नै १६८ (५) मा गएर सरकार बनाउँछ’, उनी भन्छन् ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?