
कोहलपुर । कर्मयोगी बद्री विक्रम पूर्णिमा वाङ्मय पुरस्कारबाट साहित्यकार डा.नारायण प्रसाद शर्मा गैरे र कर्मयोगी बद्री विक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कारबाट कवि नवीन अभिलाषी सम्मानित भएका छन् ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार कोहलपुरमा आयोजित कार्यक्रममा उनीहरुलाई जनही २० हजार ५ रुपैयाँसहित सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् साहित्यकार श्रीओम श्रेष्ठ रोदनले पश्चिम क्षेत्रमा साहित्यप्रतिको लोभलाग्दो सक्रियताले आफूहरूलाई थप ऊर्जा मिलेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि तथा प्राज्ञ सनत रेग्मी, विशिष्ट अतिथि तथा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले सम्मानित स्रष्टालाई बधाई दिएका थिए ।
यसअघि क्रमशः वाङ्मय पुरस्कार कलाकार प्रेमदेव गिरी र युवा प्रतिभा पुरस्कार शेखर दहितलाई प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानले बताए । उनले भाषा, कला, साहित्यमा निरन्तर सक्रिय रूपमा लाग्दै आएका व्यक्तिहरुलाई सम्मान गरिँदै आएको बताए ।
कार्यक्रममा डा.देवेन्द्र आचार्यले गजल, शान्ति अधिकारीले मुक्तक, बद्री ढकाल हिरामणिले हाइकू, चन्द्रावती अधिकारीले छन्द कवि, लक्ष्मण मानवले गद्य कविता, निरन्जना चन्द निरूले साइनो, शान्ति सुनारले गीत र निकिता बोहराले बाल कविता वाचन गरेका थिए ।
कार्यक्रम प्राज्ञ महानन्द ढकाल, शशीराम कार्की, हरि तिमिल्सिना, साहित्यकारहरू सृजन लम्साल, डा.जनार्दन आचार्य, किरण आचार्य, तिलक न्यौपाने, सागर गैरे, सुमित्रा न्यौपाने, खोपीराम वली, पुष्कर रिजाल, प्रकाश मरासिनी, ईश्वरी प्रसाद रिजाल, कल्पना खरेल, सन्तोषी विष्ट लगायत २०० बढी साहित्यानुरागीको उपस्थिति थियो ।
प्रतिक्रिया 4