
२० असोज, विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संविधानको धारा १६८ (५) अनुसारको मुख्यमन्त्रीमा पनि आफ्नो दाबी रहेको बताएका छन् । तर कसलाई मुख्यमन्त्री बनाउने भन्ने सत्ता गठबन्धनका नेताहरुले निर्णय गर्ने उनले बताए ।
संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री बनेका हिक्मत कार्कीले शनिबार मात्र राजीनामा दिएका छन् । यससँगै संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि बाटो खुलेको छ । यसमा मुख्यमन्त्री दाबी गर्न दलको नेता चाहिन्न, प्रदेशसभाका कुनै पनि सदस्यले बहुमत जुटाएर दाबी गर्न सक्छन् ।
नेपाली कांग्रेसमा पनि थापा बाहेक अरुलाई अगाडि सारेर जानुपर्ने आवाज उठेको छ ।
तर संसदीय दलका नेता थापाले भने मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताए । प्रदेशसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले भने, मुख्यमन्त्रीमा दाबी चाहिँ मेरो छ, निर्णय चाहि गठबन्धनका शीर्ष नेताहरुले गर्नुहुन्छ ।’ दुई पटक मुख्यमन्त्री बन्ने अवसर पाए पनि काम गर्ने मौका नपाएको उनको दाबी छ ।
कांग्रेसभित्र विकल्प खोज्नुपर्ने मत छ भनि भन्ने प्रश्नमा उनले भने, ‘अब मुख्यमन्त्री बन्न दलको नेता जरुरी छैन । तर दल त छ, दलको निर्णय त हुन्छ नि । दल मात्र छैन, गठबन्धन पनि छ, गठबन्धन तोडेर हामी मुख्यमन्त्री बन्न जान्छौं !’
कोही दलको अनुशासन तोडेर जान्छ भने मान्न नसकिने संसदीय दलका नेता थापाले बताए ।
एमाले र कांग्रेस मिलेर सरकार बन्छ भन्ने प्रश्नमा संसदीय दलका नेता गठबन्धन तोडेर सरकार बनाउन जान नसक्ने बताए । हिजो आफ्नो सरकार गठनका लागि माओवादीले सभामुखलाई भोट हाल्न लगाउनेदेखि राजीनामा गराएको भन्दै उनले भने, माओवादीलाई छोडेर सत्ताका लागि एमालेसँग सहकार्य गर्न हामीलाई नैतिकताले दिन्छ ?’ माओवादी, एकीकृत समाजवादी र जसपा पनि गठबन्धन तोडेर एमालेसँग नजाने उनको दाबी छ ।
प्रतिक्रिया 4