+
+

स्तन क्यान्सरबारे जनचेतना फैलाउने महिना

सरकारले क्यान्सर बिरामीको लागि एकपटक एक लाख र महिनाको पाँच हजार दिनेरहेछ। बरु त्यसको सट्टा हरेक प्रदेशमा एउटा एउटा निःशुल्क क्यान्सर हस्पिटल खोलिदियो भने कनिका छरेको जसरी पैसा बाँड्नुपर्ने थिएन; बिरामीलाई पनि फाइदा हुन्थ्यो।

अमृता लम्साल अमृता लम्साल
२०८० असोज २० गते १२:१७

सुरुमै स्पष्ट पार्न चाहन्छु कि यो लेख मेडिकल सल्लाहको लागि होइन; सचेतनाको लागि स्तन क्यान्सर सर्भाइवरको अनुभवमात्रै हो।

केही हप्ता अगाडि कामको सिलसिलामा कुनै सरकारी कार्यालयमा पुगेथें । मेरो टड्कारै देखिने स्वास्थ्य स्थिति देखेर त्यहाँको कर्मचारीले मलाई लेख्न सहयोग गर्नुभयो।

मैले उहाँलाई भनें, ‘मलाई किमोको साइड इफेक्टले हातहरू चलाउन गाह्रो हुन्छ।’

उहाँले भन्नुभयो, ‘मलाई थाहा छ; मेरो बुबालाई पनि क्यान्सर भएको छ।’

मैले मनमनै सोचें, सायद प्रोस्टेड या अन्य कुनै क्यान्सर भएको होला। त्यही पनि सोधें, ‘केको क्यान्सर ?’

उहाँले भन्नुभयो, ‘ब्रेस्ट क्यान्सर भएको छ।’

उहाँले फेरि, मैले पत्याइन भन्ठान्नुभयो कि के हो, मलाई स्पष्ट पार्न खोज्दै हुनुहुन्थ्यो, ‘पुरुषहरूलाई पनि ब्रेस्ट क्यान्सर हुन्छ।’

मैले भनें, ‘मलाई थाहा छ। मेरो सर्जरी गर्ने डाक्टरले पनि एउटा पुरुषको ब्रेस्ट क्यान्सरको सर्जरी गरेको बारे बताउनुभएको थियो।’

हुनत, धेरैले आफूलाई क्यान्सर भएको कुरा लुकाउँछन्; त्यसमाथि पनि पुरुषलाई, महिलाका अनुपातमा हुने ब्रेस्ट क्यान्सरबारे सार्वजनिक गर्न कठिन हुँदो हो। फेरि, क्यान्सर भन्यो कि पैसा र सुविधाले पुगेसम्म कमै मानिसहरू नेपालमा औषधि गराउँछन्, त्यसैले पनि पुरुषलाई कुन अनुपातमा ब्रेस्ट क्यान्सर हुन्छ भनेर तथ्याङ्क थाहा पाउन सजिलो नहोला ।

जे-जसो भएपनि, आजकल स्तन क्यान्सर बढ्दै गएको छ। यो, यहाँमात्रै होइन, विश्वका अन्य देशहरूमा पनि उस्तै छ ।

अक्टोबर विशेषगरी स्तन क्यान्सरबारे जनचेतना फैलाउने महिनाको रूपमा लिइन्छ।

यो महिनालाई ‘ब्रेस्ट क्यान्सर अवेरनेस मन्थ’ मनाउने सोच पनि खासमा अमेरिकाबाटै आएको हो। यसरी महिनाभर स्तन क्यान्सरको लागि आर्थिक सहायता जुटाउने, निरूपणको उपायहरू खोज्ने, रोग पत्ता लगाउन विशेषगरी महिलाहरूलाई चेतनशील बनाउने, औषधिमुलो गर्न प्रेरित गर्ने खालका कार्यक्रमहरू यो महिना व्यापक रूपमा गरिन्छ।

अमेरिकामा यो महिनामा उक्त क्यान्सरबारे जनचेतना जगाउन गुलाबी रङलाई सिम्बलको रूपमा लिइन्छ। यसै क्रममा अक्टोबर २०१७ मा अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसमा समेत गुलाबी रङको बत्तीले सजाइएको थियो।

यो महिना कुनै कुनै एयरलाइन्सका पाइलटहरूले समेत आफ्नो युनिफर्ममा गुलाबी रङको टाई लगाएर हिंडेको देखेकी छु। अक्टोबरमा गुलाबी रङको स-साना रिबनलाई आफ्नो छातीमा लगाएरर हिंड्नेको त जमात नै देखिन्छ।

यसरी गुलावी रङलाई स्तन क्यान्सर बारे जनचेतना फैलाउन प्रयोग गरिनुमा अमेरिकाको न्युयोर्क राज्यस्थित म्यानह्याटनमा स्थापित बहुराष्ट्रिय कम्पनी ‘इस्टेलडर कम्पनी’को भूमिका छ। उक्त कम्पनीकी सिनियर कर्पोरेट भाइस प्रेसिडेन्ट एवलिन लडरले सन् १९९३ मा ब्रेस्ट क्यान्सर रिसर्च फाउन्डेसनको स्थापना गरेर ‘गुलाबी रिबन’लाई यसको सिम्बल बनाइन्।

स्तन क्यान्सर सचेतना जगाउने महिनामा यस्ता कुरामा ध्यान पुगोस् र हरेक महिला ४० वर्ष पुगेपछि, म्यामोग्राम गराउन जानुहोस् ! किनकि, पहिलेपहिलेको ५०/६० वर्ष नपुगी स्तन क्यान्सर हुँदैन भन्ने भनाइ गलत साबित हुन तालेको छ

स्तन क्यान्सर महिलालाई मात्रै होइन, पुरुषमा पनि देखिन थालेपछि सन् २००६ देखि हरेक वर्ष अक्टूबरलाई ब्रेस्ट क्यान्सर अवेरनेस मन्थका रूपमा मनाउन सुरु गरिएको हो। तैपनि सन् १९८५ मा नै अमेरिकन क्यान्सर सोसाइटी र औषधि कम्पनी तत्कालीन इम्पेरियल केमिकल इन्डस्ट्रिज (हाल, एस्ट्राजेनेका) बीचको सहभागितामा म्यामोग्राम विधिको प्रवर्ध्दन गरियो, फलतः स्तन क्यान्सर पत्ता लगाउन सजिलो भयो। यो विधि, अन्य रगत जाँच या अल्ट्रा साउन्ड भन्दा प्रभावकारी हो कि भन्ने सोच आफ्नै उपचारको क्रममा पनि महसुस गरेकी थिएँ।

स्तन क्यान्सरलाई विश्वव्यापी रूपमै महिलाहरूमा हुने सबैभन्दा कमन क्यान्सर भनिन्छ। सन् २०२० को ग्लोबल हेल्थको तथ्याङ्कअनुसार, विश्वमा २३ लाख महिलालाई स्तन क्यान्सर देखिएको थियो भने ६ लाख ८५ हजार बिरामीको मृत्यु भएको थियो। सन् २०२० को अन्त्यसम्ममा विगत पाँच वर्षमा ७८ लाख महिलालाई स्तन क्यान्सर भएको पत्ता लागेको थियो।

भनिन्छ, स्तन क्यान्सर बेलैमा पत्ता लाग्यो भने ठिक हुन्छ। पूरै ठिक नभए पनि औषधोपचारले केही समय बचाउन सकिन्छ। यतिभन्दा भन्दै पनि सबै ब्रेस्ट क्यान्सर एकै खालको नहुने कुरा डाक्टरहरू बताउँछन्।

हालसालै ब्रेस्ट सर्जिकल अंकोलोजिस्ट डाक्टर कपेन्द्र शेखर अमात्यको जनचेतनामूलक भिडियो हेरिरहेकी थिएँ । त्यहाँ भनिएको छ, ‘स्तन क्यान्सर भनेको एउटा रोग होइन। यो धेरै प्रकारको रोग छ। यसमा हामीले आजकल सबटाइपिङहरू गर्छौं र, तपाईंहरूले सुनिराख्नुभएको होला, कहिलेकाहीं हामी ट्रिपल नेगेटिभ भन्छौं। कहिले ट्रिपल पोजिटिभ भन्छौं। कहिले हर्मोन इनरिच्ड भन्छौं। र कहिलेचाहीं हर टू इन्रिच्ड भनेर भन्छौं। यो धेरै प्रकारको स्तन क्यान्सरको सब्टाइप्सहरू हुन्छ। यसमा पनि सबभन्दा अलिकति गाह्रो र अलिकति उपचार गर्दाखेरि अरू जति उपलब्धिहरू हासिल गर्न नसक्ने भनेकोचाहिं ट्रिपल नेगेटिभ ब्रेस्ट क्यान्सर भन्छौं।

भिडियोमा अगाडि भनिएको छ, ‘त्यसैले हामी भन्छौं कि, हरेक प्रकारको ब्रेस्ट क्यान्सरहरूको एउटै प्रकारको उपचारहरू हुँदैन। फरक फरक उपचार हुन्छ; कुनैमा हामीले अप्रेसन पहिला गर्छौं भने कुनैमा हामी औषधिहरू पहिला दिन्छौं। त्यसैले यसको राम्ररी जानकारी लिएर मात्र उपचारमा अगाडि बढ्न राम्रो हुन्छ।’

नेपालको कुरा गर्ने हो भने क्यान्सरसम्बन्धि जनचेतना गाउँ गाउँमा पुगेको जस्तो लाग्दैन। केही महिना अगाडि म आफैंले भेटेको एकजना २२ वर्षीया युवती भेटेकी थिएँ । उनी दुई वर्षको बच्चालाई स्तनपान गराउँदै थिइन् । उनलाई स्तन क्यान्सर भएछ। उनलाई किमो दिइरहेको थियो । उनकी आमाकाअनुसार, उनलाई टाउको दुखिरहन्थ्यो रे । त्यसैले सधैं सिटामोल खाने रहिछन्। उनकी आमाले भनेकी, त्यही सिटामोल खाँदाखाँदै, सिटामोल छातीमा पुगेर स्तन क्यान्सर भयो रे! उनीहरू गोर्खा निवासी थिए। मानिसहरूको चेतना स्तर यस्तो छ।

अझ, काठमाडौंकै एकजना बासिन्दाको भनाइ सुनेर अचम्म परेकी थिएँ। उनलाई बोन क्यान्सर भएको रहेछ। उनको नातेदारले कारण बताउँदै भनेको, ट्याङ्कीमा पानी हेर्न जाँदा कुमनिर ठोक्किएको थियो रे, त्यही घाउबाट बोन क्यान्सर भयो रे!

जनचेतना जगाउने कार्यमा सरकारले, रेडियो जिंगल, टेलिभिजनमा बाइट मात्रै हालिदिए पनि कति जीवन जोगिन्थ्यो होला ! त्यसमा खासै ध्यान पुगेको जस्तो लाग्दैन। केही निजी संघ संस्था र व्यक्तिहरूको पहलमा सानातिना एक/दुईदिने कार्यक्रम गरेर पुग्दैन।

क्यान्सर भैसकेपछि औषधोपचारको लागि कतिपयको घरवास नै सिध्दिएका उदाहरणहरू पनि देखिन्छन्। अझ, कतिपय परिवारमा महिलालाई क्यान्सर भयोभने घरवार सिध्याएर किन उपचार गर्न पर्‍यो ? भनेर सल्लाह दिने यो समाजको केही हिस्सा बाँकी नै छ। यस्तो अवस्थामा कतिपय महिलाले मृत्यु रोज्नुको विकल्प छैन।

नेपालमा महिलाहरूमा सबैभन्दा धेरै हुने क्यान्सरमध्ये पहिलो पाठेघर र दोस्रो स्तन क्यान्सर रहेछ।

केही हप्ता अगाडि, मैले फेसबुक र ट्विटरमा एकजना क्यान्सर बिरामीको लागि आर्थिक सहयोगको अपील गरेकी थिएँ। पाठेघरको क्यान्सर भएको उनको आर्थिक स्तर एकदम न्यून थियो। उनको एकपटक उपचार खर्च करिब ७४ हजार लाग्थ्यो। त्यस्तो औषधि चारपटक गर्नुपर्थ्यो। बल्लबल्ल एकपटकको खर्च उठ्यो क्यारे, त्यसपछि उनको मृत्यु भयो।

सरकारले क्यान्सर बिरामीको लागि एकपटक एक लाख र महिनाको पाँच हजार दिनेरहेछ। बरु त्यसको सट्टा हरेक प्रदेशमा एउटा एउटा निःशुल्क क्यान्सर हस्पिटल खोलिदियो भने कनिका छरेको जसरी पैसा बाँड्नुपर्ने थिएन; बिरामीलाई पनि फाइदा हुन्थ्यो।

किमोथेरेपी, रेडियोथेरेपी, टार्गेटथेरेपी इत्यादि गरिसकेपछि पनि सबैजना पहिलेको जस्तै स्वस्थ नहुन सक्छन्। यहाँ त्यो कुरा पनि विचार गरिन्न। हाम्रो समाजमा हरेकजसो घरमा विना डिग्रीका डाक्टर छन्; जो, बिरामीलाई नचाहेको सल्लाह दिन हरबखत तयार रहन्छन्। बरु, डाक्टरहरूबाटै चाहेको सल्लाह र काउन्सिलिङ प्राप्त गर्न गाह्रो छ।

यो, स्तन क्यान्सर सचेतना जगाउने महिनामा यस्ता कुरामा ध्यान पुगोस् र हरेक महिला ४० वर्ष पुगेपछि, म्यामोग्राम गराउन जानुहोस् ! किनकि, पहिलेपहिलेको ५०/६० वर्ष नपुगी स्तन क्यान्सर हुँदैन भन्ने भनाइ गलत साबित हुन तालेको छ ।

लेखकको बारेमा
अमृता लम्साल

लेखक सामाजिक अभियन्ता, लेखक एवं पत्रकार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?