+
+

इजरायलको खुँखार जासुसी संयन्त्र छिचोल्दै हमासको आश्चर्यजनक हमला

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २२ गते १३:०८

२२ असोज, काठमाडौं । यहुदी धर्ममा हप्ताको सातौं दिन अर्थात् शनिबार विश्रामको दिन हुन्छ । अझ यसपटक त यहुदीहरूको पवित्र धार्मिक चाड पनि थियो । परिवारसँग चाड मनाउने तयारी गरिरहँदा इजरायली आकाशमा अप्रत्याशित रूपमा रकेटहरू देखापरे । अझ भनौं, हमला सुरु हुँदा धेरै इजरायली निद्रामा थिए ।

इजरायलले वर्षौंदेखि आफ्नो रक्षा संयन्त्र गाजा क्षेत्रमा केन्द्रित गरेको छ । ऊसँग विश्वकै खतरा जासुसी संयन्त्र मोसाद छ भने रकेट रोक्नका लागि अत्याधुनिक प्रविधि । विभिन्न तनाव, टकराव र द्वन्द्वका बीच इजरायल सुरक्षित रहेको धेरैको विश्लेषण थियो ।

तर हमासले बिजुली गतिमा कसैले नसोचेको हमला गरेपछि इजरायली सुरक्षा संयन्त्रप्रति गम्भीर प्रश्न उठेका छन् । उसको सैन्य रणनीतिमा राम्रै त्रुटि रहेको व्यवहारले नै पुष्टि गरेको छ ।

खुँखार जासुसी संयन्त्र सहितको अत्याधुनिक प्रतिरक्षा प्रणालीलाई चक्मा खुवाउने गरी हमासले गरेको हमलामा ६०० बढी इजरायलीको ज्यान गइसकेको छ ।

हमासको सैन्य तयारी

मिसाइल आक्रमणलाई निष्प्रभावी बनाउने इजरायली रक्षा प्रणालीले समेत हमासको रकेट हमलालाई रोक्न सकेन । इजरायललाई तर्साउन परेमा हमासले बेलाबखत इजरायली आकाशमा रकेट छोड्थ्यो । यसपटक उसले पाँच हजारभन्दा बढी सङ्ख्यामा रकेट प्रहार गर्‍यो । हमासको आक्रमणको रणनीति हेर्दा उसले लामै समयदेखि योजना बनाइरहेको प्रष्ट हुने विज्ञहरू बताउँछन् ।

आकाशमा रकेट पड्किरहेको समयमा हमासका सशस्त्र सेना गाजामा इजरायलले लगाएको तारबार तथा पर्खाललाई तोड्दै भित्र छिरेको दृश्यहरूमा देख्न सकिन्छ ।

इजरायलको घरेलु गुप्तचर निकाय सीन बेट, बाह्य गुप्तचर निकाय मोसाद तथा इजरायेली रक्षा बलहरूको शक्ति एवं संयुक्त प्रयासले यसलाई रोक्न सकेन ।

सीमामा हुनसक्ने संभावित टकराव र भिडन्तलाई मध्यनजर गर्दै इजरायलले उसको नियन्त्रणमा रहेको गाजामा सेन्सर तथा क्यामेरा लगाएको छ । तर केही घण्टामै त्यस्ता प्रविधिले समेत सुइँको नपाउने गरी हमासका लडाकु बाक्लो सङ्ख्यामा इजरायली भूमिमा प्रवेश गरे । केही हमास लडाकु प्याराग्लाइडरबाट पसेको दृश्य पनि सार्वजनिक भएका छन् । इजरायली रक्षा बलले त्यसरी प्रवेश गर्न खोजेका हमासका दुई लडाकुलाई छिर्न नदिइएको दाबी गरेको छ ।

इजरायली सेनाको प्रयासका बाबजुद हमास इजरायली इलाकाभित्रै प्रवेश गरेर हमला गरेको हो । हमासका लडाकु इजरायलीले लगाएको तारबारलाई काटेर मोटरसाइकलमा भित्र छिरेको दृश्य पनि सार्वजनिक भएका छन् । पाँच वटा मोटरसाइकलमा हमास लडाकु भित्र छिरेको केहीबेरमा त्यहाँ डोजरले तारबार भत्काएको थियो ।

त्यहाँबाट प्रवेश गरिसकेपछि बुलेटप्रुफ ज्याकेट लगाएर आठ जना हमासका लडाकु इजरायली सैनिकतर्फ अघि बढ्छन् र इजरायली सैनिकमाथि आक्रमण पनि गर्छन् । हमास लडाकुको आक्रमणको दृश्य हेर्दा उनीहरू तालिमप्राप्त देखिन्छन् ।

गाजा क्षेत्रमा सातवटा आधिकारिक क्रसिङ छन् । जसमा ६ वटा इजरायल र एउटा इजिप्टको नियन्त्रणमा छन् । केही घण्टामै हमासका लडाकु ६ वटै क्रसिङमा भेलमा हुन्छन् । हमासका लडाकुले गाजालाई पूर्ण रूपमा घेर्न सफल भएका देखिन्छन् । उनीहरूलाई धपाउनका लागि इजरायलले २७ स्थानबाट हमला जारी राखेको छ ।

रेइममको सांगीतिक महोत्सवमा सशस्त्र समूहले हमला गर्दा धेरै युवा हताहती भएका छन् । प्रत्यक्षदर्शीका अनुसार हमासका लडाकु हतियार लोड गरिएका गाडीमा तीव्र गतिमा हुँइकिंदै इजरायलीमाथि अन्धाधुन्द आक्रमण समेत गरिरहेका छन् ।

इजरायली सैनिक तथा नागरिक नियन्त्रणमा

हमासले इजरायली सैनिक तथा निहत्था नागरिकलाई नियन्त्रणमा लिएको छ । इजरायलका अनुसार हमासले १०० जना भन्दा बढीलाई अपहरण गरेको छ ।

हमासले इजरायली सैनिक तथा नागरिकलाई नियन्त्रणमा लिएको दृश्य पनि देख्न सकिन्छ । इजरायली आकाशमा रकेट देखिएको केही घण्टामै सयौं इजरायलीले ज्यान गुमाए । हमासबाट यो तहको हमला कसैले पनि संभव सोचेका थिएनन् ।

इजरायली सेनालाई प्रतिरक्षाकालका लागि केही समय लागेको थियो । सो अवधिमा हमासले गाजामा आफ्नो दबदबा बढाइसकेको थियो । हमासको त्यो गतिको आक्रमणले इजरायल अचम्ममा परेको छ। अन्तर्राष्ट्रिय समुदायहरूले पनि अकल्पनीय भनेका छन् ।

इजरायलले वर्षौंसम्म हमासको हमलालाई लिएर प्रश्न खेप्नुपर्नेछ । तर अहिलेको स्थिति बारे प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्रष्ट शब्दमा भनेका छन्, ‘हामी अहिले युद्धको स्थितिमा छौं ।’

युद्धका लागि हमासले रोजेको समय संयोग थियो वा नियोजित भन्ने पनि क्रमशः खुल्दै जाला । किनभने अरब र इजरायलबीच पहिलो युद्ध ६ अक्टोबर १९७३ मा भएको थियो, यो मिति इतिहास भइसक्यो । संयोग २०२३ को अक्टोबरमा युद्ध जारी छ ।

बीबीसी र एजेन्सीहरूको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?