+
+
कथा :

मिस नेपालको प्रेमपत्र

सन्तोष पौड्याल सन्तोष पौड्याल
२०८० असोज २४ गते ८:२७

‘तिम्रो सबै राम्रो छ तर…’ साँझपख पार्किङबाट स्कुटर चढ्न लाग्दा डिकेले आकृतिलाई भन्यो ।

‘तपाईं सधैं यही भन्नुहुन्छ…’ आँखाले भुईं कोट्याउँदै आकृतिले भनी, ‘तर सेलेक्ट अरूलाई गर्नुहुन्छ ।’

‘कतिपटक सम्झाउनु तिमीलाई ? तिमीजस्तो कम्पिटिटर कति छन् बजारमा ?’, डिकेको ब्लडप्रेसर र आवाजको गति एकैसाथ बढ्यो ।

आकृतिका परेला केही अस्वाभाविक रूपमा तन्किए । अनुहारको भावभंगीमा बिगारेर ऊ उभिइरही । डिकेले ओठमा मुस्कान ल्याउन खोज्दै सुस्तरी भन्यो, ‘आई नो ! तिमी बेटर छौ । तर टचअप चाहिन्छ । अब यो सानोतिनो अडिसनमा कुद्न छोड ।’

बलिष्ठ दाहिने पाखुरा आकृतिको काँधमा टेकाउँदै उसले भन्यो, ‘नेक्स्ट वीक ब्युटी कन्टेस्ट हुँदैछ । मिटिङ बसौं । क्राउन पायौ भने तिम्रो लाइफ सेटल हुन्छ । र, तिमीलाई थाहा छँदैछ क्राउन तिम्रै हो । आई एम दी किङ मेकर’, यतिबेला उसको स्वर केही ठूलो र लम्बेतान सुनियो । फोकस होल्डरबाट एउटा सिगरेट बालेर मोटरभित्र छिर्‍यो । फ्रन्ट डोर विन्डो खोल्दै उसले भन्यो, ‘यो नबिर्स कि शीतलको करिअर कहाँबाट कहाँ पुग्यो ।’

आकृति ठिंग उभिइरही । एक फन्को मारेर निस्किनै लाग्दा झ्यालको कालो सिसा झार्दै डिके चिच्चायो, ‘टेक्स्ट मी ।’

ग्लामर्स दुनियाँमा डिकेको एकछत्र राज थियो । हिन्दी सिनेमाका डाइलगजस्तो फुटपाथबाट उठाएर डिकेले स्टार बनाइदिन्छ भन्ने विश्वास मोडलिङ क्षेत्रमा संघर्ष गरिरहेकाहरूको थियो । हुन पनि प्रोड्युसरहरूसँग उसको जत्तिको राम्रो पीआर काठमाडौंमा कसैको थिएन । अडिसनदेखि ब्युटी कन्टेस्टसम्म उसको एकाधिकार थियो ।

स्टेजबाट ओर्लिएर डिकेले ‘मिस नेपालको लभलेटर’ उघार्‍यो । उसको अनुहारमा ग्रहण लाग्यो । उसले पछाडि फर्केर हेर्‍यो । बादलको पर्दाबाट आकृति धेरै पर पुगिसकेकी थिई । डिकेले उसलाई देखेन । प्रस्तोताले कार्यक्रम सकिएको भन्दै गरेको आवाज उसको कानमा ठोक्कियो ।

लामो समयसम्म आकृति पार्किङमै उभिइरही । उसको मन गह्रुंगो भइरह्यो । एकतमास हुरी चलिरह्यो ऊभित्र । मनको औडाहाले ऊ आफैंसँग क्रुद्ध हुँदै भुन्भुनाउन थाली । स्कुटर स्टार्ट गरी र घरतिर हिंडी । तर उसको मन स्कुटरको पांग्राजस्तै फनफनी घुमिरह्यो ।

एक्कासी थापाथलीमा रोकिराखेको एउटा कारमा उसको स्कुटरले धक्का दियो । तब मात्र ऊ कल्पनाको संसारबाट होसमा फर्किई । कारवालालाई सरी भनी । रिसमा कारबाट ओर्लिएको चालक आकृतिलाई गाली गर्न ओर्लिएको थियो सायद । आकृतिको काउकुती लाग्ने आकृति र मोहनी स्वरको सरीमा ऊ रूमल्लियो । ‘इट्स ओके म्याडम’ भन्दै ऊ कारभित्रै छिर्‍यो । ब्याक मिरर केही मिलायो, जहाँ अब आकृति पनि उसको अनुहार देख्न सक्छे । ऊ पछाडि नै हेरिरहेको छ । आकृतिले अन्तै नजर कुदाइ र जाम खुल्नेबित्तिकै दाँत किटेर फुटरेस्टमा बेस्मारी खुट्टा बजारेर त्रिपुरेश्वरतिर बत्तिई ।

आई एम दी ब्लडी गोल्ड मेडलिस्ट । स्कुटर धङ्गधङ्गाएर सडकको किनारा छोयो । बाटो काट्दै गरेको युवकले बेस्सरी गाली गर्‍यो । पुनः आफ्नै बाटो समाती । र, सम्हालिएर आफैंलाई प्रश्न गरी, ‘कस्तो टचअप चाहियो ब्लडी डिकेलाई ?’

ग्लामर्सको ढोका कसैलाई नढोगी र नढुकी खुल्दैन भन्ने सुझावहरू उसलाई नदिइएका होइनन् । घमण्ड, क्षमता वा आत्मविश्वास भनौं, न उसले कसैको चाकडी गरी न दैलो चहारी । अनुभव र अनुभूतिलाई तिखार्दै यस क्षेत्रमा उसले एक दशक कटाई । तर पनि ऊ किनाराकृत हुँदै गई, पछि आएकाहरू अघिअघि लाग्दै गए । आफ्नै भरमा आकाश थाम्ने अडान उसको थियो, तर ऊ बग्न सकिनँ । उर्लिंदो नदीजस्तो मुहार र मेहनत हुँदाहुँदै पनि ऊ तलाउ बनिरही । ल्याकतले लाइमलाइटमा चम्किने सपना देख्दादेख्दै उमेरले छब्बीस हान्यो ।

बागमतीको किनारमा स्कुटर टक्क अडियो । अँध्यारोमा खोलाबाट आउने अमिलो गन्धमा मिसिएको चिसो हावाले उसको गमरम मस्तिष्क चिसिंदै गयो । कलकल बगेको बागमतीको ढल ह्वास्सै टोंटाभित्र छिर्‍यो । हतपत उसले नाकमुख छोपी र सोची, ‘यस्तो गन्हाएर बग्नुभन्दा पोखरी झैं जमेकै बेस ।’

घर पुग्दा धुलोभित्र गुम्सिएको काठमाडौंलाई विस्तारै अँध्यारोले ढाक्दै थियो । खाना पनि नखाई ऊ कोठाभित्र छिरी । मुमाले खाना खान बोलाएको उसले सुनी वा टेरिन । तर ऊ गइन । लुगा बदलेर खाटमा उत्तानो पल्टिई । उसको आँखामा फनफनी डिकेको हुलिया नाच्न थाल्यो । आफूमाथिको सिलिङमा माथिसम्मै फैलिएको निधार, दाहिने मोहडाको बडेमानको कालो कोठी, रंगाएका धारिला जुँगा र छट्टु आँखासहितको डिकेको घिनलाग्दो हुलिया उसको मनसपटलमा घुमिरह्यो ।

मिस टिन रनरअप हुँदा डिकेले उसलाई धाप मार्दै सुनौलो भविष्य सुनिश्चित भएको हौसला दिएको थियो । त्यही दिनदेखि पछ्याएको थियो डिकेले उसलाई । सुरुसुरुमा दिउँसो केही अडिसनलगायतको प्रस्तावसहित फोन गर्ने ऊ विस्तारै रातमा फोन गर्न थालेको थियो आकृतिलाई । उमेरले आफूभन्दा दोब्बर डिकेलाई दाइ भन्थी ऊ । डिके पनि पब्लिकमा दाइ नै भन्थ्यो, तर एकान्तमा उसले नाम लिएर तिमी भन्न सुझाएको थियो । एक्लै चाहिं नाम लिएरै पुकार्थी ऊ । उसले बुझिसकेकी थिई डिकेको चाहना । धेरैपटक स्पष्ट बुझाइसकेको पनि थियो उसले । चाहे फोनमा होस् वा एकान्तमा एक्लै भेट्दा हातहरूले गाला, ढाड, पुठ्ठा र छातीमा स्पर्श गर्न खोजेर । एकपटक कार्यालयको टेबलमै जबर्जस्ती उसका ओठ चुमेको थियो डिकेले । जति छेलिन खोज्दा पनि बलिष्ठ पाखुराले अँठ्याएको थियो उसलाई । जसोतसो उम्किएर निस्किएकी थिई ऊ । त्यस दिन सारा संसार अँध्यारो लागेको थियो आकृतिलाई । अँध्यारोमै ऊ कसरी कुन बाटो भएर घर पुगेकी थिई उसलाई पनि स्मरणमा छैन ।

बाथरूममा लामो समय रोएर पखालेकी थिई आफूलाई । उसको अनुहारमा डिकेका फोहोर ओठका दाग सल्बलाइरहेथे । धेरैपटक पानीले ती दाग पखाल्न खोज्दा पनि धेरै दिनसम्म त्यो दागले ऐंठन पारेको थियो उसलाई । त्यसैले ऊ सकेसम्म तर्किन्थी डिकेसँग । तर सम्बन्ध तोडिहालेकी पनि थिइन, कतै अवसर मिलाइदिहाल्छ कि भन्ने सानो आशा बोकेर ।

अतीतदेखिका सबै दृश्य एकैपटक स्मरणमा आइरहेको थियो । एकातर्फ ग्लामर्स दुनियाँको फोहोर संसार लगभग उसले बुझिसकेकी थिई । अर्कोतर्फ दशक लामो लगानी थियो उसको यो क्षेत्रमा । अर्कोतर्फ अब त घरबाट पनि ठूलो प्रेसर परिरहेको थियो उसलाई । धेरैपटक यो क्षेत्र छाडेर बैंक वा कर्पोरेट जागिर खान मुमाले धेरैपटक कर गरिसक्नुभएको थियो । अर्को महिना जसै जागिरमा जानुपर्ने दबाब उसलाई थियो । तर उसले सपना मोडलिङमै देखेकी थिई ।

जुरूक्क उठी । बार्दलीमा पुगी । ‘यतिका वर्ष कतै शिर घोप्ट्याइएन’, टोलाएर मनमनै गुनी, ‘के अब आएर कन्टेस्टकै लागि त्यो डिकेको अगाडि सरेन्डर गरूँ ?’ उसको मनमा दुविधा पलायो । ‘पढेलेखेकी छु । क्वालिटी काम गर्छु । बोल्ड एण्ड हट छु । के अपुग छ र ममा ? मेरो पनि दिन आउला नि’ आफैंलाई आश्वस्त पार्न खोजी । तर यो वर्ष उम्कियो भने फेरि प्रतियोगिता भनेर अर्को वर्ष आउने छैन– आफ्नो ढाडस आफैंलाई काम नलागे झैं गरी उसले संघर्षका दिनहरू सम्झिई । ‘प्रत्येक गौंडा ढुकेर डिकेहरू बसेका छन् । जताततै तिनकै सिण्डिकेट छ । दिन पनि के आउला र खै ?’ उसको अनुहार कुहिरोले छोपिएको देहाती खेतजस्तो भयो ।

बार्दलीको रेलिङबाट हात सारेर खल्तीबाट आइफोन झिकी । म्यासेज गरी– ‘लोकेसन टेक्स्ट गर्दिनु । भरे आउँछु ।’

‘सिनामंगल, मेरै अफिस छेउमा आऊ न’, म्यासेज झर्न नपाउँदै डिकेके रिप्लाई आयो, ‘कतिबेला आउँछौ ?’ डिकेले अर्को मेसेज पठायो ।

एकैछिनमा फेरि मेसेन्जरको घण्टी बज्यो, ‘ट्याक्सी पठाइ दिउँ ?’

‘पर्दैन । सी यु सुन ।’

रातो फुर्के मिनिस्कर्ट र अमेजनबाट मगाएको हाइटेक स्प्याक्स पहिरिंदा ऊ हलिउडकी हिरोइन जस्ती देखिई । आकृति ट्याक्सी टिपेर सिनामंगलतिर हुँइकिई । ट्याक्सी उछिनेर उसको मन हुँइकिएको छ । के भन्ने हो डिकेले ? कसो गर्ने हो ? केही बुँदा अड्कल मनमा छन् । जुन काफी छैनन् ।

अफिसमुनि पुगेर डिकेलाई फोन गरी । डिके तुरून्तै तल झर्‍यो । डिकेले कार ड्राइभरलाई भन्यो, ‘तिमी जाऊ । गाडी म आफैं हाँक्छु ।’

अनुमतिको शीर हल्लाउँदै ड्राइभर हिंड्यो । ‘अँ सुन त मेडमको फोन आयो भने म मिटिङमा छु भन्दिनु ।’ ढोकाबाट निस्किंदै गर्दा ड्राइभर फिस्स हाँस्यो । आकृतिले बेवास्ता गरी ।

होटलको २७ नम्बर रूमको टेबलमा तीनवटा रित्ता बोतल, दुईवटा आधा गिलास र केही चुरोटका ठुटा छन् । चुरोटको ठुटो निभाउँदै कुर्सीबाट उठेर डिकेले आकृतिको कपाल चलाइदिंदै भन्यो, ‘मेरो एड्भाइस पाँच वर्ष पहिले मानेको भए तिमी आज कहाँ हुन्थ्यौ ?’ टाँसिएर सोफामा बस्दै उसले भन्यो । आकृतिले उसको जवाफ केही असजिलो मुस्कानसित दिई । एकै मुस्कानमा डिके हायलकायल भयो । डिकेले अँगालो हाल्दै भन्यो, ‘यु आर भेरी ट्यालेण्टेड, जेनुअन, ब्युटी विथ ब्रेन ।’ डिकेको अनुहारभरि खुसीका रेखाहरू दौडिए ।

‘तपाईं त मैले सोचेभन्दा बढी रोमान्टिक निस्किनुभो,’ आकृति जिस्किई । अगाडि भनी, ‘आई रिग्रेट, इग्नोरिङ यु फर लास्ट फाइभ इयर्स ।’

‘तिम्रो अगाडि त मुर्दा पनि रोमान्टिक होला,’ डिकेले फुर्कायो ।

‘धेरै रोमान्टिक हुँदा ह्यारेसमेन्ट केसमा पर्नुहोला नि फेरि ?’, दाहिने हातले स्प्याक्स मिलाउँदै आकृतिले भनी ।

‘त्यो बिटको एसपी मेरै चिनजानको हो । उसका कति रमाइला मिटिङ म आफैं सेट गर्दिन्छु ।’, डिकेले घमण्डसाथ भन्यो, ‘सबैलाई मिलाउनेको न त विरोधी हुन्छ न त प्रतिस्पर्धी । र, तिमीसँग नि केको डर ?’

डिकेको आवाजबाट यौनलाषा चुहिएको थियो । उसले दोहोर्‍याएर ‘गिभ एण्ड टेक’ को कुरा गर्थ्यो । ग्ल्यामर दुनियाँका धेरै सुन्दरीलाई आफ्नो बिस्ताराबाट उठाएर बजारमा चल्ने बनाएको बयानबाजी दिंदा उसका आँखा गिद्दका जस्ता देखिन्थे । उसले नाम चलेका धेरै मोडलहरूलाई आफैंले बनाइदिएको फूर्ति लगायो । आकृति उसको अभिमानको साक्षी बसी ।

झमक्क रात पर्‍यो । ‘के डिनर अर्डर गरौं,’  डिकेले विषय बदल्यो ।

‘तपाईं जे खुवाउनुहुन्छ’, उसले दोहोरो अर्थ लाग्ला झैं गरी छरितो बोली ।

आकृति घर पुग्दा सूर्य साठी डिग्रीको कोणमा काठमाडौं नियालिरहेको थियो । मोडलिङ, ट्यालेन्ट, र्‍याम्प, हेयर एण्ड ड्रेस र पर्सनल इण्टरभ्यु सेसन गर्दैमा हप्ता बित्यो । यी दिनहरूमा धेरैपटक डिके र आकृतिको गौशालामा भेट भयो ।

विजेता घोषणा गर्ने दिन आयो । रंगीबिरंगी प्रकाशपुञ्जले स्टेज सिंगारिएको छ । ठूलो लेडस्क्रिनमा बायो देखाउँदै आकृतिलाई मञ्चमा बोलाइयो । हल तालीले गुञ्जियो । मञ्चको आलोकमा आकृति विकिरण झैं पराधर्मित भई । उसको मुहारको रोशनीले वृष्टिपछिको पर्यावरण झैं माहोल खुल्यो । हुटिङको वर्षातले केहीबेर होस्टको वाक–प्रवाह प्रभावित भयो ।

उपाधि र क्राउन लगाइदिन डिके र पूर्वविजेता मञ्चमा उक्लिए । आकृतिको शिरमा ताज चम्कियो । मञ्चको दुई छेउबाट आगोका लप्का छाडियो । ड्राई आइसले स्टेजलाई बादलमाथि पुर्‍यायो । आकृतिको जीवनभरिको सपना आज पूरा हुँदै थियो । तर उसको अनुहारमा त्यो खुसी देखिन्थेन । हिजो जुन हर्कतले डिकेले ऊसँग गरेको थियो, उसलाई त्यो सम्झिएर भाउन्न उठिरहेको थियो । एकातर्फ उसको सपना थियो, अर्कोतर्फ उसलाई आफूमाथि अन्यायभूति भइरहेको थियो ।

डिकेले उपाधि हस्तान्तरण गर्दै अंकमाल गर्‍यो । आकृति निरस देखिई । डिकेले सुस्तरी आकृतिको कानमा फुस्फुसायो, ‘नाइन पीएम, एट सेम लोकेसन । आई विल वेट ।’

जवाफमा आकृतिले डिकेको हातमा एउटा कागजको चिर्कट्टो राखिदिई । डिकेले छिल्लिंदै भन्यो, ‘के हो यो ? लभलेटर ?’

ईशारामा आकृतिले टाउको हल्लाई ।

‘वाओ, मिस नेपालको लभलेटर’ डिके केही छिल्लियो । आकृतिले कुनै जवाफ दिइनँ । डिकेले दोहोर्‍यायो, ‘डोन्ट फर्गेट । नाइन पीएम, एट सेम लोकेसन । नाइन पीएम, एट सेम लोकेसन ।’

स्टेजबाट ओर्लिएर डिकेले ‘मिस नेपालको लभलेटर’ उघार्‍यो । उसको अनुहारमा ग्रहण लाग्यो । उसले पछाडि फर्केर हेर्‍यो । बादलको पर्दाबाट आकृति धेरै पर पुगिसकेकी थिई । डिकेले उसलाई देखेन । प्रस्तोताले कार्यक्रम सकिएको भन्दै गरेको आवाज उसको कानमा ठोक्कियो ।

आकृति सम्मेलन केन्द्रको पछिल्लो द्वार हुँदै सुटुक्क निस्किई । प्रवेशद्वारमा आकृतिको प्रतीक्षामा सञ्चारकर्मीको भिड लाग्यो । तर स्टेजबाटै अलप भएकी आकृतिको कसैले भेउ पाएन ।

आकृति आफ्नो कोठामा पुगी । ब्युटी क्राउनलाई कुनै उत्साहबेगर फुकालेर दराजभित्र थुनिदिई । बहुराष्ट्रिय बैंकको करारपत्र, हवाई टिकेट र पासपोर्ट घोत्लिएर हेरिरही । अर्को साता मुमाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हात हल्लाउँदै आकृतिलाई बिदा गरिन् ।

यता, डिकेलाई प्रहरीले जिल्ला अदालतबाट एक साताका लागि म्याद थप गरेर अनुसन्धान अघि बढायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?