
बाल्यावस्थामा सुनिने कथाहरूले बालबालिकाको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ । कथा मार्फत बालबालिकाको भाषिक, भावनात्मक, कल्पनाशक्ति र नैतिक विकासमा सहयोग पुग्दछ । कथामा प्रयोग हुने साधारण शब्द अनि वाक्यहरूले बालबालिकालाई रमाइलो लाग्ने अनि बाल मनोविज्ञानलाई मोहित बनाई विकासका विभिन्न क्षेत्रहरूमा हुर्किन मद्दत समेत गर्दछ ।
कथाको महत्व
रामायण, गीता वा स्वस्थानी कथाका नै रूप हुन् । यसबाट के प्रष्ट हुन्छ भने कथाको प्रचलन हिजो या आजबाट मात्र सुरु भएको होइन । कथा, जसले हरेक उमेरका मानिसहरूलाई मन्त्रमुग्ध बनाउँछ र एउटा भिन्न संसारमा कल्पनाको माध्यमबाट पुर्याउने क्षमता राख्दछ ।
कथा सुनिरहँदा रमाइलो त हुन्छ नै तर सँगसँगै यसले मस्तिष्क विकास, संवेगात्मक विकासका साथै सृजनात्मक कलाको पनि विकास गराउँदछ ।
मस्तिष्क विकास : भाषा र सञ्चारको सीप
हामी अभिभावकहरू आफ्नो बालबालिकाको पहिलो अर्थपूर्ण शब्द सुन्नका लागि एकदम आतुर हुन्छौं । कथामा समावेश हुने क्रमबद्घ शब्द र छोटा वाक्यहरूले बालबालिकाको भाषिक विकास छिटो हुन मद्दत गर्दछ । जब बालबालिकाले बारम्बार सुन्छन् तब उनीहरूले शब्दको लय र ध्वनि पकड्छन् जसले भाषिक विकासमा बढावा दिन्छ ।
स्मार्ट प्यारेन्टिङ नेपालकी सदस्य ज्योति महर्जनले आˆनो अनुभव सुनाउनुभयो । आफ्नो बाबुलाई एक वर्षदेखि कथा सुनाउन थाल्नुभएको थियो । अहिले दुई वर्षको उमेरमा नै बाबुले टुटेफुटेका शब्दमा कथा सुनाउनुहुन्छ । यो हामीमाझ एउटा राम्रो उदाहरण हुनसक्छ ।
कथाले भाषाको मात्र विकास नगरेर बालबालिकाको शब्दभण्डार बढाई सञ्चारको सीपलाई समेत परिष्कृत गर्दै लैजान मद्दत गर्दछ । बालबालिकाले कथा मार्फत नयाँ-नयाँ शब्दहरूका साथै त्यसको प्रयोग गर्ने तरिका र सन्दर्भ पनि बुझ्दछन् ।
कथाले हरेक वाक्यमा व्याकरणको पनि ख्याल गरेको हुन्छ, जसले भाषाको बलियो आधार बनाउन समेत मद्दत गर्दछ । बालबालिकालाई कथा सुनाउनुहुन्छ ख्याल गर्नुहोस्, तपाईंले बालबालिकालाई कथा मात्र होइन, भाषा र सञ्चारको बलियो स्तम्भ बनाउँदै हुनुहुन्छ भनेर ।
संवेगात्मक विकास
तपाईंले याद गर्नुभएकै होला, बालबालिका कथा भित्र कति धेरै डुब्छन् ? उनीहरू कथामा किन धेरै डुब्छन् ? कथा सुनिरहँदा बालबालिका कथाका पात्रहरूसँग सुमधुर भावनात्मक सम्बन्धमा जोडिन्छन् । चाहे त्यो उनीहरूले चुनेका प्रेरक व्यक्तिको चरित्र होस्, खलपात्र माथिको विजय होस् या समस्यासँगको जुधाइ- कथाले बालबालिकालाई विभिन्न भावको खोजी गर्न र ती भावहरूलाई बुझ्नका लागि सुरक्षित वातावरण प्रदान गर्दछ ।
पात्रहरूको सुख-दुःखको कथाले बालबालिकाको भावनात्मक बुद्धिमत्ता (इमोसनल इन्टेलिजेन्स) बढ्छ । यसले आफ्नोसँगै अरूको भावना बुझ्न सक्ने क्षमताको विकास हुन्छ ।
कथाले भावनात्मक सम्बन्धका साथै समानुभूतिको विकासमा समेत बढावा दिन्छ । बालबालिकाले धेरथोर बाहिरी संसारको अवधारणा र सांस्कृतिक विविधतालाई पात्र मार्फत देखेको हुन्छ । फलतः अरूको अनुभव र भावनाको कदर गर्न सक्ने सीपको विकास हुन्छ ।
कल्पनाशीलता र सृजनात्मकताको विकास
कल्पना एक शक्तिशाली हतियार हो, जसको माध्यमबाट बालबालिकाले सपना देख्दछन्, सृजना गर्दछन् र आफूभित्रको दुनियाँलाई खोजी गर्छन् ।
बालबालिका आफैंले कथा निर्माण गर्छन् र पात्रहरूको चयन पनि । कल्पना एउटा यस्तो महासागर हो जहाँ अनगिन्ती कथा अनि पात्रहरूको सम्भावना छ । एकपटक ‘अवतार’ चलचित्र बारे विचार गरौं । के त्यो कल्पना शक्तिको उपज होइन ?
अवतार मात्र होइन, हरेक फिल्महरू काल्पनिक घटना हुन्, जुन हेरेर हामी समेत भावनात्मक हुन्छौं । यसैगरी राइट दाजुभाइले हवाईजहाजको कल्पना नगरेको भए आज हवाई उडानको सम्भावना नहुन सक्थ्यो ।
अन्तर्राष्ट्रिय लेखक जोसेफ मर्फीले आफ्नो किताब ‘पावर अफ सब कन्सियस माइन्ड’ मा भनेका छन्- जति कल्पना बलियो हुन्छ त्यत्ति नै दिमाग बलियो हुन्छ र त्यसले सफलताको बाटोतिर लैजान व्यक्तिलाई नेतृत्व प्रदान गर्दछ ।
बालबालिकाले डाइनोसर देखेको, जनावरहरू बोलेको वा यस्तै यस्तै कथा सुनाउन थाले भने रमाइलो मानेर सुनिदिनुपर्छ । यसले उनीहरूको कल्पना शक्ति विकासमा मनग्ये मद्दत पुग्छ ।
कथाले सृजनात्मक तरिकाले सोच्न र समस्याको समाधान गर्न उत्प्रेरणा दिन्छ । जब कथाका पात्रहरू समस्यामा पर्दछन्, बालबालिका समस्या समाधानका लागि आलोचनात्मक ढङ्गले सोच्न बाध्य हुन्छन् । समस्या समाधानका लागि जुक्ति लगाउने क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा बालबालिकाको जीवनमा सकारात्मक र शक्तिशाली प्रभाव पारेको हुन्छ ।
नैतिक शिक्षा र मूल्य-मान्यताको स्थापना
कथा जहिले पनि नैतिक शिक्षा प्रदान गर्ने एउटा शक्तिशाली उपकरण साबित भएको छ । कथाका विभिन्न पात्र, वातावरण, स्थिति र द्विविधाले बालबालिकालाई त्यस वातावरणको वस्तुस्थिति बुझेर पात्रलाई न्याय दिनका लागि सोच बनाउन आधार स्तम्भ खडा गरिदिन्छ ।
इमानदारी, समानुभूति, दयालुपन जस्ता सकारात्मक विशेषताहरू बोकेर कथा प्रस्तुत भएको हुन्छ जसको माध्यमबाट बालबालिकाले जीवनोपयोगी पाठ सिक्दछन् र आफूभित्र भएको नैतिकतालाई आकार दिने काम गर्दछन् । वरिष्ठ अमेरिकन मनोविद् कोलबर्गका अनुसार नैतिक विकास समयसँगै परिपक्व/परिवर्तन हुँदै जान्छन् ।
अभिभावकलाई केही सुझाव
अभिभावकले आफ्ना बालबालिकालाई कथा सुनाउने कामलाई दिनचर्यामै समावेश गर्न सक्छन् । कथावाचन सुत्नु अगाडि पनि उपयुक्त हुनसक्छ । यसले बालबालिका र अभिभावकबीचको सम्बन्ध अझ प्रेमिल र सुमधुर बनाउन सहयोग गर्दछ ।
कथावाचनमा अन्तरक्रियात्मक प्रस्तुति थप जीवन्त हुन्छ । कथालाई अझ जीवन्तता दिन बालबालिकासँग सृजनात्मक ढंगले -स्वर परिवर्तन गरेर, आवाज सानो ठूलो गरेर, अनुहार या शारीरिक हाउभाउ परिवर्तन गरेर) प्रस्तुत हुन सकिन्छ । कथा भनिरहँदा सुनाउने मात्र होइन, बालबालिकालाई प्रश्न सोध्न प्रेरित पनि गर्नुपर्छ । यसले प्रश्न सोध्ने अर्थात् आलोचनात्मक ढंगले सोच्ने बानीको विकास हुन्छ ।
अन्त्यमा, हामीले जे सोचेर हाम्रा बालबालिकालाई कथा भनिरहेका हुन्छौं, ठ्याक्कै त्यही कुरा सिक्नुहुन्छ भन्ने कुनै ग्यारेन्टी भने हुँदैन । स्मार्ट प्यारेन्टिङ नेपालकी सुनिता नापितले आˆनो बाबुलाई बुद्धको कथा सुनाउनुभएछ । बुढाबुढी भएपछि मरिन्छ भन्ने कुराले बाबु लगभग एक हप्ता सुत्न नसकेको, रोइरहने समस्या उत्पन्न भएको कुरा उहाँले सुनाउनुभयो ।
ईसीईसी इन्नोभेसन इन एजुकेशनका महाप्रबन्धक पीताम्बर न्यौपानेको अनुभवमा अभिभावकले कथा भनिरहँदा बालबालिकाले बुझ्ने र बुझाउनुपर्ने कुरा बीच मध्यस्थकर्ताको रूपमा भूमिका खेल्नु अत्यन्त महत्वपूर्ण हुन्छ ।
कथामा सधैं सकारात्मक पात्रहरू मात्र होइन, नकारात्मक पात्र बारे पनि उल्लेख गर्नुपर्छ, जसले समाजको चित्रण गरोस् ।
(लेखक स्मार्ट प्यारेन्टिङ नेपालको सह-संस्थापक हुन् ।)
प्रतिक्रिया 4