
१९ असोज, धनगढी। सुदूरपश्चिमबाट केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने एमालेका नेताहरूले प्रदेश अधिवेशनका लागि थप प्रतिनिधि मनोनित नगर्न सुझाव दिएका छन् ।
प्रदेश अधिवेशन व्यवस्थापन समितिले शुक्रबार केन्द्रीय सदस्यहरूसँग अधिवेशनमा प्रतिनिधि थप गर्ने बारे छलफल गरेको थियो ।सो क्रममा उनीहरूले सकभर महाधिवेशन प्रतिनिधि मनोनित नगर्न सुझाव दिदै नेतृत्व सर्वसम्मत चयन गर्नमा जोड दिन सुझाव दिएका हुन् ।
छलफलमा सहभागी केन्द्रीय सदस्य नरबहादुर धामीले सबैजसोले प्रदेश अधिवेशन व्यवस्थापन समितिलाई प्रतिनिधि मनोनित नगर्न सुझाव दिएको बताए ।
धामीले प्रदेशको नेतृत्व समेत सर्वसम्मत रूपमा चयन गर्न भूमिका खेल्नमा जोड दिने सल्लाह भएको बताए । एमाले सुदूरपश्चिममा प्रदेश अधिवेशनका लागि तल्लाे कमिटिबाट नआएका कम्तीमा ३० जना प्रतिनिधि मनोनित गर्न सक्ने व्यवस्था छ ।
असोज २१ र २२ गते धनगढीमा हुने प्रदेश अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ ।
प्रदेश कमिटि अध्यक्षका लागि नेता वचनबहादुर सिंहले उम्मेदवारी घोषणा गरेका छन् भने अछामका कृष्णप्रसाद जैशी र कमल तिमिल्सिना पनि अध्यक्षको लविङमा छन् ।
उनीहरूले उम्मेदवारी घोषणा नगरेपनि आन्तरिक रूपमा आफ्नो पक्षमा माहोल बनाउन दौडधुप गरिरहेका छन् ।
प्रतिक्रिया 4