+

एसियाडको १४ औं दिन नेपाल पदक तालिकामा समावेश

२०८० असोज  १९ गते २०:१७ २०८० असोज १९ गते २०:१७
एसियाडको १४ औं दिन नेपाल पदक तालिकामा समावेश

१९ असोज, हान्झाउ । १९औं एसियाडमा नेपालको नाम शुक्रबार पदक तालिकामा समावेश भएको छ । नेपालको महिला कबड्डी टिमले कास्य पदक जितेको हो ।

नेपालले यसअघि नै कम्तीमा कास्य पदक पक्का गरिसकेको थियो । शुक्रबार सेमिफाइनल खेलपछि नेपाल कास्यमै रोकिँदै पदक तालिकामा समावेश भएको हो । महिला कबड्डीमा सेमिफाइनलमा नेपाल भरतसँग पराजित भएपछि कास्य पदक जितेको हो ।

हान्झाउ एसियाडमा १४ औं दिनको खेल सकिँदा घरेलु टोली चीन १८७ स्वर्ण, १०४ रजत र ६२ कास्यसहित कुल ३५३ पदक जितेर पहिलो स्थानमा छ । २९ खेलमा २५३ खेलाडी सहभागी गराएको नेपालले भने अहिलेसम्म महिला कबड्डीमा मात्र पदक जितेको हो ।

यद्यपि कपर्दीको फाइनल नसकिएका कारण नेपाली खेलाडीले पदक भने पहिरिन पाएका छैनन् ।

पदकको आशा गरिएका तेक्वान्दो, बक्सिङमा खाली हात हुँदा करातेमा पनि नेपालको प्रदर्शनले निराश बनाएको छ । यस्तै नयाँ खेल इस्पोर्टस र डान्स स्पोर्टसमा पनि नेपालले पदक जित्न सकेन । एसियाड सकिन दुई दिन मात्र बाँकी रहँदा अब करातेका ८ मध्ये ५ खेलाडीको चुनौती सकिसकेको छ ।

अब नेपालका तीन कराते खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ । क्यानोइङमा नेपालका गणेश गुरुङले शनिबार सेमिफाइनलम प्रतिस्पर्धा गर्नेछन् ।

ब्रेकिङ डान्समा दीपक लामा भने शुक्रबार पहिलो चरणबाटै बाहिरिए । महिला भलिबलमा लगातार पराजित भएको नेपालका कुस्ती खेलाडीले पनि कुनै खेल जित्न सकेका छैनन् ।

विप्लव कास्य पदकबाट चुके

नेपाली कराते खेलाडी विप्लवलाल श्रेष्ठ कास्य पदक जित्नबाट चुके । १३औं सागमा स्वर्णधारी विप्लवले एक खेल जितेपनि कास्य पदकका लागि भएको निर्णायक खेलमा भने पराजित भए ।

लिनपिङ स्पोर्ट्स सेन्टर जिमिन्यासियममा शुक्रबार पुरुष ८४ केजीमाथि कास्य पदकका लागि भएको खेलमा विप्लव साउदी अरेबियाका तारेग अली एम हामेदीसँग ९-१ ले पराजित भए ।

त्यसअघि विप्लवले ताजिकिस्तानका उमेद साफारोभलाई १२-४ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाएका थिए । तर क्वाटरफाईनलमा कीर्गिस्तानका अलिदेत साडिकानोभसँग ५-१ ले पराजित भएका थिए ।

विप्लवलाई हराएका साडिकानोभ फाईनल पुगेपछि विप्लपले रिपेचेज खेल्ने अवसर पाए । रिपेचेजको पहिलो राउण्डमा बाई पाएपछि विप्लबले सिधै कास्य पदकका लागि खेल्ने अवसर पाएका हुन् ।

उनका प्रतिद्वन्दी  हामेदी ताम भने सेमिफाईनलसम्म पुगेका थिए तर कीर्गिस्तानकै साडिकानोभसँग पराजित भएपछि फाइनल पुग्न सकेनन् र कास्य पदकका लागि खेल्नुपरेको हो । जसमा उनी सफल हुन सकेनन् ।

हामेदीले २०२० को टोकियो ओलम्पिकमा रजत जितेका थिए भने २०१८ मा ईन्डोनेसियामा भएको एसियन गेम्समा कास्य जितेका थिए ।

कास्य पदकका लागि खेल्ने अवसर पाउँदा राम्रो गर्ने अपेक्षा राखेपनि पूरा नभएको विप्लवले खेलपछि बताए । ‘मलाई क्वाटरफाइनलमा हराएको खेलाडी फाइनल पुगेपछि मैले कास्य पदकका लागि खेल्ने मौका पाउँदा राम्रो गर्छु भन्ने आशा थियो । तर अनुभवको कमीले गर्दा पराजित भएँ,’ विप्लवले भने, ‘हामीले साग र एसियाड बाहेक अरु खेलेका छैनौं । विपक्षीहरु ओलम्पिकको मेडलिस्ट नै छन् ।’

उनले खेलमा अगाडि बढ्न देशको पनि भूमिका हुने बताए । ‘खेलमा अगाडि जान देशको पनि ठूलो भूमिका हुने रैछ भन्ने थाहा भयो ।’ रेफ्रीको लबिङले पनि खेलको नतिजामा फरक पर्ने उनले बताए ।

विप्लवले अबको लक्ष्य काठमाडौंमै हुने छैटौं साउथ एसियन कराते च्याम्पियनसिप रहेको बताए ।

शुक्रबार‌ै नेपाली निरुपा दोङ तामाङ भने महिला ६१ केजी मुनी तौल समूहको प्रिक्वाटरफाईनलमा बंगलादेशकी हुमाईरा अख्तर अन्तरासँग ५-१ ले पराजित भईन् ।

ब्रेकिङमा दीपक पहिलो चरणबाटै बाहिरिए

एसियाड अन्तर्गत डान्स स्पोर्ट्सको ब्रेकिङमा विधामा नेपालका दीपक लामा पहिलो चरणबाटै बाहिरिएका छन् ।

पुरुषतर्फ शुक्रबार भएको प्रिसेलेक्समा प्रतिस्पर्धा गरेका उनी पहिलो चरणबाट अघि बढ्न सकेनन् ।

प्रिसेलेक्सनमा कूल २५ खेलाडीले प्रतिस्पर्धा गरेकोमा दीपक २३औं स्थानमा रहे । दीपकले ताजिकिस्तानका दुई खेलाडीलाई मात्र पछि पारे । प्रि सेलेक्सनबाट शीर्ष १६ स्थानमा रहेकाहरु भने अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

एसियाडमा पहिलो पटक नेपालले डान्स स्पोर्ट्समा सहभागिता जनाएको हो । दीपकले एसियाडअघि बेल्जियमा भएको वर्ल्ड डान्स च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । वर्ल्ड च्यामपियनसिपमा सहभागि हुन पाउँदा दीपक उत्साहित थिए ।

तर पहिलो पटक एसियाड खेलेका दीपकले सोचे अनुसारको नतिजा भने ल्याउन सकेनन् ।

महिला भलिबलमा नेपाल हङकङसँग पराजित

एसियाड अन्तर्गत महिला भलिबलमा नेपाल हङकङसँग पराजित भएको छ ।  नवौँ देखि १२औं स्थानसम्मको लागि भएको क्लासिफिकेसन म्याचमा नेपाल हङकङसँग ३-० ले पराजित भएको हो ।

हान्झाउ नर्मल युनिभर्सिटी जिम्नयासियममा भएको खेलमा हङकङले नेपाललाई २५-२२, २५-१६, २५-१८ ले पराजित भए ।

पहिलो पटक एसियाड खेलिरहेको नेपालको यो चौथो हार हो । समूह भरण र भियतनाम र दक्षिण कवरियासँग पराजित भएको नेपाल त्यसपछि क्लासिफिकेसन म्याचमा भारतसँग प्रतिस्पर्धात्मक खेलमा पराजित भएको थियो ।

अब नेपालले ११औं स्थानको लागि मंगोलियासँग शनिबार खेल्नेछ । मंगोलिया शुक्रबार भारतसँग ३-० को सेटमा पराजित भएको थियो ।

कुस्तीमा सुशीला पराजित

कुस्तीमा नेपालकी सुशिला चन्द शुक्रबार क्वालिफाइङ राउण्डमै पराजित भएकी छन् । लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्जिबिसन सेन्टरमा भएको महिला ६२ केजीको पहिलो चरणमा सुशिला भारतकी सोनमसँग १०–० ले पराजित भइन् ।

कुस्तीमा अघिल्लो दिन महिला ५७ केजीको पहिलो चरणमा नेपालकी सुवाङ्गी दुवे थाइल्यान्डकी श्रृपारासंग ८–० ले पराजित भएकी थिइन् ।

कुस्ती अन्तर्गत शनिबार नेपालका दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । १२५ केजीमा राज यादवले कम्बोडियाका बाली सोउ तथा ७४ केजीमा सुरेश चुनाराले तुर्कमिनिस्तानका पर्मन होम्मादोभ विरुद्ध खेल्नेछन् ।

एसियाली खेलकुद दीपक लामा विप्लवलाल श्रेष्ठ
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय