१९ असोज, काठमाडौं । नेपालको सिनियर क्रिकेट टिमले ६ महिनाअघि जुन लक्ष्य पूरा गरेको थियो, अहिले जुनियर टिम त्यही लक्ष्य पूरा गर्ने ध्याउन्नमा छ । त्यसका लागि खेलाडीले कीर्तिपुरको मैदानमा पसिना बगाइरहेका छन् ।
असोज २५ गतेदेखि मलेसियामा सुरु हुने एसीसी यू–१९ प्रिमियर कपको च्याम्पियन बन्ने र एसिया कप खेल्ने यो टोलीको लक्ष्य छ । जुन लक्ष्य नेपाली सिनियर टोलीले ६ महिनअघि पूरा गरेको थियो ।
गत फेब्रुअरीमा नेपाललाई यू–१९ विश्वकपमा छनोट गराउने खेलाडीले नै एसीसी प्रिमियर कप खेल्दै छन् । प्रारम्भिक चरणमा २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको भए पनि विश्वकप छनोट खेलेका १४ खेलाडी नै अन्तिम रोजाइमा परेका हुन् ।
प्रशिक्षक जगत टमटाले बन्द प्रशिक्षणमा केही नयाँ खेलाडीलाई पनि बोलाएको तर उनीहरू भन्दा पुरानै खेलाडीले राम्रो गरेकाले टिममा दोहोरिएको बताए । ‘यही टिमले हामीलाई विश्वकपमा समेत पु¥याएको भएर प्रदर्शनकै आधारमा निरन्तरता दिएका हौं’, उनले भने ।
सन् २०२४ को जनवरीमा श्रीलंकामा हुने विश्वकपमा स्थान सुरक्षित गरेपछि यो टोलीको मनोबल उच्च छ ।
यूएई, सिंगापुर, हङकङ, मलेसिया र कुवेतलाई हराएर विश्वकपमा पुगेको टोलीले प्रिमियर कपको सेमिफाइनल र फाइनलमा यिनै टोलीसँग खेल्नुपर्ने हुनसक्छ ।
त्यसअघि समूह चरणमा भने नेपालले बहराइन, साउदी अरेबिया र इरानसँग खेल्ने छ । समूह चरणका तीनै खेल जितेर नकआउट चरणमा पुग्ने र उपाधि पनि उचाल्ने आफूहरूको लक्ष्य रहेको प्रशिक्षक टमटा बताउँछन् ।
‘पहिलो ३ खेल महत्वपूर्ण हुनेछ । हामीले ३ खेल जितेर सेमिफाइनल खेल्ने र जितेर आउने लक्ष्य हो’, उनले भने ।

नेपालको इतिहासलाई हेर्ने हो भने उमेर समूहमा टेष्ट राष्ट्रहरूलाई समेत हराएको छ । हुनत अहिलेको परिस्थिति र टिममा धेरै परिवर्तन आइसकेको छ । तर खेलाडीमा रहेको उच्च मनोबलका आधारमा र आफ्नो बलियो पक्षहरूलाई ध्यानमा राखेर नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ ।
नेपाललाई ७ वर्षपछि विश्वकपमा छनोट गराउन सफल भएकाले अहिलेको टिममाथि पूरा विश्वास रहेको कप्तान देव खनाल बताउँछन् । भन्छन्, ‘उपाधि विजेता नै बन्ने लक्ष्यका साथ हामीले पुरानै टिमलाई निरन्तरता दिएका हौं।’
सिनियर टिमको प्रदर्शनबाट उत्साह
गत अप्रिल–मेमा काठमाडौंमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै सिनियर टिमले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाएकोले मात्रै होइन, सिनियर टिमले पछिल्लो समयमा पाइरहेको सफलता र चर्चाले युवा खेलाडीमा पनि उत्साह थपिएको छ ।
चीनमा भएको एसियाली खेलकुदको क्रिकेटमा सिनियर टिमका खेलाडीले बनाएको कीर्तिमानले पनि युवा खेलाडीलाई ऊर्जा मिलेको प्रशिक्षक टमाटा बताउँछन् ।
उनी भन्छन्, ‘दीपेन्द्र र कुशलको रेकर्डले गर्दा यू–१९ का खेलाडीमा हामीले पनि सक्छौं भन्ने मनोबल बढेको छ ।’
चीनमा दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक र कुशल मल्लले ३४ बलमा शतक पूरा गरेर कीर्तिमान बनाएका थिए ।

कुशल र दीपेन्द्रसँगै सिनियर टिमबाट खेलिसकेका यू–१९ टिमका कप्तान देव खनाल सिनियर टिममा पुनरागमनको आशामा छन् । त्यसका लागि प्रिमियर कपमा राम्रो गर्नुपर्ने चुनौती उनलाई छ ।
‘मेरो लागि सिनियर टिममा पुनरागमन गर्ने यो राम्रो अवसर हो’ देवले भने, ‘यो क्वालिफायर्स, एसिया कप र विश्वकपमा राम्रो प्रदर्शन गरेर राम्रो स्कोरको साथमा सिनियर टिममा कमब्याक गर्ने मन छ ।’
यू–१९ टिमका एक सदस्य, मिराकल ब्वाइ भनेर चिनिने दिपेश कँडेल विश्वकपमा छनोट भएकाले आफूहरू नै च्याम्पियन रहेको बताउँछन् ।
‘हामी च्याम्पियन हौं र च्याम्पियन जसरी खेलेर आउनेछौं’, विश्वकप छनोटमा यूएईसँगको फाइनल खेलको अन्तिम ओभरमा ह्याट्रिक विकेट लिँदै नेपाललाई विश्वकपमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका उनले भने ।

यू–१९ टिमले एसीसी प्रिमियर कपको तयारीका क्रममा सिनियर खेलाडीसँग प्रतियोगिता खेलेको थियो । जसमा युवा खेलाडीले धेरै कुरा सिक्ने मौका पाएका थिए । ‘सिनियर दाइहरूसँग खेल्दा छुट्टै आत्मविश्वास बढेको छ’, दिपेशले भने ।
एसीसी प्रिमियर कप र एसिया कप विश्वकपको तयारी
यू–१९ टिमका लागि मलेसियामा हुने प्रिमियर र विजेता भएमा खेल्न पाउने एसिया कप विश्वकपको लागि राम्रो तयारी हुनेछ । प्रशिक्षक टमाटा भन्छन्, ‘नेपालका लागि यो प्रतियोगिता विश्वकपको राम्रो वार्मअप हुनेछ ।’
विश्वकपमा नेपालले पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्डको समूहमा रहेर खेल्नेछ । बलिया टोलीसँगको ठूलो प्रतियोगिता खेल्नुअघि आफूहरूले धेरैभन्दा धेरै खेल अन्य टोलीसँग खेल्नु राम्रो हुने टमाटा बताउँछन् ।
तस्वीर तथा भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4