
काठमाडौं । केही यस्ता फिल्म हुन्छन्, जसको घोषणादेखि नै विदेश प्रदर्शन अधिकार बिक्री हुन थाल्छ । छायांकन हुने बेलासम्म सबै देशको अधिकार बिक्री भइसक्छ । यो लाभ कमै फिल्मले उठाउँछन् ।
एकपछि अर्को व्यावसायिक हिट फिल्म दिइरहेको षट्कोण आर्ट्सको आगामी फिल्म ‘महाजात्रा’लाई यो दुर्लभ लाभ मिलेको छ । निर्माताले गत महिना फिल्मको औपचारिक घोषणा गरेदेखि नै ‘महाजात्रा’को अन्तर्राष्ट्रिय बिक्रीले गति लिएको थियो ।
निर्माताद्वय म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँले फिल्मको अन्तर्राष्ट्रिय अधिकार ‘सोल्डआउट’ भइसकेको बताए । यो उपलब्धिबारे घोषणा गदै निर्माताले नयाँ पोस्टर पनि सार्वजनिक गरेका छन् जहाँ शीर्ष कलाकार विपिन कार्की, रविन्द्रसिंह र रविन्द्र झा पुलकित मुद्रामा प्रस्तुत छन् ।
‘जात्रा’ र ‘जात्रैजात्रा’जस्ता हिट फिल्मपछि षट्कोण तेस्रो श्रृंखलाको तयारीमा जुटेको छ । अष्ट्रेलियामा रहेको एमएसएम इन्टरटेनमेन्टले भारतबाहेक अन्य अन्तर्राष्ट्रिय बजारको राइट खरिद गरेको छ ।
‘हाम्रा लागि मात्र नभएर समग्र नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार र विकासको दृष्टिकोणले यो महत्वपूर्ण कुरा हो,’ निर्माता बानियाँले भने, ‘सुटिङ नहुँदै अन्तर्राष्ट्रिय राइट बिक्री हुनुले नेपाली फिल्मप्रति दर्शकको विश्वास झल्किन्छ ।’
वितरण कम्पनी एमसएम इन्टरटेनमेन्टका छत्र थापाले पनि दर्शकको विश्वास महत्पूर्ण रहेको बताए । उनले भने, ‘कथाले पूर्णता नपाउँदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गर्नुलाई ‘जात्रा’ शृंखलाप्रति दर्शकमा रहेको विश्वास प्रमुख कारण हो ।’
‘जात्राका दुवै शृंखलाले दर्शकको मन जितेका छन् । दर्शकले पनि जात्राको अर्को सिक्वेल कहिले आउँछ भनेर सोध्नुभएको छ । यसकारण मैले फिल्म लेखनको चरणमा छँदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको हुँ,’ उनले भने ।
‘जात्रा’को ब्राण्ड र विश्वसनीयताले आफूलाई नयाँ श्रृंखलाको राइट किन्न उत्प्रेरित गरेको उनले सुनाए । स्रोतका अनुसार भारतबाहेकका मुलुकका लागि दुई करोड रुपैयाँमा फिल्मको राइट बिक्री भएको छ ।
‘मैले यसका पछिल्ला शृंखलाले गरेको व्यापार, प्रवासमा वितरक र दर्शकको माग बुझेर महंगो मूल्यमा खरिद गरेको हुँ । मैले जुन विश्वासले फिल्म किनें, त्यही विश्वासको आधारमा अन्य देशका वितरकले पनि फिल्म किनेका छन् । त्यसले पनि महाजात्रालाई लिएर दर्शक कति आतुर छन् भन्ने बुझिन्छ,’ उनले भने ।
जापान, हङकङ, न्युजिल्याण्ड, दक्षिण कोरिया, मध्यपूर्व, अष्ट्रेलिया, युरोपमा फिल्म नेपाल प्रदर्शनकै मिति चैत ९ मा तय भएको जनाइएको छ । केही देशमा ‘महाजात्रा’देखि नियमित शो सुरु हुने भएको छ ।
कार्यकारी निर्मातासमेत रहेका अभिनेता बानियाँले ‘जात्रा’ शृंखलाको सफलता र दर्शकको प्रतीक्षाले नै फिल्म निर्माण हुन लागेको बताए । ‘जात्रैजात्रा इन्टरनेटमा रिलिज भएपछि दर्शकले अर्को फिल्म कहिले ल्याउने भनेर जिज्ञासा राख्नुहुन्थ्यो । दर्शकसँगै समीक्षकमार्फत पाएको प्रतिक्रियाले हामीलाई हौसाएको छ,’ उनले भने ।
निर्देशक प्रदीप भट्टराईले जीवन समृद्ध तुल्याउने सपना र त्यसको व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई फिल्ममा रोचक रुपले प्रस्तुत गरिने बताए । ‘महाजात्रा’मा हरिवंश आचार्य पनि शीर्ष भूमिकामा देखिने भएका छन् । हरिवंशले यसैवर्ष षट्कोण आर्ट्सको पछिल्लो फिल्म ‘महापुरुष’बाट राष्ट्रिय अवार्ड जितेका थिए ।
‘महाजात्रा’लाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्नेछन् । प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी छन् । दशैंलगत्तै फिल्म छायांकन सुरु हुने जनाइएको छ ।
प्रतिक्रिया 4