
२० असोज, पोखरा । गण्डकी प्रदेशसभाको चार वटै संसदीय समिति सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।
समितिहरु ३० साउनमै बनेका थिए, तर त्यसको झण्डै दुई महिनापछि सभापतिहरु चयन भएका हुन् ।
प्रमुख दलहरुबीच नेपाली कांग्रेसले २ र नेकपा एमाले र माओवादी केन्द्रले एकएक वटा समितिको सभापति भएको थियो ।
सहमतिअनुसार कांग्रेस र माओवादीले सभापतिको उम्मेदवार टुंगो लगाएपनि एमालेले निर्णय नगर्दा अड्किएको थियो ।
एमाले संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश अधिवेशन सकिएपछि समिति सभापतिका लागि निर्वाचन गर्न आग्रह गरेका थिए ।
एमालेको अधिवेशन समापन भएको भोलिपल्टै शनिबार संसदीय समितिका सभापतिहरुका लागि मनोनयन राखिएको थियो, त्यसमा सहमति अनुसार नै उम्मेदवारी परेको छ । लेखा समितिको सभापतिमा एमालेका सुदिरकुमार पौडेलको उम्मेदवारी परेको छ ।
अर्थ तथा विकास समितिको सभापतिमा कांग्रेसका भोजराज अर्याल र प्रदेश मामिला तथा कानून समितिको सभापतिमा कांग्रेसकै चम्पादेवी खड्काको उम्मेदवारी परेको छ ।
अर्याल संसदीय दलको नेताको निर्वाचनमा सुरेन्द्रराज पाण्डेसँग प्रतिस्पर्धा गरेका थिए । दलको नेतामा प्रतिस्पर्धा गरेका संस्थापन इतर समूहका पाका प्रदेशसभा सांसद अर्याललाई अर्थ तथा विकासको नेतृत्व दिएको हो । खड्का पूर्व संविधानसभा सदस्य समेत हुन् ।
सामाजिक विकास तथा कृषि समितिको सभापतिमा फणिन्द्र देवकोटाको मात्र उम्मेदवारी परेको छ । नेपाल समाजवादी पार्टीका देवकोटाले माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव जितेर आएका थिए ।
प्रतिक्रिया 4