+
+

डब्ल्यूएचओको क्षेत्रीय निर्देशकमा आचार्यलाई जिताउन कूटनीतिक पहल गर्न सरकारलाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २१ गते २०:२८

२१ असोज , काठमाडौं । आगामी ३१ अक्टोबरमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकका लागि निर्वाचन हुँदैछ । यसअघि सर्वसम्मत नेतृत्व चयन हुँदै आएकोमा यसपटक यो क्षेत्रका ११ वटामध्ये दुईवटा मुलुक नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

क्षेत्रीय निर्देशकको चुनावको लागि नेपालका शम्भु आचार्य र बाङ्लादेशकी सायमा वाजिद उम्मेद्वार छन् । बाङ्लादेशले आफ्नो उम्मेद्वार जिताउन कूटनीतिक पहल गरे पनि नेपालको तर्फबाट उच्च स्तरीय पहल नभएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा बोल्दै जनस्वास्थ्यविद् डा. रिता थापाले आचार्यजस्तो सक्षम नेतृत्व भएमा मात्र दक्षिणपूर्वी एशिया क्षेत्रको स्वास्थ्यको अवस्था राम्रो हुने बताइन् ।

डा.थापाले नेपाल सन् १९५३ देखि विश्व स्वास्थ्य संगठनमा आबद्ध भएकाले पनि नेपालले क्षेत्रीय निर्देशकमा दाबी गर्नु स्वभाविक रहेको बताइन् ।

प्रतिस्पर्धी वाजिदभन्दा आचार्य उपयुक्त रहेको भन्दै दक्षिणपूर्वी एशियाको स्वास्थ्य लिगेसी बचाउनको लागि पनि आचार्य उपयुक्त उम्मेद्वार रहेको डा.थापाको भनाई थियो ।

आचार्यसँग जनस्वास्थ्यमा काम गरेको ३० वर्षको अनुभव छ । उनी अहिले डब्लूएचओको ‘कन्ट्री स्ट्राटेजी एन्ड सपोर्ट’ विभागका निर्देशक छन् ।

विश्व स्वास्थ्य संगठन अन्तर्गत स्वास्थ्य नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारीमा रही डा. आचार्यले काम गर्दै आएका छन् ।

बाङ्लादेशका प्रधानमन्त्री शेख हसिनाकी छोरी भएकाले वाजिदलाई उम्मेद्वार बनाइएको भन्दै आलोचना भइरहेको यद्यपी, बाङ्लादेशले उनलाई जिताउन उच्च स्तरीय कूटनीतिक पहल गरिरहेको छ ।

जनस्वास्थ्यविद् बद्रीराज पाण्डेले अहिलेको चुनाव ‘प्राविधिक’ दक्षता र राजनीतिक ‘प्रेसर’को प्रतिस्पर्धा रहेको बताए । ३० वर्षसम्म डब्लूएचओमै बसेर काम गरेको जनस्वास्थ्यविद्ले जिम्मेवारी पाउँदा स्वास्थ्य प्रणालीमा नीतिगत सुधार हुने डा. पाण्डेले बताए ।

सरोकारवालाहरुले आचार्यलाई जिताउन सरकारले नै दक्षिण पूर्वी एशिया क्षेत्रका देशहरुसँग पर्याप्त लविङ नगरेको र नेतृत्वदायी भूमिका समेत नलिएको गुनासो गरे ।

परिवार नियोजन संघका निर्देशक डा. नरेश प्रताप केसीले डब्लूएचओको क्षेत्रीय निर्देशकमा आफ्नो उम्मेदवारलाई जिताउने नेपालका लागि ठूलो अवसर भएको बताए । सही मानिस सही पदम पुग्यो भने मात्रै राम्रो हुने आशा गर्न सकिने उनको भनाई छ ।

‘जनस्वास्थ्यलाई प्रभाव पार्ने स्वास्थ्य, प्राथमिक स्वास्थ्य हेरचाहको व्यवस्था गरी स्वास्थ्य सम्बन्धि दिगो विकासका लक्ष्यहरू प्राप्त गर्ने, भविष्यका महामारी र आपतकालीन अवस्थाका लागि पूर्वतयारी र सुरक्षा व्यवस्थापन गर्ने लगायतका विषयमा डा. आचार्य नेतृत्वले सुधार हुनेछ’ डा. केसीले भने, ‘उहाँको नेतृत्वले दक्षिणपूर्वी एसिया क्षेत्रको मात्रै होइन, नेपालको स्वास्थ्यमा पनि सुधार आउने छ ।’

आचार्यसँग लामो समयदेखि स्वास्थ्य क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा बहुपक्षीय सार्वजनिक स्वास्थ्य प्रणालीमा काम गरेको अनुभव छ । यही अनुभवको आधारमा नेपाललाई स्वास्थ्य, शिक्षाको क्षेत्रमा सहयोग ल्याउन सकिने सरोकारवालाको भनाई छ ।

पत्रकार कनकमणि दीक्षितले एउटा देशको राष्ट्रप्रमुखको नातावाद र कृपावादले नेपालको सक्षम उम्मेद्वारलाई चुनौती हुन लागेको उल्लेख गरे ।

सरकारले डा. आचार्यलाई औपचारिक अनुमोदन गरेपनि खुलस्त सहयोग नगरेको बताए । उनले पछिल्लो केही समययता परराष्ट्रमन्त्री एनपी साउद पछाडि हट्न खोजेको हो कि भन्दै प्रश्न गरे । सरकारले डा. आचार्यलाई जिताउनको लागि गर्नुपर्ने जति लबिइङ नगरेको दीक्षितको भनाइ थियो ।

‘भूराजनीतिक कारणले गर्दा सरकारले आचार्यलाई जिताउनको लागि लगाउनुपर्ने ‘इफोर्ट’ नलगाउको हो कि, खुट्टा कमाएको हो की भन्ने आशंका पैदा भएको छ’ उनले भने ।

क्षेत्रीय निर्देशकमा निर्वाचित भएमा नेपालसहित भारत, भूटान, श्रीलंका, माल्दिभ्स, म्यानमार, थाइल्यान्ड, बाङ्लादेश, इन्डोनेशिया, उत्तर कोरिया र टिमोर लिस्टे आचार्यको कार्यक्षेत्र हुनेछ ।

डा. आचार्यले सदस्य राष्ट्रहरुको समर्थन पाएर विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा निर्वाचित भएमा दक्षिण तथा दक्षिण पूर्वी एसियामा बसोबास गर्ने झन्डै दुई अर्ब जनताको स्वास्थ्यमा सुधार ल्याउन पाँच बुँदे रणनीति तयार पारेका छन् ।

त्यससँगै निलाम्बर आचार्य, डा. कुलचन्द्र गौतम, डा. रिता थापा, डा. भगवान कोइराला, डा. नरेश केसी, डा. मधु दीक्षित, डा. सुधा शर्मा, डा. बद्रीराज पाण्डे, डा. विश्व पराजुली लगायत संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर आचार्यलाई जिताउन कूटनीतिक पहल गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?