
काठमाडौं । नेपाली फिल्म प्रदर्शन गरेर धेरै कमाइ गर्ने दुई सिनेमा घर सम्मानित भएका छन् । ‘कबड्डी ४’ देखाएर एक करोड २५ लाख रुपैयाँ ग्रस कमाउने काठमाडौंको बिग मुभिज र ६७ लाख रुपैयाँ ग्रस कमाउने उपत्यकाबाहिर नारायणगढको जलमा हल पुरस्कृत भएका हुन् ।
काठमाडौंमा सोमबार आयोजित चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारणसभामा ती दुई हललाई सम्मान प्रदान गरिएको हो । सञ्चार सचिव कृष्णबहादुर राउतले सम्मान प्रदान गरे । हलका तर्फबाट बिग मुभिजका दीपेश शर्मा र जलमा हलका वीरेन्द्रनारायण श्रेष्ठले सम्मान ग्रहण गरे ।
समारोहमा बोल्दै सञ्चार सचिव राउतले प्रस्तावित फिल्म विधेयकलाई सहभागितामूलक बनाउन सरकार लागिपरेको बताए । उनले फिल्मकर्मीको सल्लाह सुझावअनुसार विधेयक अघि बढाउने बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले छलफल र सल्लाहकै लागि मस्यौदा सार्वजनिक गरिएको बताए । फिल्मकर्मीको सुझाव अनुसार अघि बढ्ने उनले बताए । निर्माता संघका अध्यक्ष नवल खड्काले आफूहरुको माग पूरा नभएसम्म बोर्डले गर्ने सबै कार्यक्रम बहिष्कार गर्ने बताए ।
प्रतिक्रिया 4