
२० असोज, काठमाडौं । प्यालेस्टाइनी विद्रोही समूह हमासले आकस्मिक आक्रमण गरेपछि इजरायलमा युद्धको त्रासदी फैलिएको छ । बामबारीमा केही नेपाली पनि घाइते भएका छन् ।
इजरायलको पामी तसहजमा रहेका केही नेपाली विद्यार्थी अनलाइनखबरको सम्पर्कमा आएका छन् । उनीहरुले आफू ११ जना नेपाली अहिले बंकरमा रहेको र बाहिर केही साथी घाइते भएको जानकारी गराएका छन् ।
बर्दिया, लमजुङ, दाङ, पर्वत लगायत ठाउँका ११ जना विद्यार्थीहरुले सँगै रहेर अनलाइनखबरलाई बताएअनुसार बाहिर ठूलो ठूलो आवाज आइरहेको छ ।
बाहिर रहेका केहीले आफूहरको अवस्थाका बारेमा नेपाली दूतावासमासमेत जानकारी गराएको र ४ जनालाई प्रहरीले सुरक्षित ठाउँमा लगेको बताए ।
‘हामी ११ जना कम्पनीको बंगरभित्र छौं र कतिबेला के हुने हो भन्ने डर पनि उत्तिकै छ । घरपरिवारलाई यसबारे जानकारी दिन पनि सकिएको छैन । नेपाली दूतावासमा कल गरेर यसबारे जानकारी पनि गराएका छौं,’ हाम्रो सम्पर्कमा आएका एक विद्यार्थीले फेसबुक मेसेन्जर कलमार्फत त्यहाँ स्थिति बताउँदै भने, ‘बाहिरबाट साथीहरुले कल गरेर दर्दनाक भिडियो पठाएका छन् । केही गम्भीर अवस्थासमेत खुलाएका छन् । ४ जनालाई प्रहरीले सुरक्षित स्थानमा लगेको जानकारी पाएका छौं ।’
आफूहरु कृषिमा इन्टर्न गरिरहेका विद्यार्थी भएको र नेपालमा चिनेजानेका सबैलाई सहयोगका लागि याचना गरेको पनि उनीहरुले बताए ।
प्रतिक्रिया 4