
२१ असोज, काठमाडौं । कर्नाली ब्लुज, फिरफिरे, एक्लो उपन्यास लेखेर चर्चा कमाएका लेखक बुद्धिसागर संस्मरण कृति ‘उसले दिएको उमेर’ लिएर फेरि पाठकमाझ सार्वजनिक भएका छन् । उनले यसलाई स्मृति नाम दिएका छन् ।
बुद्धिसागरले पुस्तक सार्वजनिक गर्दै भनेका छन्, ‘उपन्यास र केही ठूला प्रोजेक्टमा हात हाल्ने क्रममा यो स्मृति किताबलाई अन्तिम रुप दिएको हुँ । विगतमा मैले लेखेका अखबारी लेखनलाई रुचाएर पढ्ने गरेका पाठकले यसलाई अवश्य मन पराउनुहुने आशा छ ।’
फाइनप्रिन्टले प्रकाशन गरेको यो उनको पाँचौं पुस्तक हो । यसअघि कर्नाली ब्लुज, फिरफिरे, एक्लो र बुद्धिसागरका कविता छापिएका छन् । १४ संस्मरणसहित २६८ पृष्ठ रहेको उसले दिएको उमेरको मूल्य ५६० राखिएको फाइनप्रिन्टले जानकारी दिएको छ ।
अमेरिकाको आयोवामा सञ्चालित प्रसिद्ध फेलोशिप इन्टरनेशनल राइटिङ प्रोग्रामका फेलो बनेका बुद्धिसागरको कर्नाली ब्लुज पेन्गुइन बुक्सबाट अंग्रेजीमा अनुदित तथा प्रकाशित छ । उनको किताबले थुप्रै अन्तर्राष्ट्रिय समीक्षक र पाठकको ध्यान तानेको छ ।
आख्यान, गैरआख्यानका अलावा सिनेमा लेखिरहेका बुद्धिसागरले बालसाहित्य, कविता, गीत लेखनमा पनि हात हालेका छन् । नयाँ किताब आजैदेखि पाठकको हातमा पुगेको फाइनप्रिन्टले जानकारी दिएको छ । पाँचाै किताबबारे बुद्धिसागरले भनेका छन्, ‘म कम्तिमा तीन वर्षको अन्तरमा किताब पाठकमाझ ल्याउने गर्थें, यसपल्टचाहिँ एक्लो निस्केको नौ महिनामै पाठकलाई सरप्राइज दिन चाहेको छु ।’
प्रतिक्रिया 4