
२२ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् तरुण दल पूर्वअध्यक्ष जितजंग बस्नेतले नेपाली कांग्रेसका नेता–कार्यकर्तामाथि चारैतिरबाट प्रहार भएको बताएका छन् । तर त्यसबाट विचलित नभई अनुशासित रुपमा प्रतिवाद गर्न उनले आह्वान गरेका छन् ।
काठमाडौंमा आइतबार आयोजित तरुण प्रतिज्ञा सभालाई सम्बोधन गर्दै बस्नेतले प्रजातन्त्रवादी पार्टीलाई प्रहार गर्नेहरुलाई विचारले नै परास्त गर्न सकिने बताए । ‘आज तरुण दललाई चारैतिरबाट प्रहार भएको छ । तर तरुण दल विचलित हुनु हुँदैन । हामी अरु पार्टीजस्तो होइन । अरु संगठन जस्तो होइन । वाईसीएल र युथफोर्स जस्तो असुलीबसुली र शक्तिको भरमा खुकुरी नचाएर हिँड्ने संगठन तरुण दल होइन,’ बस्नेतले भने, ‘तरुण दल वैचारिक रुपले हिँड्नुपर्छ । विचारले नै जित्ने हो समाजलाई ।’ प्रजातन्त्रवादी पार्टीलाई चारैतिरबाट प्रहार गर्ने शक्तिलाई विचारले नै परास्त गर्न सक्ने उनको धारणा थियो ।
कांग्रेसमाथि चारैतिरबाट आक्रमण भएको उदाहरणको रुपमा उनले तरुण दलका पूर्वअध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण जेलमा परेको, पूर्वमन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको र खगेन्द्र हाङ्गाममाथि ताप्लेजुङमा प्रहरीबाट आक्रमण भएको बताएका थिए ।
तर यस्ता घटनाबाट विचलित नभई अनुशासित रुपमा प्रस्तुत हुन उनले आह्वान गरे । ‘परास्त गर्नका लागि तपाईं हामी अनुशासित हुनु जरुरी छ,’ उनले भने, ‘नेपाली कांग्रेसभित्र पनि अनुशासन ल्याउन जरुरी छ ।’
अनुशासनको सन्देश दिने निलो पोशाकमा तरुण दलका नेता–कार्यकर्ताहरु कार्यक्रममा सहभागी भएको भन्दै खुसी व्यक्त गरेका बस्नेतले भने, ‘तपाईंहरु अनुशासित हुनुस्, यो देशलाई बदल्नका लागि नेपाली कांग्रेसलाई शक्तिशाली पार्टीको रुपमा रुपान्तरण गर्न जरुरी छ । नेपाली कांग्रेसभित्र पनि अनुशासन ल्याउन जरुरी छ । अन्याय, अत्याचार भ्रष्टाचार विरुद्ध तपाईं हामी तरुण दल मिलेर लड्न जरुरी छ ।’
प्रतिक्रिया 4