+
+
तीनकुने सामूहिक हत्या :

पहिलो पटक अपराध अनुसन्धानमा ‘ब्रेन म्यापिङ’ विधि प्रयोग

गौरव पोखरेल गौरव पोखरेल
२०८० असोज १९ गते २०:२५
सञ्जय भण्डारी ।

१९ असोज, काठमाडौं । दुई साताअघि तीनकुनेमा भएको सामूहिक हत्या प्रकरणमा संलग्न आरोपी सिन्धुपाल्चोकका सञ्जय भण्डारीको सनसनीपूर्ण बयानपछि प्रहरीले उनको ‘ब्रेन म्यापिङ’ गराएको छ ।

नेपालमा अपराध अनुुसन्धानमा पहिलो पटक यो विधिको प्रयोग गरिएको हो ।

आरोपी बोल्न नसक्ने अवस्थाको भएकाले पोलिग्राफ सम्भव नहुने निष्कर्षपछि ब्रेन म्यापिङ गराइएको अनुसन्धानमा संलग्न एक अधिकृतले अनलाइनखबरलाई बताए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भुपेन्द्र खत्रीले पनि यो मामलाको अनुसन्धानमा नयाँ विधिको प्रयोग भएको स्वीकारे ।

‘एउटा सरकारी अस्पतालमा कार्यरत मनोचिकित्सकको नेतृत्वमा ब्रेन म्यापिङ भएको छ’, उनले अनलाइनखबरसँग भने, ‘यद्यपि, अझै केही जाँच बाँकी नै छन् ।’ पूर्ण जाँच सकिएपछि यसबारे बताइने उनले जनाए ।

तीनकुनेस्थित दिव्य सः मिलभित्र २९ भदौमा ४ जनाको हत्या भएको घटनामा दुई दिनपछि प्रहरीले क्लोज सर्किट (सीसी) क्यामरा फुटेजको आधारमा भण्डारीलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा रहेका भण्डारी जन्मजात बोल्न नसक्ने हुन् ।

सांकेतिक भाषाका विज्ञको सहयोगमा उनीसँग लिएको बयानमा अरु कम्तिमा ६ वटा हत्यामा संलग्न भएको भन्दै अनुसन्धान गरेर पुष्टि गर्न चुनौति दिएका थिए ।

सुरुमा राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केदारप्रसाद अधिकारीको उपस्थितिमा अन्यत्र पनि हत्या गरेको बताएका उनले पछि अरु अधिकृतहरुलाई समेत अनुसन्धान गरेर पुष्टि गर्न चुनौति दिएका थिए ।

सुरुमा बयान दिँदा मिडियामा पढेका विषयलाई लिएर प्रहरीलाई हैरान पार्न मात्र भनेको हुनसक्ने आशंका गरिए पनि पछि उनले सार्वजनिक नभएका विषय पनि बताउन थालेका थिए । त्यसपछि प्रहरीले उनको बयानलाई भेरिफिकेशन गर्न विभिन्न स्थानमा लगेको थियो ।

उनको बयानका आधारमा रातोपुल, भत्केको पुल, बालुवाटार लगायतका क्षेत्रमा लगिएपनि हालसम्म संलग्नताको थप आधार भेटिएको छैन । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसन्धान अधिकृतहरु भण्डारीको यो पहिलो अपराध मात्र नभएको निष्कर्षमा छन् । तर, पुष्टि गर्न आधारहरु फेला परिसकेका छैनन् ।

परम्परागत शैलीबाट अनुसन्धानमा ब्रेक लागेका बेला विभिन्न मुलुकमा आपराधिक रहस्य खुलाउनका लागि फरेन्सिकमा ब्रेन म्यापिङ विधि प्रयोग हुने गरेको जानकारहरु बताउँछन्

‘त्यसैले अनुसन्धानमा वैकल्पिक विधिको पनि प्रयोग गरिरहेका छौं’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘त्यहीबीच ब्रेन म्यापिङ पनि प्रयोग भएको हो ।’

जानकारहरुका अनुसार, ब्रेन म्यापिङमार्फत मस्तिष्कभित्र संग्रह भएका तरंगको चाल अनुसार सम्बन्धित व्यक्तिले सत्य बोलिरहेका छन् या छैनन् भन्ने संकेत पाउन सकिन्छ ।

अमेरिकामा फेडरल ब्यूरो अफ इन्भेष्टिगेसन (एफबीआई) ले यसको धेरै प्रयोग गर्ने गरेको छ । भारतमा पनि लागूऔषधसम्बन्धी अपराध अनुसन्धानमा यसको प्रयोग हुने गरेको छ ।

टाइम्स अफ इण्डियामा प्रकाशित एक सामग्रीका अनुसार, परम्परागत शैलीबाट अनुसन्धानमा ब्रेक लागेका बेला आपराधिक रहस्य खुलाउनका लागि फरेन्सिकमा ब्रेन म्यापिङ विधि प्रयोग हुने गरेको छ ।

के भनेका थिए बयानमा ?

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भएका २३ वर्षीय भण्डारीले कक्षा ८ सम्म बहिरा आधारभूत विद्यालय, बाह्रबिसेमा अध्ययन गरेका थिए । काठमाडौं आएर नक्सालस्थित केन्द्रीय बहिरा उच्च माध्यम विद्यालयबाट कक्षा १२ सम्म अध्ययन गरेका थिए ।

भूकम्पका बेला सिन्धुपाल्चोकमा रहँदा आफूले केही महिलाको हत्या गरेको भण्डारीले बयान दिएका थिए ।

‘उनले हत्या गरेको भन्दै फेहरिस्त बताएका छन्, सिन्धुपाल्चोकको हकमा भेरिफाई गर्न त्यहाँ जानुपर्ने स्थिति पनि हुनसक्छ’ अनुसन्धान संलग्न एक अधिकृत भन्छन्, ‘काठमाडौंमा पनि रातोपुल, भत्केको पुल, बालुवाटार लगायतका क्षेत्रमा पनि हत्या गरेको बताएका छन् ।’

भण्डारीको बयानका अनुसार प्रहरीले उनलाई काठमाडौंका विभिन्न ठाउँमा समेत लगेको थियो । कतिपय स्थानमा अहिले घर बनिसकेको पाइएको छ । भक्तपुरको बोडेमा महिलाको हत्या गरेर खोलामा फ्याँकिदिएको उनले बयान दिएका छन् । यो घटना लकडाउनको समयको भएको उनको दाबी छ ।

कोरोना महामारीविरुद्ध सरकारले २०७७ सालमा लकडाउन घोषणा गरेको पहिलो साता गठ्ठाघर र बालकोटको सिमानामा पर्ने हनुमन्ते खोला किनारमा टाउको विनाको शव भेटिएको थियो ।

त्यसबेला शवमा खुट्टा र हातको पञ्जा पनि काटिएको थियो भने हुलिया नखुल्दा अनुसन्धान अलपत्र परेको थियो । आसपास सीसी टीभी क्यामरा पनि नहुँदा अनुसन्धान अघि बढ्न सकेको थिएन ।

बौद्धमा पनि आफूले एउटा शव टुक्राटुक्रा पारेर फ्यालिदिएको उनको दाबी छ ।

बौद्धको टाउन प्लानिङमा २५ जेठ २०७८ मा एउटा बोराभित्र मानिसको खुट्टा भेटिएको थियो । प्रहरीले लामो समयसम्म अनुसन्धान गरे पनि यसमा कुनै ‘क्लू’ पाउन सकेको थिएन ।

जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले ३१ भदौमा पत्रकार सम्मेलन गरेर तीनकुने सामूहिक हत्याका आरोपी भण्डारीलाई घटनामा प्रयोग भएको हतियार र त्यसबेला उनले बोकेको झोलासहित सार्वजनिक गरेको थियो ।

त्यसक्रममा एसएसपी सोमेन्द्रसिंह राठौरले प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार भण्डारीको निशानामा सः मिलमा बस्ने नवीन भन्ने विशाल राई थिए । केही पहिले राईले चलाएको मोटरसाइकलले भण्डारीलाई ठक्कर दिएको थियो ।
त्यसक्रममा राईले नै भण्डारीमाथि कुटपिट गरेका थिए । त्यसको प्रतिशोधमा आफूले यो घटना घटाएको भण्डारीले बयानमा बताएको राठौरले दाबी गरेका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसन्धान अधिकृतहरुले अहिले त्यसबेला भएको भनिएको दुर्घटनाको विषयमा समेत खोजी गरिरहेको छ । ‘दुर्घटना भयो भनेका छन्, तर कहिले कहाँ र कस्तो खाल्को दुर्घटना भएको थियो भन्ने खोजी रहेका छौं’, एक अधिकृतले भने ।

पत्रकार सम्मेलनमा प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार, भण्डारी काँडाघारीस्थित दिदी भिनाजुसँग बस्थे । आउजाउ गर्ने क्रममा विशाल सःमिलको घर टहरोमा राईलाई देखेका थिए । घटना भएको दिन पनि उनी राईलाई भेटेर कुराकानी गर्ने, निहुँ खोजे आक्रमण गर्ने भनेर काँडाघारीबाट आएको पाइएको प्रहरीले दाबी गरेको थियो ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?