+
+
सन्दर्भः विश्व हुलाक दिवस :

चोकमा पुगेर सोध्नुपर्ने हाम्रो ठेगाना प्रणाली बदलौं

हाम्रो सम्पूर्ण ठेगाना अभ्यास नै ‘चोकमा आएर सोध्नु, देखाइदिन्छन्’ भन्ने संरचनामा उभिएको र चलेको छ । राज्यले कुनै पनि घर, पसल, स्थान र गन्तव्यको दिशा सहजरूपमा देखाउन सक्ने हुनैपर्छ ।

 

गणेश पराजुली गणेश पराजुली
२०८० असोज २२ गते १२:३३

नागार्जुन नगरपालिकामा केही समय अगाडिको भएको घटना हो । ७५ वर्षका वृद्ध एक्कासी बेहोस भएर राति आफ्नै घरमा ढले । उनकी लगभग सोही उमेरकी वृद्धामात्रै घरमा थिइन् । उनले आत्तिएर एम्बुलेन्सलाई कल गरिन् ।

एम्बुलेन्स दिएको ठेगानामा पुग्यो तर वृद्धा बेहोस भएका श्रीमानलाई एक्लै छोडेर बाहिर निस्किन सकिनन् । एम्बुलेन्सले लगभग आधा घण्टासम्म घर पत्ता लगाउन सकेन । बल्लतल्ल घर पत्ता लाग्यो तर एम्बुलेन्समा अस्पताल लैजादै गर्दा मृत्यु भयो ।

यति संवेदनशील बिषयमा आधारित भएपछि ठेगाना प्रणालीको उपयोगिताका बारेमा फरक सघनताका साथ सोच्न थालिन्छ तर दैनिक जीवनमा हामीहरू ठेगानाले पारेको अफ्ठ्यारोका बारेमा खासै सोच्दैनौँ ।

कारण हो, हामी यसमा बानी परिसकेका छौँ । आफूले पाएको सास्ती ठेगाना प्रणाली नभएर हो भन्ने सोच्ने तर्फ हाम्रो ध्यान नै हुदैन । यसका केही उदाहरणहरू म आफैले पनि भोगेको छु ।

म गणेश पराजुली । काठमाण्डौ क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित सांसद । सांसद भए पछि मेरो दैनिकी फेरिएको छ । मैले आजभोलि सांसदका रूपमा धेरै मानिससँग भेटिरहनुपर्छ । भेटघाटका लागि मैले मुख्यत: दुई स्थान तोकेको छु ।

पहिलो छ, मेरो सचिवालय । काठमाण्डौं निर्वाचन क्षेत्र नम्बर ७ अन्तर्गतको नागार्जुन नगरपालिकामा पर्ने मेरो सचिवालयमा आउन चाहनेहरूका लागि म गुगल म्यापको ‘लोकेसन’ पठाइदिन्छु । गुगल म्याप चलाउन नजान्नेहरूका लागि म बाटो बताइदिंदै मेरो सचिवालय छेउको चोकमा आएर सोध्न वा आएपछि मलाई कल गर्न भन्नेगर्छु ।

मेरो दोस्रो सम्पर्क स्थान हो, पार्टीको केन्द्रीय कार्यालय । वनस्थलीमा रहेको हाम्रो पार्टीको केन्द्रीय कार्यालयलाई हामी घण्टीघर पनि भन्छौं, त्यहाँ पुग्न चाहनेहरूलाई म गुगल म्यापको ठेगाना पठाइदिन्छु । र, जसले गुगल म्याप चलाउन जान्नुहुन्न, भन्छु- वनस्थली चोकमा आएर सोध्नु, देखाइदिन्छन् ।

समग्रमा, कुनै पनि ठाउँको ठेगाना दिन म डिजिटल ज्ञान भएकाहरूलाई गुगल म्यापको ‘लोकेसन’ दिन्छु भने गुगल म्याप चलाउन नजान्नेहरूलाई नजिकको चोकमा आएर सोध्न वा कल गर्न भन्छु । वास्तवमा यो मेरो मात्र तरिका होइन, दैनिक जीवनमा ठेगाना देखाउन प्रयोग गरिने तरिका यिनै हुन् ।

एकपल्ट सोच्नुस् त, तपाईले आजसम्म कतिपल्ट भन्नु भयो होला, ‘चोकमा आएर सोध्नु देखाइदिन्छन्’ वा ‘चोकमा आएर कल गर्नु ।’ अथवा तपाईलाई कतिपल्ट यही कुरा अरुले भनेका होलान् ?

यसमा न मेरो दोष छ, न तपाईंको, न हामीलाई त्यसरी सोध्नु भन्नेको । हामीसँग व्यवस्थित ठेगाना प्रणाली नभएरै यस्तो गर्नु परेको हो । हामीलाई उपलब्ध सबैभन्दा सहयोगी तरिका यिनै दुई हुन् । यो तरिका व्यक्तिगत मात्र होइन, संस्थागत रूपमा पनि यस्तै छ ।

उदाहरणका लागि, हुलाक सेवाका लागि केन्द्रीय कार्यालय गोश्वारा हुलाकको ठेगाना हेर्नुहोस् । गोश्वारा हुलाकको वेबसाइटको सम्पर्क भन्ने पेजमा गोश्वारा हुलाकले आफ्नो ठेगाना लेखेको छ, प्लस कोड: पि८४जी+७क्यू काठमाण्डौँ, डिल्लीबजार, काठमाण्डौं, नेपाल (Plus code: P84G+7Q Kathmandu, Dillibazar, Kathmandu, Nepal) ।

तपाई गुगल म्याप प्रयोग गर्न जान्नुहुन्छ भने तपाई सोही कार्यालयमा सोझै पुग्न सक्नुहुन्छ । गुगल म्याप चलाउन जान्नुहुन्न भने ? पक्कै पनि डिल्लीबजार एकठाउँमा उभिएर सबैतिरका कार्यालय देख्न सकिने गरेर सानो पनि छैन । यसैले डिल्लीबजार चोकमा पुगेर सोध्ने नै हो ।

विशेषत: ठेगानामा नै काम गर्ने भएर उदाहरणका रूपमा मैले गोश्वारा हुलाकलाई लिएको हुँ । नत्र अपवाद बाहेक सरकारी र गैरसरकारी संस्थाहरूको हकमा पनि तरिका यस्तै हो । हाम्रो सम्पूर्ण ठेगाना अभ्यास नै ‘चोकमा आएर सोध्नु, देखाइदिन्छन्’ भन्ने संरचनामा उभिएको र चलेको छ ।

प्रविधिसँग हातेमालो गर्न नसकेको ठेगाना प्रणाली

विगतमा हामीकहाँ केही भ्रमहरू रहेर गलत अभ्यास हुन पुग्यो । जब फोन र इमेलको उपलब्धता व्यापक भयो तब चिठी लेख्नुपर्ने बाध्यता रहेन । कानुनी अभ्यासका रूपमा तथा पार्सलहरू पठाउनमा मात्रै हुलाक सीमित रह्यो । हुलाकहरू चहलपहलरहित हुने पुगे । हुलाकीहरू ‘काम नभएका’ मा दरिन पुगे ।

धेरैलाई लाग्यो, अब पत्रव्यवहार दैनिक जीवनको हिस्सा भएन । यसैले सजिलो ठेगाना प्रणालीका बारेमा थप कामहरू भएनन् । तर बढ्दो ईकमर्सको व्यापारले घरै बसेर किनमेल गर्नेहरू बढ्न थालेपछि भने हुलाकको आवश्यकता झन् बलियोसँग पुष्टि भएर आयो । त्यहीसँग जोडिएर आयो स्पष्ट ठेगाना नहुँदाका समस्या ।

अनलाइनमा किनेको सामान घरमा प्राप्त गर्न पटकपटक फोन गरेर सडकमा उभिनुको विकल्प छैन । आपतकालीन रूपमा चाहिने एम्बुलेन्स, दमकल, प्रहरी लगायतका सुविधाहरू प्राप्त गर्न पनि उल्झनपूर्ण छ । डिजिटलरूपमा प्राप्त हुने गुगल म्याप लगायतका प्रविधिले केही सहज बनाए पनि धेरै समस्याहरू यथावत छन् ।

यो अवस्था रहिरहनुको कारण हो, हामीले प्रविधि विकासको बहुपक्षलाई बुझ्नै खोजेनौं । हामी भन्दा उन्नत प्रविधि हामीभन्दा पहिले प्रयोग गरिरहेका देशहरूको ठेगाना प्रणालीलाई पछ्याउनै खोजेनौं । सोच्यौं, प्रविधिको विकासले अब सबै कुरा अनलाइन हुन्छन्, डिजिटल चल्छ ।

डिजिटल मात्रैले समाधान दिदैन

ठेगाना प्रणाली डिजिटल युगमा प्रवेश गरेपछि धेरै कम्पनीहरूले आफ्नो आफ्नो डिजिटल प्रणाली बनाएका छन् । त्यसमध्ये गुगल म्याप संसारमा सबैभन्दा बढी प्रयोग गरिने प्रणाली हो । डिजिटल प्रणालीले ठेगाना दिने र पुग्ने तरिकालाई नयाँ युगमा पुर्‍याएको छ । तर डिजिटल प्रणालीले मात्रै दैनिक जीवनलाई सहज बनाउन सक्दैन ।

यही लेख पढ्दै यहाँसम्म आइपुग्दा तपाईंले निकै धेरैपल्ट गुगल म्याप शब्दावलीलाई दोहोर्‍याएर पढिसक्नुभएको छ । यसको कारण के हो भने हामी ठेगाना दिन र खोज्नका लागि गुगल म्यापमा यति धेरै निर्भर भएका छौँ कि ठेगाना भनेकै गुगल म्याप भने जस्तो भइसक्यो । तर गुगलले दिने ठेगाना प्रविधि बाहिरको दैनिक जीवनमा व्यवहारिक भने छैन ।

जस्तै माथि गोश्वारा हुलाककै उदाहरण हेरौँ, गुगल म्यापमा देखिने पि८४जी+७क्यू (P84G+7Q) लाई दैनिक जीवनमा प्रयोग गर्न सहज हुन्न र त्यो यो प्रयोजनका लागि बनाइएको पनि होइन । भन्नलाई त डिल्लीबजार वा चोक वा सडकको नाम नै सहज हुन्छ ।

यसो त नेपालमा ठेगाना प्रणाली नै नभएको भने होइन । उदाहरणका लागि, नेपालमा आधुनिक मेट्रिक ठेगाना प्रणालीको प्रयोग गर्न थालेको दुई दशक बढी भइसक्यो । मेट्रिक प्रणालीमा नजिकैको सडक, गल्लीहरूलाई आधार मानेर यसको सुरुवाती बिन्दुबाट दूरी नाप गरी दायाँ वा बायाँका लागि जोर वा बिजोर नम्बर लेखेर ठेगाना तयार गरिन्छ ।

सो प्रणालीलाई प्रयोग गर्ने हो भने गोश्वारा हुलाकले वेबसाइटमा आफ्नो ठेगाना लेख्दा चारखाल सडक ५०, डिल्लीबजार लेख्न पर्थ्यो कि ! यो ठेगानाले बुझाउँछ, गोश्वारा हुलाक डिल्लीबजारको चारखाल सडकमा पर्छ र सडकको सुरुबाट ५० मिटर अगाडि बढे पछि दायाँतर्फ छ ।

यो ठेगाना प्रणालीको अर्को राम्रो पक्ष भनेको कुनै ठाउँको ठेगानासँगै दूरी पनि थाहा पाइने भएकोले पैदल हिंड्ने हो कि सवारी साधन चढ्ने हो भन्ने पनि थाहा पाइन्छ ।

काठमाण्डौं, ललितपुर महानगरपालिका लगायतले ठेगाना प्रणाली अपनाएका छन् तर त्यसलाई दैनिक जीवनमा प्रभावकारीरूपमा भने प्रयोग गरेको देखिएको छैन । यसको मुख्य कारण हो, ठेगाना प्रणालीको महत्व बारेमा बेखबर, व्यवहारिक प्रयोगमा उदासिनता, डिजिटल प्रणालीको छायाँ ।

राष्ट्रिय ठेगाना प्रणाली नीति आवश्यक

ठेगाना प्रणालीको महत्वका बारेमा जानकारी पुग्दैमा र ठेगाना प्रणालीको व्यवहारिक प्रयोग बढ्दैमा पनि समस्या समाधान नहुन सक्छ । वेलैमा यसलाई राष्ट्रिय महत्वको बिषय नबनाएमा अर्को भद्रगोलमा हामी प्रवेश गर्न सक्ने अवस्था हुन सक्छ ।

काठमाण्डौं महानगरपालिकाले २५ वर्ष अगाडि नै मेट्रिक ठेगाना प्रणाली अपनाएको छ । ललितपुर महानगरले केही अगाडिबाट यही प्रणाली अन्तर्गत काम गर्न थालेको छ । त्यस्तै देशका अन्य पालिकाहरूमा पनि ठेगाना प्रणालीमा काम भएका हुन सक्छन् ।

छुट्टाछुट्टै रूपमा गरिएका यस्ता अभ्यासहरूले पहिलो त, दैनिक जीवनमा प्रभावकारी हस्तक्षेप गर्न सकेको देखिएन भने दोस्रो, अलग अलग प्रणाली बन्न पुगेमा त्यसले झन् व्यवहारिक उल्झन ल्याउन सक्ने देखिन्छ ।

देश संघीयतामा गइसकेको अवस्थामा कुनै पालिका वा प्रदेशले चाहेमा आफु अनुसारको ठेगाना प्रणाली राख्न पाउने कि नपाउने ? यो बिषय छलफलको बिषय बन्नुपर्छ । ठेगाना देशभित्र मात्र सीमित नभई अन्तरदेशीय पनि हुन्छ । सकभर अन्तर्राष्ट्रिय प्रयोगमा आउने र कम्तिमा देशभित्र एकीकृत र आधुनिक हुन भने आवश्यक छ ।

राज्यले कुनै पनि घर, पसल, स्थान र गन्तव्यको दिशा सहजरूपमा देखाउन सक्ने हुनैपर्छ । भलै यो स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने कुरा होस् तर देशभर एकै किसिमको ठेगाना प्रणालीको विकास र अभ्यास गर्न एकीकृत राष्ट्रिय ठेगाना प्रणाली नीति आउन जरुरी छ ।

यसैले जति सक्दो चाँडो ठेगाना प्रणालीका लागि एकीकृत राष्ट्रिय नीति आवश्यक छ ।

(लेखक काठमाडौं-७ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?